कलेजको त्यो पहिलो दिन

कलेजको त्यो पहिलो दिन

- सिमाना पौडेल

क्याम्पसको पहिलो दिन । परिचयात्मक कार्यक्रम चलिरहेको थियो । एकअर्काको नाम र रुचि थाहा पाउन हामी उत्सुक थियौं । नाम र परिचयपछि प्लस टु’ पढ्दाका आआफ्ना अनुभूति साटासाट गर्‍यौं । मसँगै बस्ने एकजनालाई त्यहीँ दाइ बनाएँ ।

अहिले हुँदो हो त ब्वाइफ्रेन्ड नै बनाइसक्थेँ होला । त्यस बेला किन हो दाइ पो भन्न मन लाग्यो । ऊ जति बोलाउँदा पनि नबोल्ने खालको थियो । इमानदार लागेर दाइ बनाएँ । म भने निकै बोल्नुपर्ने मान्छे । मैले कलेजको पहिलो दिन नै दाइ बनाएकोमा नयाँ साथीहरू छक्क परिरहेका थिए ।

क्याम्पसको दोस्रो दिन ओरिएन्टेसन प्रोग्रामका लागि हामी नगरकोट गयौं । एउटै बसमा नाच्दै गाउँदै अनि एकअर्कामा छेडखानी गर्दै नगरकोटतर्फ हिँड्यौं । मैले अघिल्लो दिन बनाएको दाइ पनि साथैमा थियो । साथीहरू मलाई जिस्क्याउँदै भन्दै थिए, ‘ओइ ! हाम्लाई नि दाइ बनाउने आइडिया सिकाइदेऊ ।’

बसको लास्ट सिटमा थियौं हामी । आफ्नै तालमा थियौं सबैजना । एकअर्कामा जिस्किन्थ्यौं पनि । मैले कानमा एअरफोन कोचेको थिएँ । अप्ठ्यारो बाटोमा बस हल्लिएर हिँड्दै थियो । हामी एकअर्कामा ठोक्किँदै करिब दुई घन्टामा नगरकोट पुग्यौं ।

नगरकोट पुगेर खाना खान थाल्यौं । म शुद्ध शाकाहारी थिएँ । होटलको एउटा कुनामा बसेर खाना खाँदै थिएँ । मैले बनाएको दाइ मेरो नजिकै आयो । म खुसी भएँ । तर, उसले केही पनि नबोली अचानक मेरो टाउकोमा ‘ट्वाङ ट्वाङ’ हिर्कायो । केही पनि नबोली फनक्क फर्केर आफ्नो कुर्सीमा बस्यो अनि उसिनेको अन्डा छोडाउन थाल्यो ।

मेरो टाउको त उसका लागि अन्डा ठोक्काउने ठाउँ पो भएछ । अरू केटाको अघि सान देखाउँदै हाँस्न थाल्यो ऊ । त्यसपछि वरिपरिका सबै गलल हाँस्न थाले । दाइ भन्नेचाहिँ सानले अन्डाको बोक्रा छोडाइरहेको थियो ।

अब मलाई सही नसक्नु भयो । मेरो आत्मसम्मानमा चोट पुग्यो । मेरो मन पनि दुख्यो, रिस पनि उठ्यो । मैले उसलाई दाइ बनाएको थिएँ । तर, उसले दाजुबहिनीको सम्बन्ध त के मान्छेले मान्छेलाई गर्नुपर्ने व्यवहार पनि देखाएन । त्यसपछि म जुरुक्क उठेँ । लमक्लमक् उसको नजिक गएँ । ऊ एकोहोरो अन्डा छोडाइरहेको थियो । छोडाइसकेर मुख आँ गर्दै खान मात्रै लागेको थियो, मैले पनि बेस्सरी टाउकोमा हिर्काइदिएँ । ऊ बसिरहेको कुर्सीबाट भुइँमा लड्यो । तमासा हेरिरहेकाहरू अकमक्क भए । ऊ भुइँमा लडेर जिल्ल परिरह्यो । म सरासर आफ्नो सिटमा आएर बसेँ ।

उसले सुरुमा त सरले कुटेको ठानेछ । मैले कुटेको ठानेपछि ऊ झस्कियो र चुपचाप बसिरह्यो । साथीहरूले मलाई त्यसो नगरेको भए हुन्थ्यो भन्न थाले । मैले रिसको झोकमा कसैको कुरा सुनिनँ । ‘मेरो मनले भने अन्याय किन सहने ? ’ भन्दै थियो । मैले त उसलाई दाइ सम्झेको थिएँ । उसले पनि बहिनीलाई जसरी व्यवहार गर्नु पथ्र्यो । नगरेपछि दाइबहिनीको सम्बन्ध रहेन ।

एउटी साथी आएर भन्न थालिन्, ‘केटालाई हात उठाउनुअघि हजारचोटि सोच् बुझिस् ।’ अर्कीले थप्दै भनिन्, ‘आम्मामा क्या हान्देको के तिम्ले !’ मैले कसैको कुरा सुनिनँ । मेरो आफ्नै मनको कुरा सुनेँ । अन्याय र आत्मसम्मानमा ठेस पुग्ने गरी जसले मलाई व्यवहार गर्छ, त्यो म सहनै सक्दिनँ । मैले यस्तै सोचिरहेँ ।

म अहिले कान्तिपुर इन्टरनेसनल कलेजमा आठौं सेमेस्टरमा पढिरहेकी छु । ब्याचलर तहमा पढ्दाको त्यो क्षण म आज पनि सम्झिन्छु । त्यस दिनदेखि कसैलाई पनि दाइ बनाउने सोच मनमा आउन सकेन । कुनै अपरिचत व्यक्तिले बहिनी भनेर बोलायो भने त्यही दिनको घटना मनमा ठोक्किन आइपुग्छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.