पोग्बामाथि मोउरिन्होको विश्वास
लन्डन : फ्रान्सले यसपटक फिफा विश्वकपको उपाधि जित्दा मिडफिल्डर पल पोग्बाले सशक्त प्रदर्शन गरे । विशेषगरी टोली क्वार्टरफाइनल चरणमा पुगेपछि पोग्बाको प्रदर्शन फ्रान्सलाई उपाधिसम्म डोहोर्याउन निकै प्रभावकारी देखिथो । पोग्बाको त्यही प्रदर्शनलाई लिएर उनको क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होले एउटा दाबी गरेका छन्, जसमा उनले पोग्बाको सशक्त प्रदर्शनको पछाडि आफ्नो भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
सन् २०१६ मा म्यान युनाइटेड आएका पोग्बाले वल्र्ड ट्राफोर्डमा आफूलाई सशक्त रूपमा प्रस्तुत गर्न सकेनन् । पोग्बाले पूर्वक्लब युभेन्टसमा उनले गरेको प्रदर्शनलाई म्यान युनाइटेडमा निरन्तरता दिन सकेनन् । त्यसैले सन् २०१७ को सिजनको केही महत्वपूर्ण खेलहरूमा प्रशिक्षक मोउरिन्होले पोग्बालाई बेन्चमै थन्क्याएका थिए । प्रशिक्षक मोउरिन्होले आफ्नो त्यही व्यवहारका कारण पोग्बाले विश्वकपमा सशक्त प्रदर्शन गर्न सकेको बताएका छन् ।
‘खेलाडी जस्तोसुकै अवस्थामा सकारात्मक हुनु आवश्यक छ । त्यो व्यवहारले नै उसलाई सधैं सशक्त प्रदर्शन गर्न मद्दत गर्छ । त्यो व्यवहार पोग्बामा देखिएको छ । पोग्बाको खेलको स्तर यो हो, जुन रुस विश्वकपमा अन्तिम तीन खेलमा उनले देखाएका थिए’, नयाँ सिजनको तयारीस्वरूप आफ्नो टोलीसँगै हाल अमेरिकाको भ्रमणमा निस्किएका मोउरिन्होले सञ्चारकर्मी सँगको कुराकानीमा भने, ‘सायद उनले अहिले आफ्नो क्षमता बुझेको हुनुपर्छ । यो विश्वकपबाट उनले केही सिकेको विश्वास गरेको छु ।’
गत आइतबार भएको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४-२ गोलले पराजित गर्दै उपाधि जित्दा पोग्बाले पनि गोल गरेका थिए । प्रतियोगिताको नकआउट चरणमा फ्रान्सले बलिया प्रतिद्वन्द्वीहरूको सामना गर्दा पनि मिडफिल्डबाट उनै पोग्बाले उत्कृष्ट प्रदर्शन गरेका थिए । पोग्बा सन् २०१६ को अगस्टमा आठ करोड ९० लाख पाउन्डमा युभेन्टसबाट म्यान युनाइटेडमा आबद्ध भएका हुन् । यद्यपि सन् २०१७÷१८ सिजनमा टोलीका लागि उनको प्रदर्शन सोचेजस्तो हुन सकेन ।
त्यसैले उनी गत सिजनको युरोपियन च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा प्रशिक्षकको पहिलो रोजाइमा पर्न असफल भएका थिए । विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई पराजित गर्दै उपाधि जितेपछि म्यान युनाइटेड र इङ्ल्यान्डका पूर्वरक्षक रियो फर्डिनान्डले पनि पोग्बाको यो लयमा मोउरिन्होको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । पोग्बा अहिले फ्रान्समा परिवारसँगै आराम गरिरहेका छन् । उनी म्यान युनाइटेडको प्रिसिजन टुरमा समेत सहभागी हुनेछैनन् । प्रशिक्षक मोउरिन्होले पनि उनलाई आराम दिइएको बताएका छन् ।