प्रदेश २ को सरकार चलाउने दाउमा नेकपा
जनकपुरधाम : नेकपाले संघीय समाजवादी फोरम नेतृत्वको प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएको छ । यही कारण आफूहरू प्रदेश सरकारको नेतृत्व सम्हाल्ने तयारीमा रहेको नेकपाका नेताले बताएका छन् ।
नेकपा नेता एवं तत्कालीन एमाले प्रदेशसभा संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश सरकारमा सहभागी हुने संकेत गरेका छन् । प्रदेश सरकार असफल भइसकेका कारण अब चाँडै आफूहरूले नेतृत्व सम्हाल्ने उनको दाबी छ ।
‘हामी पनि सरकारमा जान्छौं किनकि हाम्रो पार्टी अब ठूलो भइसकेको छ’, नेता मण्डलले भने, ‘त्यसकारण अब हामी चुप लागेर बस्दैनौं ।’ एमाले-माओवादी केन्द्र कानुनी रूपमा एकीकरण भइसकेपछि आफूहरू सरकार गठनमा लाग्ने उनले सुनाए । ‘उपयुक्त समयमा सरकारमाथि हामी हिट गर्छौं’, उनले भने ।
नेकपाकै नेता एवं तत्कालीन माओवादी केन्द्र प्रदेशसभा संसदीय दलका नेता रामचन्द्र मण्डलले पनि ठूलो दलको हैसियतमा आफूहरूले सरकारको नेतृत्व लिनेबारे छलफल सुरु गरेको बताएका छन् । एमाले र माओवादी केन्द्र कानुनी रूपमा एक नभइसकेको हुनाले औपचारिक रूपमा सरकार गठनको पहल गर्न कठिनाइ रहेको उनको तर्क छ । ‘तापनि, अहिलेदेखि नै हामीले सबैसँग भित्री रूपमा पहल सुरु गरिसकेका छौं’, उनले भने ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणदेखि प्रहरी ऐन निर्माणलगायत विषयमा केन्द्रसँग समन्वय नगरेकाले पछिल्लो समय केन्द्र र प्रदेश सरकारबीचको दूरी बढेको विश्लेषक बताउँछन्् । प्रधानमन्त्री केपी ओली प्रदेश सरकारसँग असन्तुष्ट रहेको जनाइएको छ ।
‘प्रदेश सरकारले असार तेस्रो साता संयोजन गरेको कार्यक्रममा प्रधानमन्त्री ओली आउने कार्यक्रम थियो’, एक विश्लेषकले भने, ‘तर अन्तिम समयमा उहाँले कार्यक्रम रद्द गर्नुभयो । यसबाटै कस्तो सम्बन्ध छ भन्ने पुष्टि हुन्छ ।’ अनेकन मुद्दामा केन्द्र र प्रदेश सरकारबीच मतभेद रहेको उनीहरूको भनाइ छ ।
प्रदेश २ मा फोरम-राजपा गठबन्धनसँग ५४ जना सांसद छन् । संघीय समाजवादी फोरमसँग २९ र राजपासँग २५ जना प्रदेशसभा सदस्य छन् । नेकपासँग ३२ जना सांसद छन् । एमाले र माओवादी केन्द्र एकीकरणपछि नेकपा अहिले प्रदेशको ठूलो पार्टी बनेको हो ।
स्रोतका अनुसार संघीय फोरम वा राजपामध्ये एकलाई साथमा लिएर नेकपाले सरकार बनाउने गृहकार्य थालेको हो । नेकपाले आफू नेतृत्वमा सरकार चलाउने तयारी थालेपछि फोरम-राजपा गठबन्धन जोखिममा पर्न सक्ने भन्दै अड्कलबाजी सुरु भएको छ ।