साढे चार वर्षमा पहिलो पटक मोदी सरकारविरुद्ध अविश्वासको प्रस्ताव
नयाँदिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। लोकसभाकी सभामुख सुमित्रा महाजनले मोदी सरकारविरुद्ध साढे चार वर्षमा पहिलो पटक अविश्वास प्रस्तावलाई अनुमति दिएकी हुन् ।
मानसुन सत्रको पहिलो दिन बुधवार कांग्रेस र तेदेपाले अविश्वास प्रस्तावको सूचना दिएका थिए ।। यसबारे शुक्रवारको बैठकमा चर्चा हुनेछ ।
युपीए अध्यक्ष सोनिया गान्धीले भनिन्, 'हामी तनावमा छैनौँ, मोदी सरकारविरुद्ध हामीसँग पर्याप्त सांसद छन् । संसदीय कार्यमन्त्री अनन्त कुमारका अनुसार सरकार पनि अविश्वास प्रस्तावको सामना गर्न तयार छ । उनले आफूहरुसँग दुई-तिहाइ बहुमत रहेकाले सजिलै जित्ने बताए ।
एनडीएका सहयोगी दलको कुल सांसदको संख्या ३१२ रहेको छ । जसमा बहुमतका लागि २७१ जना सांसदको आवश्यकता पर्छ । लोकसभामा अहिलेसम्म २६ अविश्वास प्रस्ताव पेश भएका छन् । लोकसभामा पहिलो अविश्वास प्रस्ताव सन् १९६३ मा जवाहर लाल नेहरू सरकारविरुद्ध आचार्य कृपलानीले पेश गरेका थिए ।
इन्दिरा गान्धी सरकारविरुद्ध सबैभन्दा बढी १५ पटकसम्म अविश्वास प्रस्ताव पेश भएको थियो । अहिलेसम्म पेश भएका २५ प्रस्तावमा ४ ध्वनिमतले खारेज भएका छन् । बाकीमा मतदानबाट निर्णय लिइएको थियो । एनडीए सरकारविरुद्ध पहिलो अविश्वास प्रस्ताव सन् १९९९ मा अटल बिहारी बाजपेयी प्रधानमन्त्री हुँदा पेश भएको थियो । त्यो बेला एक भोटले बाजपेयी सरकार ढलेको थियो ।