मोटरबाटोमा भेल, गोरेटोमा पहिरो
![मोटरबाटोमा भेल, गोरेटोमा पहिरो](https://annapurnapost.prixacdn.net/media/albums/makawanpur-badhi_pahiro_20180718053432_QCXTZr71Ix.jpg)
मनहरी : जब वर्षा सुरु हुन्छ, राक्सिराङ-५ का सन्तवीर चेपाङको मन पिरोलिन्छ । चार दशकदेखि निर्माणाधीन सडक हेरेर वर्षाको भेल तर्दै भीर चढेका चेपाङ यस वर्ष पनि सकिनसकी पहाडको बुट्ट्यान समाउँदै चैनपुरदेखि मनहरी पुगे ।
७० वर्षीय चेपाङजस्तै पश्चिमी मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका जनताले पूर्व-पश्चिम राजमार्गसँग जोडिएको मनहरी बजार र सदरमुकाम हेटौंडा पुग्न भीरको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । यो वर्षातमा विगतका दुःख भुल्दै मोटरबाटोबाट यात्रा गर्ने सपना देखेका उनीहरूलाई त्यही मोटरबाटोको ट्र्याकको विभिन्न स्थानमा पहिरो खसेपछि भीरको अप्ठ्यारो बाटोबाट निहिँडी सुख छैन ।
‘वर्षा त हाम्रा लागि अभिशाप नै हो, खोलामा बाढी भीरमा पहिरो कहाँबाट हिँड्ने ? ’, राक्सिराङ-५ जिर्खिका बुद्धि लामाले भने, ‘कोही बिरामी भयो भने अस्पताल पुर्याउन पनि सकिन्न ।’ हिउँदमा मनहरी खोलाबाट चल्ने आधा दर्जन बस जेठ दोस्रो साताबाट बाढीका कारण मनहरीमै थन्किएका छन् । मनहरी-चैनपुर सडकअन्तर्गत आँपखोल्ची नजिक एक साताअघि पहिरो गएका कारण भीरमा बाटो खोज्दै हिँड्नुपर्ने बाध्यता रहेको ५ नम्बर वडाध्यक्ष चन्द्रसिं चेपाङले बताए ।
‘मौसम सफा हुनेबित्तिकै पहिरो हटाउने तयारी गरेका छौं’, उनले भने । भीरबाट ढुंगा खसेर बर्सेनि यात्रु घाइते हुने गरेको उनले बताए । पहिरो गएका स्थानमा थप पहिलो खस्ने डरले पनि भीरको बाटो हिँड्नुपर्ने बाध्यता रहेको उनले बताए । साविकका आधा दर्जन गाविसका जनताको बजारसँग जोडिन अन्य विकल्प नहुँदा भीरकै बाटो हिँड्नुपर्ने बाध्यता छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)