पहिरोले घर पुर्दा दुईजनाको ज्यान गयो, तीन घाइते
जाजरकोटः अविरल बर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाँउपालिका– ६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ । भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार ५५ वर्षीया ललि बुढा र उनकै नातिनी ९ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको छ ।
घरमुली भक्तबहादुर बुढाको घर पहिरो विहीवार राति ११ बजेतिर सुतिरहेको अवस्थमा एक्कासी पहिरो आउँदा उक्त घटना भएको हो ।
घरमुली भक्तबहादुर , उनकै नाती १३ वर्षीय पारस बुढा र ७ वर्षीया नातिनी खिमा बुढा घाइते भएका छन् । घाइतेमध्ये अन्यको अवस्था सामान्य भएपनि खिमाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक रवीन्द्रबहादुर सिंहले बताए ।
मृतकको पोष्टमार्टम र घाइतेलाई थप उपचारका लागि सदरमुकाम ल्याउने तयारी भइरहेको छ । ईलाका प्रहरी कार्यालय गर्खाकोटबाट शुक्रवार गएको प्रहरी टोलीले चार घण्टा लगाएर दिउँसो साढे एक बजे मात्र मृतकको उद्धार गरेको थियो ।