झरिरहेछ पानीको मुसलधार आगो
झर झर झर
झर झर झर
झरिरहेछ पानीको मुसलधार आगो
डढिरहेछन् आवाजका कागजमा लेखिएका
व्यथापूर्ण कथाहरू
भावपूर्ण गीतहरू
यस झरीमा, पीडाहरू पिँढीमा टुक्रुक्क बसेका छन्
लाचारीहरू अँगेनाछेउ धुवाँसित जुँध्दैछन् यस पल–
रुझेका छन् जीवनका भाकाहरू
निथ्रुक्क छ सधैंको चहलपहल
बाटोतिर
चौतारीतिर ।
झर झर झर
झर झर झर
झरिरहेछ पानीको मुसलधार आगो
छानामाथि वर्षात्ले प्रहार गर्छ
पातहरूमाथि पानीको चित्कार सुनिन्छ
ढुक्क छन् कुखुराका चल्लाहरू माउको ओतमुनि
छ शान्त निदालमा परेवाको जोडी !
बरु थाहा पत्तो छैन
कतै भेलबाढीले खुसीको घरआँगन भत्काएको
कतै चट्याङगले सपनाको संसार चुटेको
कतै निलेको वर्षात्ले थुप्रै चिच्याहटहरू
यस पल
उँधोमुन्टो चमेरोझैं झुन्डिएको छ हुस्सु
बढ्दै छ वरिपरि अँध्यारो ।
झर झर झर
झर झर झर
झरिरहेछ पानीको मुसलधार आगो
भित्रभित्रै अभावको पहिरो छ
आपत्विपत्को हावाहुरी छ
उडाएका छन् आसका छानाहरू
यस पल
तुर्लुङ छ खुँटीमा भिजेको दैनिकी
चिसो साँझमा, बूढीबज्यु गुडगुडाउँदैछन् हुक्का
बल्दैछ पानीको मसाल भोकको विरुद्ध
उफ्रिँदै छ पानीको जुलुस तिर्खाको विरुद्ध
थालिएको छ
एउटा नयाँ आन्दोलन ।
झर झर झर
झर झर झर
झरिरहेछ पानीको मुसलधार आगो
सुनिँदै छ अनौठो संगीत
तप तप तप
भुइँमा बनेका छन् खाल्डाहरू
पानीको आफ्नै सहस्र धारहरूको सेना बढ्दै छ
कुलोकुलेसो हुँदै नदीसम्म पुग्न
नदी बग्दैछ समुद्रलाई भेट्न
यस पल
विचारको पोखरीमा उठ्दै छ लहरैलहर, कि
जमेर बस्नु छैन जीवन
बग्नु छ
बग्नु छ
बग्नु छ ।