राजेन्द्र महतोको घरमा प्रेसर कुकर बम
सर्लाही: राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको पुर्ख्यौली घर परिसरमा अज्ञान समूहले कुकर बम राखिदिएको छ । महतोको चन्द्रनगर गाउँपालिका वडा नं. २ बबरगञ्जस्थित पुख्र्यौली घरमा बुधबार राति अज्ञात समूहले राखेको बम बालबालिकाले खेलाउँदै गर्दा भेटिएको हो ।
घर छेउमा पातले छोपेर राखिएको बमलाई बालबालिकाले खेलाउँदै बाहिर निकालेपछि स्थानीयले देखेका थिए । मोबाइलको सिग्नलबाट विस्फोट गराउने गरी राखिएको बम देखेपछि स्थानीयबीच भागाभाग भएको थियो ।
महतोको यो पुख्र्यौली घरमा उनका दाजु चन्द्रनगर गाउँपालिकाकै अध्यक्ष महेन्द्र महतो बस्दै आएका छन् । उनका छोरा उपेन्द्र महतो सलार्ही १ क बाट प्रदेश सभा सांसद रहेका छन् ।
कुकरको तारमाथिबाट निकालेर मोइबाल फोनमा जोडेको अवस्थामा बम फेला परेपछि प्रहरीको टोली घटनास्थलमा पुगेको छ । नेपाली सेनाको टोली पनि डिस्पोजका लागि आउँदै गरेको स्थानीयले बताएका छन् ।
बम राखिएकोबारेमा गाउँपालिकाका अध्यक्षसमेत रहेका महेन्द्र महतोले आफ्नो नेतृत्वमा गाउँमा विकास तीब्र गतिमा अघि बढेपछि बाधा अड्चन् खडा गर्न ज्यान लिने उद्धेश्यले बम राखिएको दाबी गरे ।