विकासमा ढिलाइ गर्नेमाथि कठोर कारबाही हुनुपर्छः महेश बस्नेत
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका युवा नेता तथा सांसद महेश बस्नेतले विकास निर्माण समयमै अगाडि नबढाउने र लापरबाही गर्नेलाई कडा कारवाही गर्न शक्तिशाली विकास आयोग गठन गर्नुपर्ने बताएका छन् ।
ञ्चार केन्द्र नेपालले गरेको विकासका विभिन्न पक्षहरु विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पुर्व मन्त्रीसमेत रहेका बस्नेतले विकास निर्माणमा अनियमितता र बद्मासी गर्नेहरुलाई कठोर कारबाही हुनुपर्ने आवश्यकता औल्याए ।
‘अहिले सुन प्रकरणमा गठन भएको आयोगले जसरी दोषीहरुलाई कारवाहीको कठघरामा ल्याउन सफल भएको छ, त्यसरी नै विकास आयोगले पनि विकासमा अवरोध सिर्जना गर्ने पक्षलाई कारवाहीको दायरामा ल्याउनु पर्छ’, उनले भने ।
प्रधानमन्त्रीले विकास निर्माणमा देखाएको तदारुकतालाई सबै मन्त्री, सचिव तथा प्रदेश सरकार र स्थानीय तहले साथ दिनुपर्ने बताए । बस्नेतले विकास निर्माणलाई अदालतको फैसलाले पनि समस्या पारेको बताउँदै अदालत विकास मैत्री हुनुपर्नेमा जोड दिए ।
पुर्व महालेखा परिक्षक सुकदेव भट्टराईले नेपालका विभिन्न विकास आयोजनाहरुको जम्मा खर्च लागत अनुमान भन्दा दोब्बर हुँदा पनि राज्यका पदाधिकारी बेखबर जस्तै हुनुले उनीहरुको नियतमाथि शंकाउपशंका सिर्जना गरेको बताए ।
कार्यक्रममा सञ्चार केन्द्रका अध्यक्ष गोविन्द चौलागाई तथा उपभोक्ता मञ्चका रञ्जन कोइराला, पुर्व प्रधानमन्त्री माधवकुमार नेपालका प्राविधिक सल्लाहकार अली अख्तर मिकरानी लगायतले विकास निर्माणमा लापारवाही गर्ने ठेकेदार र कर्मचारीमाथि सरकारले कठोर कदम चाल्नैपर्नेमा जोड दिए।