काँकरभिट्टा : बदलिँदा विम्बहरू
सीमा नाका नजिकका सहरहरूको परिचय प्रायः सीमासँग जोडिएका गतिविधिले निर्धारण गर्छन् । नाका वारपार भइरहेका मानिस, सामान र संस्कृति नै ती सहरका विशेषता मानिन्छन् । अक्सर सीमासँग जोडिएर चल्ने तस्करीका कथाले ती सहरका अन्य पहिचान छोप्ने गर्छन् । सुदूरपूर्वको काँकरभिट्टा नाकाको पहिचान पनि यस्तै कथाहरूले निर्माण गर्ने गरेको थियो ।
समय गतिशील हुन्छ । समयले स्मृतिहरू बोकिबसेको हुन्छ । ती स्मृतिमा सहरका विगत-कथा हुन्छन् । अहिले काँकरभिट्टाको परिचय फराकिलो हुँदैछ । नाकामा चल्ने गतिविधि यथावत् होलान् । ती गतिविधिसँगै त्यहाँ आजकल कला, साहित्य र बौद्धिक विमर्श पनि बाक्लै हुने गरेको छ । काँकरभिट्टाको परिचय फेर्न र यसलाई विस्तारित तुल्याउन त्यहाँ क्रियाशील तीन संस्थाको योगदान मुख्य छ— रिडर्स झापा, परिवर्तन थिएटर र देही आर्टस् । यी तीन संस्थाको आँखाबाट अहिले झापालाई चियाउन सकिन्छ, जहाँ सधैंजसो बौद्धिक विमर्श भइरहेका हुन्छन् ।
काँकरभिट्टामा हरेक दुई वर्षमा आयोजना हुँदै आएको कला-साहित्य उत्सवले मुलुकको साहित्य, संस्कृति र राजनीतिबारे गम्भीर विमर्श सिर्जना गर्ने गरेको छ । सो उत्सवको आयोजक समूह रिडर्स झापा हो, जसले उत्सवबाहेक साप्ताहिक छलफल र विषयगत अन्तरक्रियाहरू नियमित सञ्चालन गर्ने गरेको छ । पछिल्लो समय रिडर्स झापाका सक्रिय सदस्य बनेका स्थानीयवासी सन्दीप ओली भन्छन्, ‘म साउदी अरबमा काम गर्दादेखि नै रिडर्स झापाका कार्यक्रमबाट लोभिएको थिएँ । घर फर्केपछि मेरो मुख्य सक्रियता नै रिडर्सका साथीहरूसँग मिलेर पुस्तक पढ्ने र अन्तरक्रिया गर्ने भएको छ ।’ विगत १२ वर्षदेखि रिडर्स झापाले यस्ता अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यस्ता गतिविधिले समाजमा पढ्ने र बौद्धिक छलफल गर्ने कामतर्फ मान्छेलाई आकर्षित गर्न थालेको स्थानीयवासी बताउँछन् ।
आजकल रिडर्स झापाका सदस्यहरू इतिहास अध्ययन शृंखला सञ्चालन गरिरहेका छन् । हरेक साता शनिबार भेला भएर नेपाली इतिहासका विभिन्न कालखण्डबारे लेखिएका पुस्तक र निबन्ध अध्ययन गर्ने, छलफल गर्ने क्रम जारी छ । ‘पहिले विद्यालयमा पढेका इतिहास अपूरा थिए, तिनले नेपाली समाजबारे बुझ्न धेरै सघाएनन् भन्ने लाग्छ । आफैंलाई र आफ्नो मुलुकलाई बुझ्न यो सानो प्रयत्न गरेका हौं’, रिडर्स सदस्य सौरभ मैनालीले सुनाए । विस्तारै इतिहास अध्ययनमा चाख बढ्दै गएको बताउने अर्का सदस्य हरि तिम्सिना भन्छन्, ‘कम्तीमा आफ्नै देशको इतिहासबारे अलि राम्रोसँग घरका साना छोरीहरूलाई बताउन सकिने भइएको छ ।’
सीमा नाकाका गतिविधि र बसपार्कमा देखिने भीडभाड मात्र हेरेर काँकरभिट्टालाई बुझ्न सकिँदैन । यहाँ सञ्चालनमा रहेका रिडर्स झापा, देही आर्टस् र परिवर्तन थिएटर जस्ता संस्थाका गतिविधि नियाल्ने हो भने यस सहरको सग्लो परिचय पाउन सकिन्छ ।
काँकरभिट्टामा आजकल किताबी गफ मात्रै हुँदैनन्, उही गतिमा नाटक लेखन, मञ्चन र अभिनयका तालिम पनि सञ्चालन गरिन्छन् । परिवर्तन थिएटरले विगत केही वर्षदेखि निरन्तर नाटकको प्रवद्र्धनमा काम गरिरहेको छ । स्थानीय जातीय समुदायदेखि राष्ट्रिय चर्चा बनेका विषय समेतलाई नाट्य रुपान्तरण गरी परिवर्तन थिएटरले मञ्चन गर्ने गरेको छ । केही समयपहिले सो समूहले श्याम सिंघकको ‘रेमिटल्यान्ड’ उपन्यासमा आधारित नाटक मञ्चन गरेको थियो । स्थानीय किसान समुदायका विषयवस्तु समेटेर ‘सुकुमबासी राजा’ नामक नाटकले पनि स्थानीय स्तरमा राम्रो चर्चा बटुलेको थियो । परिवर्तन थिएटरकी सक्रिय सदस्य कविता नेपाल भन्छिन्, ‘पहिले नाटकप्रति आममान्छेको बुझाइ सकारात्मक थिएन । बिस्तारै चासो बढ्दैछ र हामीले स्थानीय दर्शकबाट मनग्गे सहयोग पाएका छौं ।’
परिवर्तन थिएटरले केही साताअघि मात्रै एक नाट्य प्रशिक्षण सञ्चालन गरेको थियो । पाकिस्तानी कलाकार मुनीबुर रहमान स्थानीय कलाकारलाई नाटक सिकाउन काँकरभिट्टा पुगेका थिए । परिवर्तन थिएटरमा आबद्ध ११ कलाकारलाई प्रशिक्षण दिएका रहमानले भने, ‘मैले यो समूहमा प्रशस्त सम्भावना देखेको छु, साथसहयोग पाउँदै गए यसले अझै गुणस्तरीय काम गर्न सक्नेछ ।’ प्रशिक्षण लिएका कलाकारले प्रशिक्षणलगत्तै दर्शकबाटै विषय लिएर त्यसलाई तत्कालै नाट्य रुपान्तरण गरी प्रस्तुत गरेका थिए ।
काँकरभिट्टाको बौद्धिक र कलात्मक उन्नयनमा काम गरिरहेको अर्को संस्था हो— देही आट्स् । चित्रकलाका अनेक माध्यममा काम गरिरहेको यो समूहले आफ्नो सानो ग्यालरीसमेत स्थापना गरिसकेको छ । काँकरभिट्टा बसपार्क पछिल्तिर लहरै खुलेका फ्यान्सी सामानको पसलहरूबीच एउटा कुनामा देही आर्टस्को ग्यालरीमा काम गरिरहेका कलाकारहरूलाई भेट्न सकिन्छ । साताको केही दिन त्यही सानो ठाउँमा देही आर्टस्का सदस्यले कलाकार बन्न चाहने नयाँ युवालाई तालिमसमेत दिइरहेको छ ।
स्थानीय समुदाय, संस्कृति, खोला, जंगल तथा ऐतिहासिक ठाउँलाई चित्रमा उतार्ने काम पनि द्रुत गतिमा गरिरहेकै छन् देही आर्टस्का सदस्यले । देहीका प्रशिक्षक छेतेन शेर्पा भन्छन्, ‘हामी स्पटमा गएर पेन्टिङ गर्छौं । यहाँ वरपरका भित्तामा समेत हामीले विभिन्न किसिमका चित्रकारिता गरेका छौं ।’ रिडर्स झापाले आयोजना गर्ने कला-साहित्य उत्सवमा देही आर्टस्को उत्तिकै सक्रिय उपस्थिति हुने गरेको छ । उत्सवमा उनीहरूले लाइभ पेन्टिङ गर्ने, ट्याटु खोप्ने, स्कुलका विद्यार्थीलाई प्रशिक्षण दिनेलगायत थुप्रै काम गर्ने गरेका छन् । तीन वर्षदेखि काँकरभिट्टालाई आफ्नो मुख्य कर्मभूमि बनाएर उदाएको देही आर्टस्का पाँच सदस्यले विस्तारै चित्रकारितालाई नै मुख्य पेसा बनाउने निधो गरेका छन् । उनीहरूले दार्जिलिङ, धरान, काठमाडौंलगायत लोकेसनमा रहेर कलाकर्म गरिरहेका कलाकारसँग सहकार्य गर्ने गरेका छन् । ती ठाउँमा आयोजना हुने प्रदर्शनी, कार्यशाला गोष्ठीहरूमा नियमित सहभागीका रूपमा देहीका सदस्य जाने गर्छन् ।
बसपार्क छिचोलेर भारत जाने-आउने गरेका यात्रुले बसपार्कबाटै काँकरभिट्टाको बदलिएको परिचय पाउन थालेका छन् आजकल । पहिलेभन्दा व्यवस्थित बनाइएको बसपार्कमा सुस्ताउने रंगीन बेन्च, फूलका गमला साथै देही आर्टस्ले काठमाडौं विश्वविद्यालयका विद्यार्थीसँग मिलेर पछिल्लो कलासाहित्य उत्सवका अवसरमा गरेका वाल पेन्टिङले यात्रुलाई स्वागत गर्छ । पर्यावरण, शिक्षा र युवाका सपनालाई उतारिएको सो चित्रकला हेरिसकेपछि पूर्वको नाका पुग्नुअघि चिटिक्कको पार्कभित्र लक्ष्मीप्रसाद देवकोटाको अग्लो मूर्तिले पनि उसैगरी स्वागत गरिरहेझैं लाग्छ ।
सीमा नाकाका गतिविधि र बसपार्कमा देखिने भीडभाड मात्र हेरेर काँकरभिट्टालाई बुझ्न सकिँदैन । यहाँ सञ्चालनमा रहेका रिडर्स झापा, देही आर्टस् र परिवर्तन थिएटर जस्ता संस्थाका गतिविधि नियाल्ने हो भने यस सहरको सग्लो परिचय पाउन सकिन्छ । त्यसो त दशक अघिदेखि काम गरिरहेका सुसेली साहित्य परिवार, भानु प्रतिष्ठानलगायत संस्थाले पनि आफ्ना गतिविधि जारी राखेकै छन् । रिडर्सका एक सदस्य भन्छन्, ‘पहिल्यै स्थापित संस्थाले पुरानो ढर्रा छोडेनन्, कार्यक्रममा विविधता पनि ल्याएनन् । त्यसैले काँकरभिट्टाको परिचय विस्तारित हुने गरी नयाँ ढाँचामा नयाँ काम गरेका हुन्, यी तीन संस्थाले ।’
यस वर्ष फागुनमा आयोजना हुने कला-साहित्य उत्सवमा तीनै समूहको सक्रिय सहभागिता रहनेछ ।