गोविन्द केसीले कर्मचारीसँग वार्ता नगर्ने, विधेयक फिर्ता पहिलो शर्त
काठमाडौँ: जुम्लाको खलङ्गामा १९ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीले कर्मचारी सम्मिलित सरकारी टोलीसँग वार्ता नगर्ने घोषणा गरेका छन् ।
तीन चरणसम्म भएको वार्ताका क्रममा शिक्षा सचिव खगराज बराल नेतृत्वको टोलीले मन्त्रीलाई सोधेर मात्रै जबाफ दिने बताइरहेपछि केसीले जुम्लाको खलङ्गाबाट बुधबार विज्ञप्ती निकाल्दै कर्मचारीसँग वार्ता नगर्ने घोषणा गरेका हुन् ।
'हामीसँग प्रारम्भीक चरणको वार्ता गरेकोमा हालसम्म सरकारका तर्फबाट माग पूरा गर्न कुनै पहल नभएको अवस्था छ', केसीले निकालेको विज्ञप्तीमा भनिएको छ, 'आवश्यक म्यान्डेट नै नदिई कर्मचारीहरु मात्र सम्मिलित वार्ता टोली पठाएर झारा टार्ने काम मात्रै भएको छ । फलस्वरुप हाम्रा मागको अन्तर्वस्तुमा गएर सार्थक वार्ता शुरु हुन सकेको छैन ।'
सरकारले कर्मचारीको टोलीलाई म्यान्डेट नै नदिइ वार्तामा पठाएकाले अबदेखि त्यो टोलीसँग वार्ता नगर्ने घोषणा केसीले गरेका हुन् ।
'कर्मचारीको टोली पठाएर सरकारले झारा टार्ने मात्रै काम गरेको छ । यसबाट सरकार अझै वार्ताका लागि जिम्मेवार र संवेदनशील नभएको तथा हामीले उठाएका एजेण्डाप्रति उदाशीन रहेको देखिन्छ', केसीले भनेका छन्, 'यो अवस्थामा हाम्रा माग सम्बोधन गर्नका लागि सरकारले आवश्यक वातावरण नबनाएसम्म अर्को चरणको वार्ता गर्नुको औचित्य छैन ।'
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र अनशनरत केसीले वार्तालाई तार्किक निचोडमा पुर्याउन संसदमा दर्ता चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने पनि अडान लिएका छन् । 'वार्तालाई तार्किक निश्कर्षमा पुर्याउनका लागि तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन सरकारलाई आग्रह गर्दर्छौं', केसीले अन्तिममा भनेका छन्, 'त्यसो भएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी पनि गराउँछौं ।'