झुक्याएर मिर्गौला आफ्नै बाबुलाई प्रत्यारोपण, छोरा पक्राउ
भक्तपुर: झुक्याएर मिर्गौला झिकी आफ्नै बाबुलाई प्रत्यारोपण गराउने मुख्य अभियुक्त मानिएका २४ वर्षीय आशीष बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-२ टुकुचाका २९ वर्षीय कुमार गिरीको मिर्गौला झिकेर कानेपोखरी गाउँपालिका-१ मोरङ स्थायी घर भई हाल भक्तपुर नगरपालिका-१ सल्लाघारीमा डेरा गरी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई प्रत्यारोपण गराई फरार रहेका उनका छोरा आशीषलाई प्रहरीले तीन महिनापछि बानेश्वरबाट पक्राउ गरेको हो ।
पीडित कुमारलाई ललाइफकाई, प्रलोभनमा पारेर थर्कबहादुरको छोरा हो भनी कीर्ते कागज र छाप प्रयोग गरी मिर्गौला झिकेर थर्कबहादुरलाई प्रत्यारोपण गराएको घटना बाहिर आएपछि प्रहरीले उनलाई पक्राउ गरे पनि छोरा आशिष भने फरार रहेका थिए ।
मानव शरीर अंग प्रत्यारोपण र सरकारी छाप कीर्ते मुद्दा दर्ता भएकाले पक्राउ परेका आशिषलाई आजै भक्तपुर जिल्ला अदालतमा पेश गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिए ।