मोबाइल एप म्युजिकल्लीका मज्जा
कतिपय गीत अति कर्णप्रिय हुन्छन् । सधैं सुनौंसुनैाँ लाग्छ । अनि कहिलेकाहीँ आफैं गाऊँगाऊँ लाग्छ । कुनै फिल्मका डायलग पनि अति चोटिला हुन्छन् । आफैं भनेर सुनाउन मन लाग्छ । मोबाइलको प्लेलिस्ट, रेडियोमा अचानक बज्ने फेभरेट गीत अनि रेडियोले सुनाउने सुमधुर गीतहरू आफैंले गाउने प्रयास हरकोहीले गर्छन् । तर, गायकहरूको जस्तो सुरिलो आवाज कहाँ हुनु । अब भने म्युजिकल्लीको प्रयोग गरेर गीत र फिल्मका डायलगमा आफ्नै भिडियो बनाउन सकिने भएको छ ।
निःशुल्क मोबाइल एप म्युजिकल्ली अहिले निकै चलेको छ । धेरैले यसबाट भिडियो बनाउँदै सोसल मिडियामा सेयर गर्न थालेका छन् । म्युजिकल्ली भिडियो बनाउने र लाइभ ब्रोडकास्टिङ गर्न मिल्ने चाइनिज भिडियो सोसल नेटवर्क एप हो । अप्रिल २०१४ मा पहिलो प्रोटोटाइप रिलिज गरिएको यो एपको आधिकारिक भर्सन सोही वर्षको अगस्टमा सार्वजनिक भएको थियो । १५ सेकेन्डको भिडियो र साउन्ड ट्र्याकबाट म्युजिक भिडियो बनाउन मिल्ने यो एपमा भिडियोलाई फास्ट, नर्मल र स्लो बनाउन मिल्ने अप्सन छन् । साथै यसमा भिडियोहरू प्रिटेस्ट गर्न सकिन्छ र इफेक्टहरू पनि राख्न मिल्छ । यो एपबाट सांगीतिक सामग्री, चल्तीका गीतहरू, विभिन्न साउन्ड ट्र्याक र ह्यासट्याग ब्राउज गर्न प्रयोगकर्तालाई सुविधा दिएको छ ।
१५ सेकेन्डको म्युजिक भिडियो बनाएर सेयर गर्न मिल्ने यो म्युजिकल्ली एप मोबाइलमा डाउनलोड गरेर यसको युजर बन्नुपर्ने हुन्छ । प्रयोगकर्ताले म्युजिकल्लीमा रहेका लाखौं म्युजिक ट्र्याक सर्च गरेर भिडियो बनाउन सक्छन् वा आफ्नो मोबाइल डिभाइसमा भएको म्युजिक पनि प्रयोग गर्न सक्छन् । एकपटक गीत छानिसकेपछि प्रयोगकर्ताले म्युजिक क्लिपमा फ्रन्ट फेसिङ क्यामेरा प्रयोग गरेर भिडियो बनाउन सक्छन् । यसमा धेरै सुविधा छन् । जस्तो—
गीत र भिडियो छान्न सकिने
म्युजिकल्ली गीत, संगीत र भिडियोको लाइबे्ररी नै हो । यसको ब्राउजरमा भएको कलेक्सनबाट चर्चित गीतहरूमा लिप्सिङ गर्नेदेखि कमेडी ट्र्याकहरू, फिल्मका डायलग छान्न सकिन्छ । प्रयोगकर्ताले सर्चबारबाट आफूलाई चाहिने ट्र्याक पनि खोज्न सक्छन् ।
म्युजिक भिडियो रेकर्ड गर्न सकिने
बीचमा रहेको बटन क्लिक गरेर प्रयोगकर्ताले म्युजिक भिडियो रेकर्ड गर्न सक्छन् । म्युजिक ट्र्याक छान्न अप्सन पनि हुन्छ । एउटा म्युजिक ट्र्याकमा क्लिक गरेर भिडियो बनाएपछि १५ सेकेन्डको म्युजिक भिडियो तयार हुन्छ ।
प्रतियोगितामा भाग लिन सकिने
म्युजिकल्ली एक सोसल मिडिया हो । सर्च ट्याबमा गएर त्यहाँ भएको कन्टेस्ट (प्रतियोगिता)मा भाग लिन सकिन्छ । त्यहाँ टे«डिङमा रहेका ह्यासट्यागहरू देखा पर्छन् । प्रयोगकर्ताले टे«डिङ ह्यासट्यागको सूची ब्राउज पनि गर्न सक्छन् ।
डोएट्स बनाउन मिल्ने
म्युजिकल्लीको अर्को रमाइलो पक्ष भनेको त्यो व्यक्तिसँग डोएट्स (दुईजना) भिडियो बनाउन मिल्छ । तर, दुवै प्रयोगकर्ताले एक अर्काेलाई फलो गरेको हुनुपर्छ । यसका लागि ‘स्टार्ट डोएट्स नाउ’ ट्याबमा क्लिक गरेर भिडियो बनाई पब्लिस गर्दा पछि अर्को व्यक्तिले उही म्युजिक भिडियोमा डोएट्स बनाउँदा दुवैको भिडियोे मिक्स भएर आउँछ ।
सन् २०१६ सम्म म्युजिकल्लीमा ९० मिलियन प्रयोगकर्ता भइसकेका थिए । तीमध्ये १२ मिलियनले हरेक दिन भिडियो पोस्ट गरेका छन् । सन् २०१७ मेको अन्त्यसम्म यो एप प्रयोगकर्ताको संख्या दुई सय मिलियनसम्म पुगिसकेको छ । नेपालमा पनि यसको प्रयोग दिनप्रतिदिन बढ्दै गएको छ । म्युजिकल्लीको मुख्यालय चीनको सांघाईमा छ । क्यालिफोर्नियाको फ्रान्सिस्कोमा पनि यसको कार्यालय छ । सन् २०१७ को नोभेम्बर ९ मा बाइटडान्स टेक्नोलोजी कम्पनीले म्युजिकल्लीलाई एक अर्ब अमेरिकी डलरमा किनेको हो । प्रयोगको हिसाबले म्युजिकल्ली एप इन्स्टाग्रामजस्तै छ ।