राजमार्गका टिपरमा प्रहरीको निगरानी

राजमार्गका टिपरमा प्रहरीको निगरानी

गजुरी (धादिङ) : उपत्यकामा दिउँसो टिपर चलाउन नपाइने नियम लागू भएसँगै धादिङमा पनि टिपरको गति नियन्त्रण गर्न प्रहरीले अभियान नै चलाएको छ । पृथ्वीराजमार्ग र त्रिभुवन राजपथ भएर गुड्ने टिपरको गति र भार नियन्त्रण गर्न राजमार्गको विभिन्न ठाउँका प्रहरी युनिटले सक्रियता बढाएका हुन् ।

पृथ्वीराजमार्गमा भएका साना-ठूला दुर्घटनामा आधाजति टिपरकै ठक्करबाट हुने गरेको पाइएको छ । सडक दुर्घटनाका प्रमुख कारक मानिएका टिपरको गति नियन्त्रण गर्न धादिङ प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी प्रमुख एसपी डम्बरबहादुर विकले जानकारी दिए ।

राजधानीसम्म गिट्टी बालुवा लैजान र सिमेन्ट उद्योगलाई चुन ढुंगा बोक्न दैनिक ४ सय टिपर पृथ्वीराजमार्गमा गुड्छन् । धादिङमा गिट्टी र बालुवा उद्योग संकटमा परेपछि गत वर्षदेखि हेटौंडा, चितवन, नवलपरासी, गोरखा र तनहु“ समेतबाट टिपरमार्फत गिट्टी-बालुवा काठमाडौं निकासी हुने गरेको छ । धादिङमा टिपर चालकबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेकाले पनि बढी दुर्घटना निम्तिने गरेको हो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले भने, ‘टिपरसँग जोडिएका अधिकांश दुर्घटनामा गल्ती टिपर चालककै देखिने गरेको छ, एक दिनभरिमा जति टिप सामान बोक्न सक्यो उति धेरै भत्ता मिल्ने भएकाले टिपरको गति बढी हुँदा दुर्घटनाको जोखिम बढिरहेको हुन्छ ।’

पृथ्वीराजमार्ग र त्रिभुवन राजपथमा गुड्ने सवारीसाधनको भार क्षमता साधारण ट्रकको १८ टन र ठूला ट्रक तथा टिपरको २१ टनसम्म छ । तर, नियमविपरीत ट्रक तथा टिपरले भार क्षमताभन्दा दोब्बरसम्म सामान राखेर ढुवानी गर्ने गरेका छन् । यस्ता बढी भार बोकेर सडक बिगार्ने टिपर तथा ट्रकलाई पनि कारबाहीको दायरामा ल्याउने प्रहरी प्रमुख डम्बर विकले बताए । टिपर मात्र होइन, सडक क्षमताविपरीत मापदण्ड मिचेर ढुवानी गर्ने साधनलाई पृथ्वीराजमार्गमा निषेध गर्ने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘पटके कारबाही गर्‍यो अर्कोपटक पनि फेरि गल्ती दोहोर्‍याइरहेको हुन्छ ।’ प्रहरी प्रमुख विकले भने, ‘त्यस्ता अटेरी टिपर र ट्रकलाई राजमार्गमा गुड्नै प्रतिबन्ध लगाउने किसिमले कारबाही प्रक्रिया अघि बढाउने भएका हौं ।’

बढी भार बोकेका ढुवानीका साधनले राजमार्ग नै जाम गर्ने गरेका कारण दैनिक प्रयोगका अत्यावश्यकीय वस्तु र उपचारका लागि राजधानी जाने एक मात्र राजमार्गमा अवरोध हुँदा समस्या उत्पन्न हुने गरेको छ ।

४० वर्षअघि पृथ्वीराजमार्गमा गुड्ने सवारीसाधनको चापलाई ध्यानमा राखेर सडकको चौडाइ, मोड, घुम्ती र पिचको क्षमता निर्धारण गरिएकाले सवारीसाधनको चाप बढेसँगै दुर्घटना कम गराउन सवारीसाधनको भारक्षमता र गतिमा निगरानी राख्नुपर्ने सडक डिभिजनको फिल्ड कार्यालय गजुरीका इन्जिनियर हरी ठकुरी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.