गोविन्द केसीका मागमा सरकार गम्भीर भएन : गगन थापा
काठमाडौं : कांग्रेस नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीसँगको वार्तामा सरकारी प्रतिनिधि गम्भीर नदेखिएको आरोप लगाएका छन्।
नेपाल प्रेस यूनियन केन्द्रीय समिति र हिल होम केयर प्रालिले गरेको स्वास्थ्य परीक्षण कार्यक्रममा बोल्दै थापाले केसीका मागमा सरकार गम्भीर नदेखिएको आरोप लगाएका हुन्।
‘डा. केसीसँग वार्ता गर्न भनेर समिति गठन गरिएको छ। तर दुःखका साथ भन्दै छु सरकारले वार्ताका लागि ठोस पहल गरेको छैन।’
वार्ताका नाममा डा.केसीलाई काठमाडौंमा ल्याएर सैनिक अस्पतालमा भर्ना गर्ने र सदनबाट स्वास्थ्य शिक्षा विधेयक जबरजस्ती पारित गर्ने योजना सरकारले ल्याएको आरोप समेत नेता थापाले लगाए।
उनले चिकित्सा क्षेत्रको सुधारको विषय राज्यको पुनसंरचनाको चरित्रसँग जोडिएको बताए। सरकारले जबरजस्ती रुपमा विद्येयक ल्याए मुठभेडको अवस्था सिर्ज ना हुने उनको भनाइ छ।
डा. केसीका मागलाई वेवास्था गरे संख्याका आधारमा बलियो मानिएको सरकार फेल हुने उनको भनाइ छ।
थापाले तत्कालीन माओवादीले दुई तिहाइको बलमा संविधान पारित गर्न नहुने आग्रह गर्दा सहमतिबाटै संविधान ल्याएको उल्लेख गर्दै वर्तमान संसदमा भने दुई तिहाइको बलमा स्वास्थ्य शिक्षा ऐन पारित गर्ने प्रयास दुर्भाग्यपूर्ण हुने बताए।
माथेमा आयोगको प्रतिवेदनलाई टेकेर डा. केसीले उठाएका मागलाई कांग्रेसले स्वामित्व ग्रहण गरेकोमा खुशी व्यक्त गर्दै थापाले विगतमा कांग्रेसको नेतृत्वमा चिकित्सा क्षेत्र र शिक्षा क्षेत्रमा भएका निर्णयमा केही कमिकमजोरी भएको भए त्यसलाई समीक्षा गर्दै सुधारेर जान कांग्रेस तयार हुनुपर्ने धारणा राखे।