बाढीले बुर्तिबाङमा क्षति
बागलुङ : गएरातिको अविरल वर्षापछि आएको भल–बाढीले ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा क्षति पुर्याएको छ।
स्थानीय ठाडो खोलाले बाढीको रुप लिएपछि बजारका घर, भवन र सडकमा क्षति पुगेको हो। पसल, फर्निचर, मिल, रेष्टुराँ रहेका १५ वटा अस्थायी टहरामा बाढी पसेको प्रहरीले जनाएको छ। केही टहरा पूर्णरुपमा क्षतिग्रस्त भएको र अन्यमा पसल तथा घरभित्रका सामान पुरिएका छन्।
चार पक्की घरमा आंशिक क्षति पुगेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताउए। 'घरभित्र पसेको भल, गग्रेटा सफा गर्ने र सामान निकाल्ने काम भइरहेको छ', उनले भने, 'हिजो नै जोखिम भएका घरमा नबस्न भनिएकाले कुनै मानवीय क्षति भएन।'
मंगलबार दिउँसोदेखि नै परेको वर्षाले बुर्तिबाङ बजार जलमग्न भएको थियो। गग्रेटासहित बजार पसेको भलले निर्माणाधीन बुर्तिबाङ प्राथमिक स्वास्थ्य चौकीको एक तला पुरेको छ।
बजारका अस्पताल, बसपार्क, देवचोक, इलाका प्रहरी कार्यालय रहेको क्षेत्रमा बढी क्षति पुगेको स्थानीय रामनारायण सुवेदीले बताए। उनका अनुसार स्थानीय बासिन्दा रातभर वर्षा भएपछि डरले जाग्राम बसेका थिए। भौतिक क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। बुर्तिबाङदेखि भब्रेटा जाने मोटरबाटो खन्ने क्रममा थुप्रिएको ढुंगा, माटो ठाडो खोलाले बगाउँदा बाढीको रुप लिएको हो।
स्थानीय विपद् व्यवस्थापन समितिले उद्धार र राहतमा जुट्न सबैलाई अनुरोध गरेको छ। घरटहरा पूर्णरुपमा क्षति भई विस्थापित बनेका परिवारलाई तत्कालका लागि विद्यालय भवनमा राख्ने तयारी भइरहेको छ। बाढी पसेको स्थानमा सडक क्षतविक्षत बनेपछि बुर्तिबाङबाट बाहिर छुट्ने सवारी साधन रोकिएका छन्। बिहानपख वर्षा थामिएपछि जनजीवन सामान्य बन्दै गएको छ।