माथिल्लो अरुणमा लगानी गर्न विश्व बैंक इच्छुक
ऊर्जामन्त्री पुन र विश्व बैंकका आवासीय निर्देशकबीच भेट
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपाल, भुटान र बंगलादेश हेर्ने विश्व बैंकका आवासीय निर्देशक कुइमिओ फानबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा बुधबार भएको भेटवार्तामा ऊर्जा क्षेत्रमा लगानी र सहकार्य गर्ने विषयमा छलफल भएको छ।
भेटमा पुनले नयाँ मन्त्रीका रुपमा आफूले कार्यभार सम्हालेसँगै ऊर्जा क्षेत्रको समग्र विकासका निम्ती श्वेतपत्र जारी गरेको जानकारी दिँदै ३५ सय मेगावाट विद्युत नेपाल आफैले बनाउने गरी योजना अघि बढाएको जानकारी दिए। उनले त्यसका लागि १६ वटा आयोजनाको छनोट भइसकेको बताए।
उनले ऊर्जा क्षेत्रमा विश्व बैंकको थप सहयोग नेपाललाई आवश्यक रहेको धारणा राखे। मन्त्री पुनले संखुवासभामा अध्ययन भइरहहेको माथिल्लो अरुणमा समेत विश्व बैंकको थप सहयोग नेपाललाई आवश्यक रहेकोे बताए।
मन्त्री पुनले राष्ट्रिय प्राथमिकतमा रहेका आयोजना र वैदैशिक लगानीमा संचालित आयोजनालाई दु्रत गतिमा अघि बढाउनका लागि सरकारले छिट्टै संयन्त्र बनाउने तयारी गरिरहेको जानकारी दिए। जग्गा अधिग्रहण र वन तथा वातावरण क्षेत्रको समस्या समाधानका लागि सरकारले योजना निर्माण गरिसकेको भन्दै भविष्यमा समस्या नआउने उनको भनाइ छ।
मन्त्री पुनले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न समेत विश्व बैंकका निर्देशकलाई आग्रह गरे। ‘तपाईहरु बजारको चिन्ता नगर्नुहोस, हामी क्षेत्रीय बजार मात्र होइन, ऊर्जा व्यापारका लागि हामी देशभित्रै पनि बजार बनाउँछौँ’, मन्त्री पुनले भने।
भेटमा विश्व बैंकका आवासीय निर्देशक कुइमिओ फानले माथिल्लो अरुणमा सहयोग गर्न आफूहरु तयार रहेको बताए। उनले अन्तरदेशीय प्रशारण लाइनमा समेत सहयोग गर्न विश्व बैंक तयार रहेको धारणा राखेका छन्। बंगलादेशसँगको विद्युत व्यापार सम्झौता भए अन्तरदेशीय प्रशारण लाइन निर्माणमा समेत सहयोग गर्न बिश्व बैंक तयार रहेको उनको भनाइ छ। भेटमा ऊर्जामन्त्री पुनले ऊर्जा क्षेत्रमा विश्व बैंकले गरेको सहयोगप्रति धन्यवाद दिए।