कौसीमा रंगमञ्च
त्यो चंगा उडाउँदै रमाइरहेको बालक र नजिकैको रूखका बीचमा के नाता छ ? नाटकको अर्को दृश्य हेर्नुस् त। त्यो बालक रूखका हाँगामा पिङ खेल्छ, रूखको टुप्पोमा पुगेर भुइँमा हामफाल्छ। यतिमै कुरा सकिँदैन। उसको जीवनभर त्यो रूखले उसलाई केही न केही दिई नै रहन्छ।
फलफूल दिन्छ, हरियाली दिन्छ। थकाइ लाग्दा सुस्ताउने छहारी दिन्छ, घर बनाउने काठ दिन्छ। नदी तर्ने डुंगा दिन्छ। त्यो बालक युवा हुन्छ, वयस्क हुन्छ, बूढो हुन्छ। ऊ आफ्नै जीवनका अनेक स्वार्थमा बाँधिन्छ। आफ्नै स्वार्थ रोप्छ, हुर्काउँछ। तर रूखसँग केही न केही माग्न गइरहन्छ। उसैको आवश्यकताका लागि रूखले सबैथोक दिन्छ— फलफूल, हाँगा, जीउ सबै। अब रूखको ठुटो मात्रै बाँकी रहन्छ। बुढेसकालमा उसका लागि सुस्ताउने चौतारी त्यही ठुटो हुन पुग्छ।
‘दयालु रूख’को यो कथालाई भर्खरै जन्मिएको ‘कौसी थिएटर’ले मञ्चन गरिरहेको छ।
अमेरिकी लेखक सैल सिल्भरस्टाइनको बालकथा ‘दी गिभिङ ट्री’कै नाट्य रूपान्तर हो यो नाटक। चित्रकथा, कविता, फिल्म, नाटकलगायत अनेक रूपमा यो कथालाई संसारभर पटकपटक भन्ने सुनाउने गरिएको छ। ५४ वर्षअघि लेखिएको त्यो कथा आज पनि उत्तिकै सान्दर्भिक छ भन्ने तथ्य कौसी थिएटर पुगेर नाटक हेर्ने जोकोहीलाई महसुस हुन्छ।
‘दयालु रूख’की निर्देशक आकांक्षा कार्कीले नै ‘कौसी थिएटर’ खोल्ने हिम्मत गरेकी हुन्। पछिल्लो समय खुलेका थिएटर भिलेज, थिएटर मल अनि गुरुकुलजस्ता नाटकघरसमेत केही समयमै बन्द भएको दृष्टान्त अघिल्तिर हुँदाहुँदै अर्को थिएटर खोल्ने उत्साह उनले कहाँबाट जुटाइन् त ?
कौसीमा कला
सेक्सपियरले भनेका छन्, संसार नै एक रंगमञ्च हो। यो भनाइलाई आधार मान्ने हो भने जीवन पनि एक रंगमञ्च हो। यसर्थ घरको कौसी पनि एक रंगमञ्च नै हो। घाम ताप्दा, लुगा सुकाउँदा, प्रेम वा झगडा गर्दा, कौसीमा जीवनको नाटक त चलिरहेकै हुन्छ।
जीवन बाँच्ने नाटक सधैं चल्ने त्यही कौसीमा नाटकघर खोल्दा के होला ? हो, त्यसपछि त्यहाँ बाँच्ने नाटकभन्दा धेरै खेल्ने नाटक हुन्छ। नाट्यकर्ममा जुटिरहेका साथीहरू भेला हुन र नाटककै काम गर्न एउटा अफिस खोल्ने कुरो थियो सुरुमा। आफिस बनाउन आफ्नै घरको कौसी रोजिन्, आकांक्षाले। आफिस खोल्ने क्रममै आकांक्षाको आकांक्षाले नयाँ उडान लियो। थिएटर नै किन नखोल्ने ?
मनोविज्ञानमा स्नातकोत्तर गरेकी आकांक्षाले केही निजी स्कुलमा मनोवैज्ञानिक परामर्शदाताका रूपमा जागिर पनि गरिन्। स्कुलहरूमा नाटक सिकाउने काम पनि गरिन्। तर, त्यसले मात्र नाटकप्रतिको रुचि पूरा गर्न सकेन। यसैबीच मण्डला थिएटरलगायत अरू थिएटरमा नाटक गर्ने कोसिस पनि जारी थियो।
भारतबाट पढाइ सकेर फर्किएकी साथी गुञ्जन दीक्षितसँग सहकार्य हुन थालेपछि उनीहरूले ‘कथाघेरा’ नामको एउटा समूह गठन गरे। कथा सुन्ने, सुनाउने र नाटकमै काम गर्ने उद्देश्यले यो समूह गठन गरिएको थियो। त्यसैका लागि कौसीमा अफिस बनाउँदा बनाउँदै ‘कौसी थिएटर’ जन्मियो।
‘दुईवटा थिएटर भर्खरै बन्द भएको अवस्थामा नयाँ थिएटर नै किन नखोल्ने भन्ने कुरा आयो’, उनले सुनाइन्, ‘तर, घरकै कौसीमा थिएटर खोल्ने भएपछि घरमा सल्लाह त गर्नैपर्यो।’ बुवा नेपाली सेनाका सहायक रथी इन्जिनियर, आमा मेडिकल डाक्टर। उनका बुवा सन्तोष कार्की भन्छन्, ‘सुरुमा त अप्ठ्यारो पनि लागेको थियो। के हुने हो, कसो हुने हो भन्ने डर थियो तर छोरीको रुचिमा दक्खल दिन मन लागेन।’
यसरी परिवारबाट ‘ग्रिन सिग्नल’ पाएपछि थिएटरले कौसीमै बास पायो।
घरमा आकांक्षाले कुनै किसिमको बारबन्देज बेहोर्नु परेन। तैपनि छोरीले नाटकको चक्कर छाडेर कुनै प्राविधिक विषय पढिदिए हुन्थ्यो भन्ने बुवाआमाको इच्छा छँदै थियो। भारतको क्राइस्ट युनिभर्सिटी, बैंग्लोरबाट ‘पर्फमिङ आर्ट’ विषयमा स्नातक गरेकी आकांक्षाले परिवारकै मन राख्न पनि मनोविज्ञानमा एमए गर्नुपर्यो।
क्राइस्ट युनिभर्सिटीमा पढ्दा जितेका पुरस्कार, नाटक गर्दाको आनन्दले फेरि उनलाई फर्काएर नाटकमै ल्यायो। आकांक्षाको आकांक्षाले जित्यो। घरको कौसीमै थिएटर खुलेपछि समाजका प्रतिष्ठित लेखक, कलाकार लगायतका व्यक्ति नाटक हेर्न आउन थाले। अहिले उनका बुवा सन्तोषको भनाइ छ, ‘छोरीले सुरुमा नाटकतिर ध्यान दिएको देख्दा अत्यन्तै पीर परेको थियो। पछि जागिर पाउन गाह्रो हुन्छ होला भन्ने लाग्थ्यो। तर, अहिले आकांक्षाको बुवा भनेर चिनिन पाउँदा अत्यन्तै गर्व लाग्छ।’
डाक्टर, इन्जिनियरको मात्र इज्जत हुन्छ भन्ने ठानिने जमाना बदलिएको महसुस अकांक्षाको परिवारलाई भएको छ। कला, साहित्य, पत्रकारिताजस्ता क्षेत्रमा काम गर्नेको इज्जत र चर्चा हुने समय आएको ठम्याइ उनीहरूको छ। त्यसमाथि थिएटरमा विभिन्न तह र तप्काका मानिसको जम्काभेट भएको देखेर उनीहरू दंग छन्।
नाटकघर खुलेपछि छोरीको व्यस्तता र उत्साह बढेको छ। घरको कौसीमै दौडधुप देखेपछि बुवाआमाले आकांक्षाको उत्साह नदेख्ने कुरै भएन। बुवा भन्छन्, ‘छोरी विदेश नजाओस् भनेर नै उसले चाहेको कुरामा लगानी गरेको हुँ। हाम्रो सम्पत्ति सबै सन्तानलाई बराबर दिने विचार गरेका छौं।’
आमछोरीहरूले जस्तो छोरा र छोरीको विभेद बेहोर्नु परेन आकांक्षालाई। घरकै कौसीमा थिएटर खोलेपछि उनलाई अझ धेरै यो तथ्य महसुस भएको छ। उनी भन्छिन्, ‘पैतृक सम्पत्ति, जग्गा, जमिन सबै छोराको हो भनेर सोच्ने समाजमा मेरो परिवारले मलाई घरको कौसीकै जिम्मा र स्वामित्व दिनु मेरो लागि ठूलो अवसर हो।’
योनीका कथा भन्दाभन्दै
‘दयालु रूख’मा कलाकारहरू रूख बनेका छन्। हाँगा, पात र रूखको ठुटो बनेका छन्। रूखका हाँगामा खेल्दै गरेको बालक हुर्केर रूखबाट पर जान्छ। जबजब केही चाहिन्छ, फर्केर रूखसँगै आउँछ।
४ कक्षामा पढ्दादेखि नै नाटकमा खेल्न थालेकी अकांक्षा पनि पढाइका क्रममा पटकपटक नाटकबाट टाढा भइन् र फेरि फर्केर नाटकमै आइपुगिन्। हजुरबुवाले उनलाई भनेका थिए, ‘बिहे गर्न मन छैन भने नगर नानी, तर आफूलाई मन लागेको काम गर।’ उनी अन्ततः मन लागेको कामका लागि कौसी थिएटरसम्म आइपुगिन्।
अमेरिकी नाटककार इभ एनेस्टरको नाटक ‘भजाइना मोनोलग्स’ नेपालमा प्रदर्शन गर्ने सुरुआत आकांक्षाले नै गरिन्। ‘योनीका कथाहरू’ नाम दिइएको यो नाटक हरेक वर्ष नारी दिवसको दिन प्रदर्शन गरिन्छ। एनेस्टरले सन् १९९६ मा लेखेको यो नाटक करिब एक सय ३० देशमा हरेक वर्ष प्रदर्शन गरिन्छ।
सुरुमा उनले एनेस्टरको नाटकलाई नेपालीमा अनुवाद गरेर प्रदर्शन गरिन्। उनका अनुसार ‘योनीका कथाहरू’ महिलाको यौनिकतासँग जोडिएका त्यस्ता वास्तविक कथा हुन्, जो लुकेर रहेको छ। यो नाटकमा महिलाको यौनिकतासँग सम्बन्धित कथालाई मनोवादका रूपमा प्रस्तुत गरिन्छ।
‘नेपालमा महिलाले भोग्ने लैंगिक विभेदको अवस्था अझै दर्दनाक छ’, उनले भनिन्, ‘संस्कृति र परम्पराका नाममा महिलाले भोग्नु परेको पीडालाई नाटकबाट सम्बोधन गर्नु हाम्रो काम हो।’ अब त ‘योनीका कथाहरू’ मात्र होइन, उनको कौसी थिएटरमा अरू धेरै नाटक मञ्चन हुनेछन्। त्यसैले नाटक समाजसँग जोडिनुपर्नेमा उनी सचेत छिन्।
‘नेपाली नाटकमा पात्रको मनोविज्ञानलाई अझै ध्यान दिइएको छैन,’ उनी भन्छिन्, ‘कलाकारले नाटकका पात्रको मनोविज्ञान बुझ्न जरुरी छ।’ त्यसका लागि समाजका समस्या नाटकले उठाउनुपर्ने र पात्र पनि समाजबाटै टिप्नुपर्ने उनको बुझाइ छ। उनको तर्क छ, ‘समाजका समस्या बाहिर ल्याउन र समाधानको बाटो पहिल्याउने भूमिका नाटकले खेल्न सक्छ। अनि मात्र नाटक पनि समाजको प्रमुख अंग बन्न सक्छ।’
कौसी थिएटरले समाजसँग जोडिन कति काम गर्छ ? त्यो त हेर्न बाँकी नै छ। ‘दयालु रूख’सँगै भर्खरै जन्मिएको यो थिएटरले समाजलाई आफूतिर आकर्षित गर्न सकोस्। अल्पायुमा बन्द भएका थिएटरको नियति भोग्न नपरोस्।