केसीलाई भेटेपछि देउवाले भनेः सरकारले प्रतिष्ठाको विषय नबनाओस्
काठमाडौँः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २१ दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर भेटेका छन् । शुक्रबार अपरान्ह शिक्षण अस्पताल पुगेर केसीलाई भेटेपछि देउवाले उनका माग सबै नेपालीका भएकाले पुरा गर्न कन्जुस्याइँ गर्न नहुने जिकिर गरे ।
उनले केसीका माग पुरा नगरेकोमा कांग्रेसलाई मात्र दोष नदिन पनि आग्रह गरे । ‘सुशील कोइराला प्रधानमन्त्री हुँदा एमाले पनि सरकारमा थियो । त्यही समयमा माथेमा आयोगको रिर्पाेटको आधारमा केसीसँग सहमति गरेरै चिकिसत्सा शिक्षा अध्यादेश ल्याइएको हो’, उनले भने, ‘त्यो अध्यादेश जस्ताको त्यस्तै पास गर्नुपर्ने उहाँको जायज हो ।’
देउवाले केसीको जीवन बचाउने कर्तब्य सबैको भएको पनि जिकिर गरे । ‘नेपालमा मेडिकल शिक्षाको भविष्यको लागि उहाँको माग महत्वपूर्ण छ । मेडिकल शिक्षाको स्तर कायम गर्ने गरी सर्वाेकृष्ट बनाउन उहाँको अभियानलाई हामीले सहयोग गर्नुपर्छ’, देउवाले भने,
सरकारले केसीका मागलाई प्रतिष्ठाको रुपमा हेर्न नहुने पनि उनले बताए । ‘सरकारले केसीका मागलाई प्रतिष्ठाको विषय बनाउनु हुँदैन’, उनले भने, ‘केसीको जीवन बचाउनतर्फ लाग्नु पर्छ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर पनि आफूले केसीको जीवन बचाउनका लागि आग्रह गरेको बताएका छन् ।