संस्कृतमा युवा मोह
राष्ट्रिय अभिलेखालयमा कार्यरत अम्बिका सुब्बा प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसको संस्कृत भाषा प्रशिक्षण कार्यक्रममा संस्कृतका शब्द र वाक्यमा घोटिइरहेकी भेटिइन् । कानुन विषयमा स्नातक गर्दागर्दै पनि उनलाई संस्कृत भाषाप्रति मोह जाग्यो । सुब्बाका अनुसार अभिलेखालयमा काम गर्न थालेपछि धेरैजसो पुराना लिखत, कागतपत्र, अभिलेख, स्वर्णपत्र, ताणपत्र, भोजपत्र, ताम्रपत्र आदि संस्कृत भाषामा लेखिएको पाइयो । सामान्य जानकारी राख्नदेखि गहिराइमा अनुसन्धान गर्न समेत संस्कृत भाषाको ज्ञान अनिवार्य लागेपछि भाषा सिक्न आए ।
त्रिभुवन विश्वविद्यालयबाट कविताको रस विषयमा पीएचडी गरिरहेकी रञ्जना निरौला पनि संस्कृत भाषा सिकिरहेकी छिन् । ‘संस्कृत संसारकै पुरानो भाषा हो । जुनसुकै विषय पढे पनि मूल जरो संस्कृतमै अडिएको रहेछ । अन्य भाषाको ज्ञान हासिल गर्न पनि संस्कृत जान्नैपर्ने रहेछ,’ निरौलाले भनिन्, ‘साहित्यको विद्यार्थी भएका कारण मलाई यसको आवश्यकता लाग्यो । मूलतः ज्ञान हासिल गर्नु मेरो एक मात्र लक्ष्य हो ।’
कानुनमा स्नातक वरुणकुमार शाहको न्याय विषयमा उच्च शिक्षा लिने चाहना रहेछ । वेद, पुराणलगायतका शास्त्रमा न्यायको प्रसंग रहेको थाहा पाएपछि उनलाई संस्कृत भाषा तगारो बनिदियो । संस्कृतबाट अन्य भाषामा गरिएका अनुवाद पढेर पार नलाग्ने ठहर गरेपछि उनी संस्कृत सिक्न आइपुगे । शाहको विचारमा विगतमा संस्कृत भाषा ब्राह्मणले मात्र पढ्ने भन्ने एकतर्फी चर्चा गरियो । त्यसैले विद्यार्थीले संस्कृतमा रुचि देखाएनन् । पूर्वीय दर्शन र साहित्य संस्कृत भाषामै धेरै पढ्न पाइने भएकाले यो अथाह ज्ञानको भण्डारभित्र छिर्न पनि संस्कृत भाषा सिक्न जरुरी ठान्छन्, उनी ।
ह्याप्पी किड्स स्कुलका प्रिन्सिपल कृष्णकुमार बोहोरा हिन्दु संस्कार र संस्कृतिको आधार र मूल स्रोत संस्कृत भाषा र साहित्य रहेको बताउँछन् । भविष्यमा आफ्नो स्कुलमा पनि संस्कृत भाषा पढाउने सोच बोकेर भाषा प्रशिक्षणमा आएका बोहोरा भन्छन्, ‘भाषा सिकेर संस्कृत साहित्यमा उच्च शिक्षा हासिल गर्दै जाने सोच बनाएको छु । यही क्याम्पसमा आउँदो सत्रमै शास्त्रीमा भर्ना हुने लक्ष्य छ ।’ दर्शनसँग जोडिएका जीवनोपयोगी ज्ञान हासिल गर्न पनि म यहाँ आएको उनको भनाइ छ ।
संस्कृत भाषा नजानेकैले ज्योतिष रामचन्द्र खतिवडालाई आफ्नो पेसामा जम्न र टिकिरहन गाह्रो भएछ । पहिलेदेखि नै पढ्ने इच्छा भए पनि भाषा प्रशिक्षणमा सहभागी हुन यसपालि मेसो जुर्यो ।
शंकरदेव क्याम्पसमा व्यवस्थापन विषय प्राध्यापनरत भुवनराज चटौत यहाँ व्यवस्थापन विषय बाइबलबाट निर्देशित रहेको बताउँछन् । उनका विचारमा यसको पूर्वीय दर्शनसँगको सम्बन्धबारे जान्न पनि संस्कृत सिक्नैपर्ने रहेछ । अधिवक्ता अञ्जना अर्याल समाजमा घटेका धेरैजसो घटनाको व्याख्या एवं विश्लेषण संस्कृतकै श्लोकका आधारमा गर्ने गरिएको बताउँछिन् । हिन्दु विधि शास्त्रका बारेमा पढ्नुपर्दा पनि संस्कृत भाषामै पढ्नपर्ने देखियो । अर्यालले भनिन् ‘पश्चिमा संस्कृति पूर्वीय संस्कार, संस्कृित, दर्शनबाट आकर्षित भएको चर्चा सुनिन्छ । यसको वास्तविकताबारे बुझ्न पनि संस्कृत भाषा सिक्न थालेकी हुँ ।
संस्कृत भाषा नजानेकैले ज्योतिष रामचन्द्र खतिवडालाई आफ्नो पेसामा जम्न र टिकिरहन गाह्रो भएछ । पहिलेदेखि पढ्ने इच्छा भए पनि भाषा प्रशिक्षणमा सहभागी हुन यसपालि मेसो जुर्यो । ज्योतिषको समग्र आधार र प्रमाण संस्कृत भाषामा छ । फलित ज्योतिषका मूल श्लोक संस्कृतमै छन् । खतिवडा भन्छन्, ‘आफू अनुकूल गरिएका अनुवादको भर नहुने रहेछ । चिना टिप्पन हेराउन आउनेलाई दुई चार श्लोक संस्कृतमै भनेन भने कहाँ विश्वास गर्छन् र ? त्यसैले, संस्कृत कक्षा लिएँ ।’
भाषा प्रशिक्षण कार्यक्रममा अनिवार्य संस्कृत भाषा प्राध्यापन गराइरहेका शिवराज लामिछानेका अनुसार विगतमा भन्दा अहिले सबै उमेरसमूहका विद्यार्थी आएका छन् । युवाको आकर्षण बढ्दो छ । अवकाश प्राप्त कर्मचारी पनि आउँछन् । उनीहरूमा उमेर बढ्दै गएपछि धर्मशास्त्र र पुराणहरूमा रुचि हुँदो रहेछ । मूल स्वरूप पढ्न संस्कृत जान्नैपर्ने हुन्छ । लामिछाने भन्छन्, ‘यहाँ छोटो समयमा नै भाषा सिक्न सकिने हुँदा विद्यार्थीको चाप बढ्दो छ ।’
प्रवीणता प्रमाणपत्र तह हट्यो
नेपाल संस्कृत विश्वविद्यालयले प्रवीणता प्रमाणपत्र हटाएको छ । विगतमा एसईई परीक्षा दिएर बसेका विद्यार्थीले सहभागी हुन पाउने कार्यक्रमलाई अब भने प्लस टु वा सो सरह उत्तीर्ण भएकाले मात्र सहभागी हुन पाउनेछन् । भाषा प्रशिक्षणको पाठ्यक्रममा अनिवार्य संस्कृत व्याकरण, अनिवार्य संस्कृत भाषा एवं ऐच्छिकतर्फ व्याकरण, ज्योतिष, वेद, न्याय राखिएको छ । यसपटकबाट भाषा प्रशिक्षण लिएकाहरूले सीधै शास्त्री अर्थात् स्नातक तहको कक्षामा भर्ना हुन पाउनेछन् । अनिवार्य व्याकरण अध्यापन गराइरहेका अच्युत लम्सालले भने, ‘कानुन विषय लिएर पढिरहेका विद्यार्थीको आकर्षण पनि धेरै छ, साहित्यका विद्यार्थी पनि धेरै आइरहेका छन् । सबै क्षेत्र र तहका विद्यार्थी आउने भएकाले कक्षाको वातावरण पनि रमाइलो छ ।’
अघिल्लो सत्रको भाषा प्रशिक्षणमा सहभागी भएका साहित्यकार भुवनहरि सिग्देल संस्कृत व्याकरणको थोरै भए पनि जानकारी नभएसम्म नेपाली भाषा परिस्कृत नहुने बताउँछन् । ‘यस्तो छोटो अवधिको प्रशिक्षण कार्यक्रमले पनि किताब र गाइडहरू आफैं पढ्न सक्ने भइँदो रहेछ । नबुझेका बेलामा सोध्ने विज्ञ पनि भयो भने अझ सहज हुन्छ ।’ सिग्देलले भने, ‘हामी पूूर्वीय दर्शन, वाङ्मय यस्तो उस्तो भनेर गफ मात्र गछौं । यो संसारकै सबैभन्दा उत्तम भाषा र साहित्य भनेर गौरव गर्छाैं तर त्यसको श्रेष्ठताबारे हामीलाई केही पनि थाहा हुँदैन ।’
संस्कृत भाषा सबै भाषाको माउ भएको तर्क गर्छन् सिग्देल । संस्कृत व्याकरणले अरू व्याकरणलाई पनि आकर्षित गरेको बताउँछन् उनी । संस्कृत भाषा सिक्नकै लागि विदेशीहरू आकर्षित हुनुका पछाडि यसको वैज्ञानिक पाटो महत्वपूर्ण रहेको उनको भनाइ छ ।
प्रा.डा. जगमान गुरुङ पहिचान र अपनत्वको कुरा चुलिएको बेला संस्कृतको महत्व अझ बढेको बताउँछन् । हिमवत खण्डमा भारोपेली र भोटबर्मेली दुई परिवारका भाषा बढी चलनचल्तीमा छ । दुवै भाषाको विकासमा एक अर्काबीच अन्योन्या िश्रत सम्बन्ध रहेको छ । गुरुङले भने, ‘अहिले युवा पुस्ता आफ्नो भाषा र संस्कृतिप्रति जिज्ञासु भएका छन् । यसरी अपनत्व हुनु राम्रो पक्ष हो ।’ भाषा एवं संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै, परिस्कृत हँदै जान्छ । विगतमा संस्कृत भाषाको भाषाको महत्व भन्दै चर्चा मात्र गरियो । काम केही पनि गरिएन । यो अहिले पनि सान्दर्भिक छ भन्ने कुराको भेउ बल्ल पाउँदैछन्, अध्येताहरू । त्यसमा युवा अध्येताहरूको मोह बढ्दो छ ।