सडक सास्ती जस्ताको तस्तै

सडक सास्ती जस्ताको तस्तै

मुसीकोट:  रुकुम पुर्वका राजेन्द्र केसीलाई अमेरिकाबाट नेपाल आउन बरु त्यति समय लागेन जति उनलाई काठमाडौंबाट रुकुममा रहेको आफ्नो घर पुग्न लाग्यो । केही दिनअघि दिउसो २ बजेतिर काठमाडौंबाट रात्री बस चढेका उनलाई रुकुमपूर्वको सिस्ने गाउँपालिकाका–३ मा रहेको उनको घरसम्म पुग्दा धन्नै ४० घण्टा लाग्यो । यो समस्या केसीको मात्र होईन जब वर्षायाम सुरु हुन्छ तब सडकको सास्ती पनि सुरु भैहाल्छ । काठमाडौंबाट यात्रा सुरु गरेदेखिको घण्टौंको जाम पार गरेर आएपछि पनि स्थानीय राजमार्गमा हुने बाढी–पहिरोको जोखिमले हरेक वर्ष रुकुमेलीलाई समस्यामा पारिरहन्छ ।

काठमामाडौं, नेपालगन्ज वा अन्य सहरबाट दाङसम्म जासोतसो आइपुगे पनि त्यहाँबाट सुरु हुने राप्ती लोकमार्गको हालत दिनदिनै बिग्रँदै छ जसका कारण हरेक दिन यात्रुहरूले समस्या बेहोर्नुपर्छ । दाङको अमेलियाबाट रुकुम पश्चिमको सल्लेसम्म जम्मा १ सय ४८ किलोमिटर लामो यो लोकमार्ग छिचोल्न सरासर आए त्यही ४ देखि ६ घण्टा समय भए पुग्छ । तर वर्षा यामका चार महिना असार, साउन, भदौं र असोजसम्म यो सडकको हालतले यो सडक भएर यात्रा गर्ने जो कोहीलाई पनि समस्यामा पारिदिन्छ ।

दाङ तुलसीपुरबाट सल्यानको कपुरकोटसम्म दर्जन बढी ठाउँमा पहिरो झरेकोे छ । कहिले पहिरो आएका बेला घण्टौं सडकको आवागमन बन्द हुन्छ त कहिले हिँड्दा–हिँड्दै पहिरो आएर बस नै सडकबाट खसेर दुर्घटना हुन्छ । कापुरकोटदेखि अगाडी पनि सडकको हालत गतिलो छैन सल्यानको लुहाम सम्म ठाउँठाउँमा सडक बिग्रिएकै छ । शारदा नादीको तिरतिरै भएकाले सल्यानको श्रीनगरदेखि बागचौर नगरपालिकाको सिमखोली सम्म त सडक ठिकै छ । सिमखोलीदेखि फेरि पहिरोको समस्या झेल्नुपर्छ । सिमखोलीको एक खोलामा माथिबाट आएको खहरे सिधै सडकमा पर्दा लगभग एक किलोमिटर सडक हिलाम्य भएको छ ।

यसरी सल्यानको ईलाका बागचौर नगरपालिकाको खौला बजारमा आएर सकिन्छ । अनि सुरु हुन्छ रुकुम पश्चिम जिल्ला । रुकुम पश्चिम सुरु भएसँगै वर्षा याममा मात्र होईन हरेक मौसमममा दुःख दिने एउटा स्थाल छ । त्रिवेणी ३ झुल्नेटा बजार नजिकै रहेको सडक । वर्षामा हिलाम्य, सुख्खामा धुलाम्मे हुने यो स्थालमा सडक विभागले ग्याबिङ जालिमा ढुगां भरेपनि धुलो र हिलो भने हुन छोडेको छैन । माथीबाट बगेर पानी जम्मा हुने र भु स्थाल पनि बर्षेणी तल झगर्ने समस्याले यहाँ सबैलाई सास्ती हुने गरेको छ । झन् त वर्षा याममा गाडी उकालोमा नचढ्दा डोजर लगाएर तान्नु पर्ने बाध्यता रहेको यातायात व्यवसायी मनबहादुर खड्का बताउछन् । ‘यहाँ हामि हरेक पटक डाजर लाएर गाडी तान्छौ ।’ उन भन्छन्, ‘एक पटक गाडी तानेको डोजरले एक हजारसम्म लिन्छ ।’

यसपछिको अर्को सास्ती हो मुसीकोट नगरपालिकाको पितिबाङ खोला । राप्ती लोकमार्गको अरु खोलामा पुल बनिसकेको भए पनि यस खोलामा भने पुल नबन्दा पानी पर्दा ह्वात्तै बढ्ने खोलाका कारण रुकुमसम्मको आवतजावत नै बेलाबेलामा अवरुद्ध हुने गरेको छ । अघिपछि जसोतसो तर्न सकिएपनि पानी परेका बेला खोला बढेपछि भन यो खोला तर्न मुस्कील पर्छ । त्यस्तै मुसीकोट नगरपालिकाको बैरागीठाटीमा रहेको बेली–ब्रिज (फलामको पुल) पनि जिर्न बन्दै जान थालेको छ । १५ वर्षअघि निर्माण गरिएको यो पुल बीचमा पुणः निर्माण गरिएपनि मर्मत मर्मत राम्रेसँग हुन नसक्दा पुनको अवस्था दिनदिनै बिग्रदै जान थालेको छ ।

बेलाबेलामा सडक विभागले सडक मर्मत गर्ने गरेको भएपनि त्यो काम त्यतिप्रभावकारी हुन सकेको छैन । २०६२ सालदेखि नियमित संञ्चालनमा आएको राप्ती लोकमार्गको दाङ–रुकुम सडकखण्ड २०६८ सालमा ओटासिल गरिएको थियो । सडक साँघुरो हुनु, ओटासिल उप्कनु र केही स्थानमा पुन नहुनु र भएका पुलहरू पनि राम्रा नहुनु । यि बिभिन्न कारणले यस खण्डमा यात्रा गर्ने यात्रुले हरेक पटक सास्ती बेहोर्नुपरिरहेको छ ।

सडक विभाग अन्तर्गत रहेको सडक डिविजन कार्यालय चौरजहारीका प्रमुख ईन्जिनियर आशिष थापा मगरले सडक बिभागले सडक मर्मतका लागी कुनै कसर बाँकी नराखेको दावी गर्छन । ‘हामिले सडक मर्मतका लागी ठाउँ–ठाउँमा कर्माचारी खटाएका छौ । सडक अवरुद्ध हुन दिदैनौं ।’ उनले भने, ‘सडकको स्तर पुर्ण रूपमा सुधार गरेर सडकलाई चौडा बनाउन आवश्यक छ । यसका लागि भने सरकारले आवश्यक पहल गर्नुपर्छ ।’

रुकुमबाट बिभिन्न स्थानका लागि बाहिरिने र भित्रिने सवारी साधन तथा यात्रुहरूको सुरक्षाका लागि र यात्रालाई सहज बनाउनका लागि राप्ती लोकमार्गको सुधार आवश्यक छ । सडकका बिभिन्न ठाउँमा हुने टुक्रे मर्मतका कामहरूमा पनि आवश्यक अनुगमन र सनयमनको खाचो रहेको छ । पहाडी क्षेत्रको यो र अन्य ग्रामीण सडकका लागि स्थानीय, प्रदेश र केन्द्र तिनै सरकारले योजना बनाएर काम अगाडी नबढाए सम्म दुर्घटनाको खतरा रहिरहन्छ भने सर्बसाधारणले भोग्ने सास्ती पनि जस्ताको तस्तै रहन्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.