कुन समयमा प्रयोग गर्ने सामाजिक सञ्जाल ?

कुन समयमा प्रयोग गर्ने सामाजिक सञ्जाल ?

-मेलिसा हगेनबुम, बीबीसी

अहिलेका किशोरकिशोरीको अत्यधिक समय ग्याजेट चलाउँदैमा बित्छ । ‘अफकम’ले १६ नोभेम्बर २०१६ मा प्रकाशित गरेको ‘अनलाइन ओभरटेक्स टीभी एज किड्स टप पास्ट टाइम’ लेखका अनुसार ११ देखि १५ वर्ष उमेर समूहका मानिसले दैनिक ६ देखि आठ घन्टासम्म ग्याजेटमा समय खर्चिन्छन् । उनीहरूले कम्प्युटरमा गर्ने होमवर्कको समय यहाँ जोडिएको छैन । अफकमले भनेको छ, बेलायती किशोरकिशोरीको सुत्नभन्दा धेरै समय ग्याजेट चलाउनमा खर्च हुन्छ ।

बच्चैदेखि ग्याजेट प्रयोग गर्न थालिन्छ । एरिक सिग्म्यानद्वारा लिखित ‘स्क्रिन डिपेन्डेन्सी डिसवर्डर्स ः अ न्यु च्यालेन्ज फर चाइल्ड न्युरोलोजी’ लेखका अनुसार बेलायतका अधिकांश केटाकेटी चार वर्ष नपुग्दै ‘ट्याब्लेट’ चलाउन थाल्छन् ।

आफूभन्दा अघिल्लो पुस्ताले प्रयोग गरिरहेको सामाजिक सञ्जालमा नयाँ पुस्ता जोडिनु अचम्म होइन । यो स्वाभाविक हो । उदाहरणका लागि स्न्यापच्याटलाई हेरौं, यो किशोर-किशोरीमाझ एकदमै लोकप्रिय छ । सन् २०१७ मा भएका विभिन्न अनुसन्धानका अनुसार अमेरिकाका १३ देखि १८ वर्ष उमेर समूहका झन्डै ७० प्रतिशत तन्नेरीले स्न्यापच्याट चलाउँछन् । र, स्न्यापच्याटमा जोडिएकाहरू प्रायः सबै इन्स्टाग्राममा पनि जोडिएका छन् । बेलायतको तथ्यांक पनि लगभग उस्तै हो ।

अहिले तीन बिलियनभन्दा धेरै मानिस सामाजिक सञ्जालमा जोडिएका छन् । धेरैले एकभन्दा बढी ‘साइट’ चलाउँछन् । हाम्रो समय यस्तै सोसल साइटहरूमा खर्च भइरहेको छ । अमेरिकी किशोरकिशोरी दैनिक दुईदेखि तीन घन्टा समय सामाजिक सञ्जालमा खर्च गर्छन् ।

सुत्नुभन्दा ३० मिनेट अघिदेखि ग्याजेट प्रयोग गर्नु हुँदैन । ग्याजेटबाट आउने ‘लाइट’ले असर गर्छ ।

सामाजिक सञ्जालमा देखिएको यो सक्रियताले केही चिन्ता निम्त्याएको छ । स्क्रिनअघि धेरै समय बिताउँदा स्वास्थ्यमा पर्नसक्ने असरहरूबारे जान्न अनुसन्धानकर्ताहरू उत्सुक छन् । उनीहरूका अनुसार ग्याजेटको अत्यधिक प्रयोगले निद्रा तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पार्छ । नाटकीय रूपमा बढिरहेको सामाजिक सञ्जालको प्रयोगले समाजमा पर्नसक्ने असरबारे ब्रायन प्रिम्याकले अध्ययन गरे । ‘युनिभर्सिटी अफ पिट्सबर्ग’स्थित ‘मिडिया, प्रविधि र स्वास्थ्य केन्द्र’का निर्देशकसमेत रहेका ब्रायनले जेसिका लेभेन्सनसँग मिलेर प्रविधि र मानसिक स्वास्थ्य बीचको सम्बन्धमाथि अनुसन्धान गरेका थिए । उनीहरूले यसको सकारात्मक र नकारात्मक दुवै पाटो केलाए ।

सामाजिक सञ्जाल र डिप्रेसन बीचको सम्बन्धलाई जोड्दा यसको द्वैध प्रभाव देखियो । यसले डिप्रेसनलाई बढावा दिनुका साथै र कमजोर तुल्याउन पनि भूमिका खेल्ने रहेछ । दुई हजार मान्छेमा गरिएको एउटा सर्वेेक्षणबाट निस्केको नतिजा आश्चर्यजनक छ । सामाजिक सञ्जालले डिप्रेसन, तनाव र एक्लोपन महसुस गराउने उक्त सर्वेक्षणको निष्कर्ष छ । यो सर्वेक्षण ‘द एसोसिएसन बिटविन सोसल मिडिया युज एन्ड स्लिप डिस्टर्बेन्स अमोङ योङ एडल्टस्’ शीर्षकमा ‘साइन्स डाइरेक्ट डटकम’ले सन् २०१६ मा प्रकाशित गरेको छ ।

‘तपाईं भन्नुहोला कि सामाजिक सञ्जालमा मानिसहरू साथीसँग कुराकानी गरिरहेका छन्, हाँसिरहेका छन्, इमोजी पठाइरहेका छन् । तपाईंलाई लाग्छ होला, उनीहरूसँग सामाजिक पुँजी छ । तर, त्यस्ता मानिसले एक्लोपनको महसुस गर्ने रहेछन्’, प्रिम्याक भन्छन् ।

एउटा अस्पष्ट कुरा हो, डिप्रेसनले सामाजिक सञ्जालको प्रयोग बढाउँछ कि सामाजिक सञ्जालको प्रयोगले डिप्रेसन बढाउँछ ? प्रिम्याकका अनुसार दुइटै प्रक्रिया अघि बढ्न सक्छ । डिप्रेस्ड मान्छेले अत्यधिक सामाजिक सञ्जालको प्रयोग गर्छन् । र, यसले मानसिक स्वास्थ्यमा असर पुर्‍याउँछ ।

सामाजिक सञ्जालको प्रयोगबाट आउने असरहरू अरू थुप्रै छन् । सन् २०१७ मा करिब १७ सय जनामा एउटा सर्वेक्षण गरियो । प्रिम्याक र उनका साथीहरू मिलेर गरेको उक्त सर्वेक्षणले सामाजिक सञ्जाल प्रयोग गर्ने समयलाई ध्यान दिएका छन् । सुत्नुभन्दा ३० मिनेट अघिदेखि ग्याजेटको प्रयोग गर्नु हुँदैन । ग्याजेटबाट आउने ‘लाइट’ले असर गर्छ । निद्रा नपर्ने समस्या आउँछ । सुत्नुअघिको ३० मिनेट प्रविधिबाट टाढा बस्नु एकदमै फाइदाजनक छ ।

शारीरिक अभ्यासले निद्रा लगाउन सहयोग पुर्‍याउँछ भनेर हामीलाई थाहा भएकै कुरा हो । ग्याजेटमा धेरै समय बिताउँदा शारीरिक अभ्यास पुग्दैन । दिउँसोभरि तपाईं ग्याजेट चलाएरै बस्नुहुन्छ । ‘तपाईंको हातमा स्मार्ट फोन छ भने त्यहाँ शारीरिक अभ्यास हुँदैन । स्विमिङ गरेजस्तो हातखुट्टा त चलाउनु पर्दैन, ग्याजेट चलाउँदा । तपाईंपछि आउने पुस्ताले पनि शारीरिक अभ्यास गर्न जान्दैन’, बालस्वास्थ्य विज्ञ एरिक सिग्मन भन्छन् । यसरी, ग्याजेटले तपाईंको निद्रामा अवरोध पुर्‍याउँछ ।

ग्याजेटले निद्रामा कसरी समस्या ल्याउँछ भन्ने बारेमा अरू पनि उदाहरण दिन सकिन्छ । सामाजिक सञ्जालको अत्यधिक प्रयोगले डिप्रेसन निम्त्याउँछ । यसले मान्छेमा तनाव थप्छ । र, यसको असर भनेको निद्रामै पर्ने हो । सामाजिक सञ्जालको स्टाटस र कमेन्ट हेरेर तपाईं आफूलाई अन्यसँग तुलना गर्न थाल्नुहुन्छ । आफू कमजोर छु कि भन्ने भावना आउन सक्छ तपाईंमा । त्यो भावनाले तपाईंलाई सुत्नै दिँदैन ।

अनिद्राले विभिन्न किसिमका समस्या आउन सक्छन् । एउटा समस्याले अरू समस्या पनि निम्त्याउँछ । डिप्रेसन, तनाव, अनिद्राजस्ता समस्याबाट तपाईं ग्रसित हुन सक्नुहुन्छ । यसले गर्दा मानसिक स्वास्थ्यमा समेत असर पर्न जान्छ ।

अनिद्राबाट आउने समस्याहरू थुप्रै छन्— मुटुको रोग, मोटोपना, डाइबेटिज, सुस्तता, अध्ययनमा कमजोरी आदि । यस्ता रोगको लिस्ट अझै बढ्न सक्छ । तन्नेरीहरूले निद्रा लगाउन विभिन्न औषधिसमेत प्रयोग गर्छन् । युनिभर्सिटी अफ पिट्सबर्ग स्कुल अफ मेडिसिन’की जेसिका लेभेनसन भन्छिन्, ‘सामाजिक सञ्जालको अत्यधिक प्रयोग भइरहेको छ । हामीले यसका सकारात्मक, नकारात्मक पक्षमाथि प्रशस्त छलफल गर्न जरुरी छ । शिक्षक, परिवारले आफ्ना नानीहरूलाई यसबारे सोध्न जरुरी छ ।

हामीले सामाजिक सञ्जालको प्रयोगलाई घटाउन जरुरी छ । सामाजिक सञ्जाल चलाउने खास समय तोक्नुपर्छ । सिग्मन भन्छन्, ‘तोकेको समयभन्दा अरू बेला नचलाउने । नानीहरूलाई पनि त्यही भन्ने । घरभित्रै पनि सामाजिक सञ्जाल प्रयोग गर्न पाउने र नपाउने ठाउँ छुट्याउनु पर्छ । जिन्दगीका हरेक पाटोमा सामाजिक सञ्जाललाई जोड्न आवश्यक छैन ।’ विशेष गरी किशोरकिशोरीले यो कुरा थाहा पाउनुपर्छ ।

प्रिम्याक पनि यो कुरामा सहमत छन् । सामाजिक सञ्जालको प्रयोगमा रोक लगाउनुपर्छ भन्ने उनको तर्क हैन । तर, कति चलाउने भन्ने सीमा भने राख्नुपर्छ । ‘हाम्रो आँखा जति बेला पनि सामाजिक सञ्जालको भित्तोमै टाँसिनु हुँदैन’, उनले भने ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.