काठमाडौंमा आर्थिक अपराध बढ्दो

काठमाडौंमा आर्थिक अपराध बढ्दो

काठमाडौं : मुलुकको मुटु रहेको राजधानीमै आर्थिक अपराधका घटना वृद्धि हुन थालेका छन्। दैनिक जसो चेक बाउन्स, विदेश पठाइदिने, ब्याज दिने, जागिर लगाइदिने र जग्गा बिक्रीका नाममा सर्वसाधारण ठगिने क्रम बढेको हो।

आव २०७४÷७५ मा काठमाडौंमा ६ हजार आठ सय ४१ वटा अपराधका घटना भए। यसमध्ये ६ सय ९१ वटा घटना अर्थिक अपराधका छन्। यो संख्या आव २०७३÷७४ को तुलनामा साढे तीन गुणा बढी हो। उक्त आवमा संगठित तथा आर्थिक अपराधका घटना एक सय ८४ वटा मात्रै भएका थिए।

प्रहरीले चेक बाउन्स र सहकारी ठगीका मुद्दा हेर्न थालेपछि उजुरी आउने क्रम बढेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। आव २०७४÷७५ मा ठगीका मात्रै दुई सय १७ वटा मुद्दा प्रहरीले दर्ता गरेको छ। जब कि आव २०७३÷७४ मा एक सय ३९ वटा मात्रै घटनामा प्रहरीले मुद्दा दर्ता गरेको थियो। आर्थिक अपराधभित्रै पर्ने बैंकिङ कसुरका घटनामा ४२ गुणाले बढेको छ। आव २०७३÷०७४ मा १० मात्रै बैंकिङ कसुरका घटना भएकोमा आव २०७४÷०७५ मा चार सय २१ वटा भएका छन्।

‘पहिला लेनदेन मिलायो, चेकमा कारोबार गर्छन्। बैंकमा पैसा झिक्न जाँदा पैसा हुँदैन र चेक बाउन्स हुन्छ’, एसएसपी पोखरेल भन्छन्, ‘विश्वासमा परेर पैसाको कारोबार गर्दा धेरै ठगिएका छन्।’ ठगीका घटना अनुसन्धान गर्न धेरै जटिल रहेको उनले बताए। काठमाडौंमा ढुकुटी खेलाउनेले पनि चेकमा कारोबार गर्न थालेको प्रहरीले जनाएको छ।

राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु, सेनाको सेकेन्ड लेफ्टिनेन्ट बनाइदिन्छु र मुद्दा मिलाइदिन्छु भनेर ठगी गर्ने क्रमसमेत बढ्दो रहेको परिसरका मुद्दा शाखाका प्रमुख डीएसपी मोहन थापाले बताए। ‘लोकसेवा पढेर पास नभई सरकारी जागिर खान सकिँदैन भन्ने हेक्का पनि छैन’, उनले भने, ‘सजिलै लाखौं पैसा तिर्छन् र पैसा उठाउने सम्पर्कविहीन भएपछि मात्रै ठगिएको आभास हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.