फेसबुकमा साथी बनाएर यौन दुराचार, स्विडेनका ६६ वर्षीय नागरिक पक्राउ
काठमाडौं: बाल यौन दुराचारको आरोपमा स्वीस नागरिक ६६ वर्षीय पिटर क्रिश्चयन ल्याङ्गेन्डोर्फलाई प्रहरीले भक्तपुर सिद्धपोखरीबाट पक्राउ गरेको छ । काठमाडौं र भक्तपुरका १६ वर्ष मुनिका किशोरलाई यौन दुराचार गरेको आरोप उनीमाथि छ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पिटरले फेसबुकमार्फत साथी बनाई आर्थिक प्रलोभन देखाएर यौन दुराचार गर्दै आएका थिए । नेपालमा आठ वर्षदेखि बसोबास गर्दै आएका पिटरले बौद्धस्थित चुच्चेपाटीमा ट्रिगर इन र भक्तपुरको दरबारस्वायरमा वेलकम हेरिटेज इन होटलमा पार्टनरसिपमा सञ्चालन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार पिटरले नाबालकलाई विद्यालयमा पढ्ने खर्च दिने भन्दै २० हजारदेखि ५० हजार रुपैयाँ दिएर होटलमा बोलाई यौन दुराचार गर्दै आएको अनुसन्धानबाट खुलेको छ।
रसुवाको लाङटाङ एजुकेशन प्रोजेक्ट र इडियु–कोर स्वीस नेपाल नामक संस्थासमेत सञ्चालन गर्दै आएका पिटरले चुच्चेपाटीमा रहेको एक होटलमा किशोरहरुलाई बोलाएर यौनदुराचार गर्दै आएका थिए।
एक वर्ष यता बाल यौन दुराचारको आरोपमा प्रहरीले पाँचजना विदेशी नागरिकलाई पक्राउ गरिसकेको छ। यसअघि केन्द्रीय अनुसन्धान ब्यूरोले यौन दुराचारकै आरोपमा क्यानेडेली पिटर जोन डालग्लिस, अष्ट्रेलियन नागरिक केन्डलेर मार्कुस, नेदरल्याण्डका हेनरिकस एड्रिनस र जर्मन नागरिक ह्यान्स जुगेन गुस्तभ डम्सलाइ पक्राउ गरिसकेको छ। ब्यूरोले पक्राउ गरेका सबै पुर्पक्षका लागि केन्द्रीय कारागार चलान भइसकेका छन् ।