डा. केसीलाई भेट्न मनिषा कोइराला शिक्षण अस्पतालमा
काठमाडौं : २० दिनदेखि जुम्लामा अनसन बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याइएपछि भेट्न अभिनेत्री मनिषा कोइराला शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी छन्। अभित्रेनी कोइरालाले केसीलाई शिक्षण अस्पतालको गणेशमान भवनमा पुगेर भेटेकी हुन्।
कोइरालाले केसीसँग उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। केसीले थोरैमात्र बोल्न चाहेपछि उनले उनको उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्।
डा. केसीलाई बिहीबार साँझ जुम्लाबाट ल्याएर त्रिवि शिक्षण अस्पताल पुर्याइएको हो । नेपाली सेनाको हेलिकोप्टर टुँडिखेलमा अवतरण गरेपछि केसीलाई सिधै अस्पताल पुर्याइएको थियो। केसीलाई उपचारका लागि शिक्षण अस्पताल पुर्याइएको भए पनि केसीले आईसियूमा बसेर उपचार गर्न अस्वीकार गरेका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनशन बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई सरकारले जुम्लाबाट सुर्खेत हुँदै नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको हो। अनशनस्थलबाट झिेकर केसीलाई नेपाली सेनाको व्यारेकमा लगेपछि त्यहाँबाट हेलिकोप्टरमा सुर्खेत झारिएको थियो।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले केसीलाई सरकारले काठमाडौँ ल्याउने भएपछि बिहीबार बिहानै त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र आईएमओका डिनलाई शिक्षण अस्पताल तयारी अवस्थामा राख्न निर्देशन दिएका थिए।