ट्रायल दिनुभन्दा आगाडि जान्नपर्ने कुराहरु
काठमाडौं : सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिने सोचमा हुनुहुन्छ भने विभिन्न सीप र ज्ञानबारे जानकारी लिनुपर्ने हुन्छ । यातायात व्यवस्था ऐन २०४९ को दफा (४९) को उपदफा (१) को व्यवस्थामा यी कुराहरू उल्लेख गरिएका छन् । कतिपय अवस्थामा सामान्य कुरामा ध्यान नपुर्याउँदा ट्रायलमा अनुत्तीर्ण हुने गरेका छन् । त्यसैले सवारीचालक अनुमति पत्र लिनका लागि केही कुराहरूमा ख्याल गर्नुपर्ने हुन्छ ।
दायाँ र बायाँ कुनातर्फ सजिलै र सुरक्षित ढंगले मोड्नुपर्छ । आकस्मिक वा अन्य आवश्यक अवस्थामा सवारीसाधन उपयुक्त स्थानमा सुरक्षित रूपमा रोक्नुपर्छ ।
सवारीसाधन चलाउँदा अन्य क्रियाकलापबाट ध्यान भंग हुन नदिने र प्रिजेन्स अफ माइन्ड प्रदर्शन गर्नुपर्छ ।
ट्राफिकलाइट र प्रहरीको संकेत पालना गर्ने र अरु सडक प्रयोगकर्ताले दिएको संकेतको ठिक ढंगले पालना गर्नुपर्छ ।
पैदलयात्रुले बाटो क्रस गर्ने ठाउँहरूमा उपयुक्त व्यवहार देखाउनुपर्छ । सवारीसाधन रहेका हाते वा विद्युतीय संकेतहरूको स्पष्ट र बिनागल्ती ठिक समयमा ठिक संकेतको प्रयोग गर्नुपर्छ । ट्राफिक र सडकको अवस्थाअनुसार सवारीसाधनको गतिलाई सन्तुलित राख्नुपर्छ ।
ठाडो उकालोमा ह्यान्ड ब्रेक वा एक्सिलेरेटर र गोडाको ब्रेक प्रयोग गरी सवारीसाधनलाई पछाडि सर्न नदिई रोक्न र पुनः सञ्चालन गर्न सक्नुपर्छ ।
ओरालोमा जाँदा तल्ला गियरहरूमा सीघ्र परिवर्तन गर्नसक्ने क्षमता हुनुपर्छ । पछाडिको गियर प्रयोग गरी सवारीसाधनलाई सीमित चौडाइको सडकमा दायाँ र बायाँ तर्फबाट फर्काउँदा पूर्ण नियन्त्रणमा उपयुक्त तरिकाले फर्काउन सक्नुपर्छ ।
ट्राफिक अवस्थाले माग गरेको बेलामा उच्च गियरबाट तल्लो गियरमा सीघ्र परिवर्तन गर्नुपर्छ । सवारीसाधनमा रहेका एक्सिलेरेटर, क्लच, गियर, ब्रेक (हाते र गोडाको), स्टेरिङ र हर्नको ठिक ढंगले प्रयोग गर्नुपर्छ । आवश्यक परेको खण्डमा स्टेरिङ, सहज गियरको परिवर्तन र ब्रेकको प्रयोग गरी सवारीसाधनमा नियन्त्रण कायम गर्नुपर्छ ।
लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुने अवस्था
१) सिट बेल्ट प्रयोग नगरी, पछाडि तथा दायाँ बायाँ हेर्ने सिसाको परीक्षण नगरी, साइडलाइटको परीक्षण नगरी सवारीसाधन स्टार्ट गरेर अगाडि बढाएमा ।
२) चित्र आठमा तोकिएको लाइनभन्दा बाहिर सवारीसाधन लगेमा
३) स्पिड ब्रेकरमा सवारीसाधन रोकेमा वा स्टार्ट बन्द भएमा
४) यूटर्नमा साइडलाइटको प्रयोग नगरेमा
५) ट्राफिक संकेतको प्रयोग नगरेमा
६) र्याम्पको चढाइमा रोकेर अगाडि बढाउँदा सवारीसाधन ६ इञ्चभन्दा बढी पछाडि फर्र्काएमा
७) ग्यारेज पार्किङ गर्दा तोकिएको लाइनभन्दा बाहिर सवारी गएमा
८) दुई वा दुईभन्दा बढी पटक सवारीको स्टार्ट रोकिएमा
९) ट्रायलका सबै तरिका पार गर्न दश मिनेटभन्दा बढी समय लगाएमा