रोल्पामा पहिरोले बस पुरियो, सहिदमार्ग अवरुद्ध
रोल्पा : रोल्पाको सहिदमार्गको दुईखोली सडकखण्डमा पहिरोले यात्रु बस पुरेको छ। परिवर्तन गाउँपालिका– चप्कामा सडकमा फसेको बस माथिबाट खसेको पहिरोले पुरिएको हो।
परिवर्तन गाउँपालिकाकी उपाध्यक्ष हितकुमारी बुढाका अनुसार मंगलबार राति पहिरोले बस पुरिएको हो। पहिरो आउन थालेपछि यात्रु र चालक बसबाट निस्किसकेकाले कुनै मानवीय क्षति भने भएन। ‘बस पहिरोले पुरिएको छ। सडकबाट हुट्यएर खोला पुगेको बसको एउटा तायरमात्र देखिन्छ।’ घटनास्थल पुगेकी उपाध्यक्ष बुढामगर भन्छिन्,‘पहिरो आउने क्रम रोकिएको छैन।’
दाङको घोराहीबाट रोल्पाको दुईखोली छुटेको नमस्ते प्रालिको बस दिउँसो सडकमा फसेको थियो। पाँच दिनदेखि उक्त क्षेत्रमा पहिरो खसिरहेकोले सडक हिलाम्मे थियो। पहिरोले एक घर समेत पुरिएको छ। घरका मानिस पनि दिउँसो नै पहिरोको जोखिम आंकलन गरेर निस्किएका थिए। पहिरो खस्ने क्रम रोकिएको छैन। पहिरो नजिकको अर्को घर पनि जोखिममा रहेको छ।
सडकमाथि करिव तीनसय मिटरदेखि पहिरो खसिरहेको छ। जमिन दुई मिटरसम्म फाटेको स्थानीय बताउँछन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुदर्शन पन्थीले थप क्षति हुन नदिन उच्च सुरक्षा सर्तकता अपनाइएको बताए।
पहिरो खसेपछि सहिद मार्ग अन्तरगत ओबाङ–बागमारा र थबाङ सडक अवरुद्ध भएको छ। यात्रु बीच बाटोमा अलपत्र परेका छन्। कुरेली लिक्याङ खण्डमा दुई हप्तादेखि पहिरो खसिरहेकाले यात्रु हिड्न वाध्य भएका हुन्।
गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले सहिदमार्ग निर्माण कार्यलयलाई सडक खुलाउन र बसको उद्दार गर्न अनुरोध गरिएको बताए। जेसिभी र डोजर पठाइएको सहिद मार्ग निर्माण कार्यालयले जनाएको छ। पहिरो झरिरहेकाले जेसिभी ड्राइभर समेत पहिरो पन्छाउन डराई रहेका छन्।