सैनिक र वागीश्वरी फाइनलमा
भक्तपुर : सैनिक आवासीय महाविद्यालय र वागीश्वरी माध्यमिक विद्यालय भक्तपुरमा जारी एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । भक्तपुर जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत बिहीबार भएका सेमिफाइनलमा जीत दर्ता गर्दै सैनिक र वागीश्वरीले उपाधि भिडन्त निश्चित गरेका हुन् ।
सैनिकले सुप्रिम एकेडेमीलाई १२–० गोलको भारी अन्तरले पन्छाएको हो । भक्तपुर सल्लाघारीस्थित सैनिक खेल मैदानमा भएको उक्त खेलमा सैनिकका उत्तम शाही, निशान धानुक र आदित गुरुङले ह्याटिकसमेत गरेका थिए । सुप्रिममाथि सैनिक हावी भएको उक्त खेलमा शाहीले पाँच, धानुकले चार र गुरुङले तीन गोल गरेका थिए ।
त्यस्तै वागीश्वरीले एड्भान्स एकेडेमीलाई ट्राईब्रेकरमा ४–२ गोलले पन्छाएको हो । निर्धारित ७० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि सीधै ट्राईब्रेकरबाट खेलको निर्णय गरिएको थियो ।
वागीश्वरीका सन्दीप कार्की, कुशल थापा, विजय मोक्तान र रुस्तम स्यामा पेनाल्टी प्रहार गोल परिणत गर्न सफल भए ।
एड्भान्सका निरल लामा र विज्ञान राजवाहकमात्रै पेनाल्टी प्रहारलाई जाली चुमाउन सफल हुँदा नतिज वागीश्वरीलाई सुम्पन बाध्य भएको थियो ।
प्रतियोगिताका संयोजक तीर्थ राजचलका अनुसार शनिबार फाइनल तथा पुरस्कार वितरण हुन भएको छ । भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले खेल भइरहेको माहेश्वरी खेल मैदान डुबाएपछि प्रतियोगिता स्थगित हुँदै आएको थियो । भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयले उनको खेलमैदान उपलब्ध गराएपछि मैदानमा रहेको घाँस काटेर सेमिफाइनल खेलको लागि मैदान तयार गरिएको थियो ।
जिल्लाका १८ विद्यालयहरुको सहभागिता रहेको प्रतियोगिताको विजेता विद्यालय प्रदेशस्तरमा हुने एन्फा कपमा छनोट हुने संयोजक राजचलले जानकारी दिए ।