नेकपाले बिदेसिएका नेपालीलाई पनि संगठित गर्ने
काठमाडौं : नेकपाले अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टीको काम व्यवस्थित बनाउन पार्टी सञ्जाल निर्माण गर्ने भएको छ । बिदेसिएका नेपालीलाई संगठित गर्ने र अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टी सञ्जाल विस्तार पनि गर्ने उद्देश्यले नेकपाले सात कार्यक्षेत्रमा वर्गीकरण गरी ‘प्रवास कमिटी’ बनाउने योजना अघि सारेको छ ।
पार्टी र जनसंगठनका रूपमा दुईखाले सांगठनिक संरचना निर्माण गर्दै प्रवासमा पुगेका नेपालीलाई संगठित गर्ने नेकपाको योजना छ । विदेशमा पार्टीकै नाममा सांगठनिक गतिविधि गर्न नपाइने हुँदा नेकपाले खुला सामाजिक संगठनका नाममा नेपालीलाई समेटने योजना ल्याएको हो । छिमेकी मुलुक भारत, चीनदेखि अफ्रिका महादेशमा पुगेका नेपालीलाई समेत पार्टीमा समेट्ने योजनाका साथ नेकपाले प्रवास क्षेत्रमै पार्टीका सात ओटा कार्यक्षेत्र तय गरेको छ ।
प्रवासमा पुगेका नेपाली समेट्ने गरी ल्याइएको उक्त नियमावली नेकपाले पारित गरिसकेको छ । सचिवालयले पारित गरेको निमायवली केही दिनमै प्रकाशित हुने नेकपा नेताहरू बताउँछन् । विदेशमा पुगेर संगठित हुने नेपालीको पार्टी सदस्यताको मर्यादाक्रम पनि तोकिनेछन् । अन्नपूर्णलाई प्राप्त नेकपाको पार्टी नियमावलीअनुसार, भारतलाई प्रवास क, दक्षिणपूर्वी एसियालाई प्रवास ख, मध्य तथा पश्चिम एसियाका क्षेत्रलाई प्रवास ग, युरोपलाई प्रवास घ, उत्तर तथा दक्षिण अमेरिकालाई प्रवास ङ, अस्टेलियालाई प्रवास च र अफ्रिकालाई प्रवास छका रूपमा कार्यक्षेत्र तोकिनेछन् ।
भारत र अस्ट्रेलियामा रहने नेपालीवीच एकएक वटा प्रवास कार्यक्षेत्र तोकेर प्रवासी नेपाली संघ÷मञ्च बनाइनेछ । तर अन्य देशमा पुगेका भने संयुक्त प्रवास कमिटीका रूपमा संगठित हुनेछन् ।
यसरी देशबाहिर पुगेका र संगठित भएकाको पार्टी मर्यादासमेत निर्धारण गर्ने गरी नेकपाले विधान तथा निमयावलीमा व्यवस्था गरेको छ । प्रवासी नेपाली संघ भारतको केन्द्रीय समितिका पदाधिकारी र सदस्यको पार्टी सदस्यता प्रदेश कमिटी सदस्यसरह र राज्य समितिका पदाधिकारी र सदस्यको पार्टी जिल्ला कमिटी सदस्यसरहको मर्यादाक्रम हुनेछ ।
भारतबाहेक प्रवास क्षेत्रमा बन्ने प्रवासी नेपाली मञ्चका पदाधिकारी र सदस्यको मर्यादाक्रम भने पार्टी कमिटीका सदस्यसरह मात्रै हुनेछन् ।
यस्तो हुन्छ प्रवास कार्यक्षेत्र
प्रवास क: भारत
प्रवास ख: दक्षिणपूर्वी एसिया
प्रवास ग: मध्य तथा पश्चिम एसिया
प्रवास घ: युरोप
प्रवास ङ: उत्तर तथा दक्षिण अमेरिका
प्रवास च: अस्ट्रेलिया
प्रवास छ: अफ्रिका