स्वार्थ बाझिँदा विभाजित हुँदै जनप्रतिनिधि
सुर्खेत : स्थानीय सरकारले काम सुरु गरेको वर्षदिन बितेसँगै जनप्रतिनिधि आपसमा विभाजित हुन थालेका छन् । स्वार्थहरू बाझिन थालेपछि स्थानीय तहमा जनप्रतिनिधि विभाजित मात्र भएका छैनन्, गाउँ तथा नगरसभामा जनप्रतिनिधिबीचको विवाद छताछुल्ल भएको हो ।
कर्णाली प्रदेशमा विवादका कारण स्थानीय तहका सभा होहल्ला र विरोधबीच पनि सम्पन्न भएको घोषणा गरिएका छन् । जनप्रतिनिधिबीच मुख्यगरी स्थानीय तहको केन्द्रको विषयमा विवाद देखिएको छ । यस्तै, बजेट बाँडफाँट र योजना छनोटमा पनि कुरा नमिल्दा गाउँ तथा नगरसभामै लफडा भएको हो । स्वार्थ बाझिएर विवाद भएपछि यो प्रदेशका केही स्थानीय तहका सभा जबर्जस्ती सम्पन्न भएको घोषणा गरिएका छन् भने केही स्थानीय तहका सभा असन्तुष्ट जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।
बजेट बाँडफाँटमा विवाद भएपछि सुर्खेतको भेरीगंगा नगरपालिकाको नगरसभामा असन्तुष्ट जनप्रतिनिधिले मेयर भूपेन्द्रबहादुर चन्दलाई सोमबार केही घण्टा नियन्त्रणमा लिए । नगरका हरेक वडामा एक करोडका दरले बजेट विनियोजन हुनुपर्ने माग पूरा नभएपछि असन्तुष्ट बनेका जनप्रतिनिधिले जबर्जस्ती सभा सम्पन्न गरिएको भन्दै अब बजेट कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् । आफूहरूलाई सभाको निर्णयपुस्तिकामा असहमतिसमेत उल्लेख गर्न नदिइएको नेकपा समर्थित जनप्रतिनिधिको गुनासो छ । नगरसभाका ७० जना सदस्यमध्ये २८ जना सदस्यले अब होहल्लाबीच पारित भएको नगरका बजेट र योजना वडा तहमा कार्यान्वयन हुन नदिने बताएका छन् ।
गाउँसभाबाटै गाउँपालिकाको केन्द्र टुंगो लगाउने विषयमा विवाद भएपछि सुर्खेतको बराहताल गाउँपालिकाको सभा पनि होहल्लाकै बीचबाट सम्पन्न भएको घोषणा गरिएको छ । यो गाउँपालिकामा केन्द्रको विषयमा विगतदेखि नै विवाद रहेको छ । यसअघि गाउँसभाबाट केन्द्रको टुंगो लगाउने निर्णय भएको थियो । तर, सोमबार सभाको बैठकमा बहुमत सदस्यले केन्द्र टुंगो लगाउन माग गरे पनि अध्यक्ष तेजबहादुर बस्नेत बीचमै बाहिरिएका थिए । उपाध्यक्ष शोभा शर्माले सभा सम्पन्न भएको घोषणा गरेकी थिइन् । ५४ जना सदस्य रहेको सभामा ३२ जना सदस्यले केन्द्रको टुंगो लगाउन माग गर्दा गर्दै सभा सम्पन्न भएको घोषणा गरिएपछि असन्तुष्ट जनप्रतिनिधि न्याय खोज्दै वीरेन्द्रनगर आइपुगेका छन् ।
बराहताल–१० का अध्यक्ष हरिलाल सलामीले भने, ‘जबर्जस्ती सभा सम्पन्न गरिएको छ, बहुमत सदस्यहरूको असहमति छ । हामीले निर्णय पुस्तिकामा असहमति जनाउनै पाएनौं, तत्काल गाउँसभा पुनःसञ्चालन गर्नुपर्ने हाम्रो माग छ ।’ हाल वडा नम्बर ५ को बड्डीचौरमा गाउँपालिकाको केन्द्र छ । तर, वडा नम्बर १० को ओदालतालमा गाउँपालिकाको केन्द्र सार्नुपर्ने अडान केही जनप्रतिनिधिले गर्दै आएका छन् । यही एजेन्डा गाउँसभामा निर्णयार्थ पेस नभएपछि जनप्रतिनिधि विभाजित बनेका हुन् । असन्तुष्ट पक्षले पुनः गाउँसभा माग गरे पनि गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले सभा सम्पन्न भइसकेकाले पुनःसञ्चालन हुन नसक्ने बताए । यता, असन्तुष्ट पक्षले भने कडा संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।
केन्द्रकै विषयमा विवाद पेचिलो बन्दै गएपछि डोल्पा र पश्चिम रुकुममा पनि स्थानीय तहका जनप्रतिनिधि विभाजित भएका छन् । डोल्पाको ठूलीभेरी नगरपालिकाको केन्द्र दुनै वा जुफाल भन्ने विषयमा विवाद भएपछि छुट्टाछुट्टै नगरसभा सम्पन्न भएका छन् । नगर प्रमुख गणेशबहादुर शाहीको नेतृत्वमा जुफालमा र उपप्रमुख योगेन्द्रबहादुर शाहीको नेतृत्वमा दुनैमा नगरसभा सम्पन्न भएको घोषणा गरिएको छ । केन्द्रको विवाद पेचिलो भएसँगै जनप्रतिनिधि विभाजित भएका कारण नगरको बजेट र योजना कार्यान्वयनमा चुनौती देखिएको छ । जिल्लाको मुड्केचुला गाउँपालिकामा पनि केन्द्रको टुंगो लाग्न सकेको छैन । जसकारण त्यहाँ पनि विवाद कायमै छ ।
पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाको गाउँसभामा बहुमतका आधारमा सम्पन्न भएको घोषणा भएपछि असन्तुष्ट जनप्रतिनिधिले सभा नै बहिष्कार गरेका छन् । गाउँपालिकाको केन्द्रको विषयमा सहमति नजुटेपछि विभाजित भएका जनप्रतिनिधिबीच गाउँसभामा विवाद भएको हो । केन्द्रकै विषयमा जनप्रतिनिधि विभाजित भएपछि केही सदस्यले गाउँकार्यपालिकाको बैठकसमेत बहिष्कार गर्दै आएका छन् । दैलेखको नारायण नगरपालिकाको नगरसभा पनि विवादबीच सम्पन्न भएको घोषणा गरिएको छ । जिल्ला समन्वय समितिबाट खटाइएका दुई जना कर्मचारीलाई नगरपालिकामा हाजिर हुन दिने र नदिने विषयमा नगरसभामै जनप्रतिनिधिबीच चर्काचर्की भएको हो । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरे पनि नगरसभा सम्पन्न भएको घोषणा गरिएको हो । जनप्रतिनिधिका स्वार्थ बाझिएपछि नयाँ आर्थिक वर्षका लागि विनियोजन भएको बजेट र पारित भएको योजना कार्यान्वयन हुनेमा आशंका पैदा भएको छ ।
०००
क्याप्सन ः १) गाउँसभा पुनः हुनुपर्ने माग गर्दै वीरेन्द्रनगर आइपुगेका बराहताल गाउँपालिकाका असन्तुष्ट जनप्रतिनिधि । अन्नपूर्ण