‘सहरको समाचार’ पढ्दा
कविता र यसको लघुतम प्रभेद हाइकुका साथै गीत, गजलमा पनि निरन्तर कलम चलाउँदै आएका स्रष्टा हुन् सुनील पुरी। आज तिम्रो सम्झनामा (गीतसंग्रह २०५७) र गाभा (हाइकुसंग्रह २०७२) पछि प्रकाशित सहरको समाचार (२०७३) फुटकर कविताहरूको संग्रह हो। यस संग्रहमा छोटा छोटा ३६ कविता अटाएको छ।
‘भोकको गृहप्रवेश’, ‘घर छाड्न नसक्दामा’, ‘भोक र विचार’लगायत कविताको मूल कथ्य गरिबीको चित्रण हो। समय गरिब छ, हामी गरिब छौं र देशको अवस्था पनि उस्तै छ भन्ने मूलभाव नै यस कविताको सार हो। ‘कविता’ शीर्षक कवितामा माताप्रतिको अगाध आस्थाभाव मुखरित भएको देख्न सकिन्छ। कवितामा मातृबात्सल्य र ममतालाई उतार्न सकिँदैन, उनी साक्षात् भगवतीकी प्रतिरूप हुन् भन्ने मूल भाव यस कवितामा अन्तर्भूत छ। ‘रूपान्तरण’ शीर्षकको कवितामा पुरातन संस्कृतिप्रति आस्था तथा मोह र युद्धप्रति वितृष्णा जनाइएको छ।
‘सहरको समाचार’ संग्रहअन्तर्गतको शीर्ष कवितामा सहरी सभ्यताप्रति व्यंग्य गरिएको छ। सहरमा कविहरू छन्, साहित्यिक गतिविधिहरू पनि हुन्छन्। तर सहरले साहित्यको खास मूल्य र महत्व बुझ्दैन भन्ने मूलभाव यस कवितामा छ। ‘हुरी’ कवितामा हुरीलाई युद्ध, क्रान्ति वा आन्दोलनको प्रतीक मानिएको छ र विनाशकारी तŒवका रूपमा लिइएको छ। ‘कविताको तन्ना’ कवितामा कविहरूको पुस्तौनीदेखिको अभावग्रस्त जीवनलाई कथ्य बनाइएको छ। कविहरू गरिबीभित्र पनि कवितामा रमाइरहन्छन् भन्ने मूल भाव यस कवितामा अन्तर्निहित छ। त्यस्तै, ‘शब्द पुष्प’ शीर्षकको कवितामा शब्द पुष्प कविताको प्रतीकका रूपमा प्रयोग भएको छ। ‘कर्म’ शीर्षकको कवितामा गीताको कर्मवादप्रतिको आस्था दर्शाइएको छ।
‘अक्षरमा नेपाल’ र ‘रंगमञ्च’ कविताले कविको राष्ट्रवादी भावना र देशप्रेमलाई संकेतन गरेको छ। ‘मैनबत्तीको मन’ कवितामा जलिरहेको मैनबत्तीसँग मानवमनलाई तुलना गरिएको छ। ‘स्वप्नको बाटो’ शीर्षकको कवितामा स्वप्नलाई निरर्थकताको प्रतीक मानिएको छ। वस्तुतः स्वप्नको कुनै बाटो हुँदैन भनिएको छ। ‘प्रार्थना’ कवितामा धर्मले नै शत्रुता निम्त्याएको हुन्छ भन्ने कुरा संवहन गरेको छ।
‘धतुराका फूलहरू’ कवितामा नवजात छोरीलाई जूनको उपमाका रूपमा र जूनलाई छोरीको रूपकका रूपमा ‘जून र छोरी’ कवितामा प्रस्तुत गरिएको छ भने ‘धर्ती र धुलो’ कवितामा माटोको महिमामाथि प्रकाश पारिएको छ। ‘अबुझ सहर’ कवितामा सहरको स्वार्थी र विकृत अवस्थाको चित्रण छ। ‘कविता र जीवन’मा मूलतः कविको जीवन शैली र उसको मर्म दर्शाइएको छ। ‘बच्चाको कविता’मा बालस्वभाव र तिनको भाषिक क्रियाकलापप्रतिको आकर्षण दर्शाइएको छ। कविले बालभाषालाई कवितासँग तुलना गरेका छन्। ‘बुजु्रक र पात्रहरू’मा मानवभित्रका विविध चरित्रको उद्घाटन छ। ‘परिवर्तन’मा जीवन मरणशील छ भन्ने शाश्वत् कुरालाई दर्शाइएको छ। ‘कुचोको कथा’मा कुचोको महत्व दर्शाउँदै यसलाई विकृति, विसंगतिको धुलो बढार्ने प्रतीकका रूपमा लिइएको छ।
सहरको समाचार कृतिअन्तर्गतका सबै कविता मुक्तलय ढाँचामा छन्। यी कविता थोरै शब्दका माध्यमबाट धेरै कुरा भन्न सक्षम छन्।
‘समयको विरोधमा’ समयलाई सत्ताको, तानाशाहको, अधिनायकको, साम्राज्यवाद र विस्तारवादको प्रतीकका रूपमा दिइएको छ। ‘अर्को बुद्धको जन्म’मा बुद्धको खास विचार बन्दी अवस्थामा रहेको छ भन्ने वर्णन छ। ‘अवशेष’मा मान्छेले स्वार्थका खातिर धर्म र सत्य पनि बिक्री गरेको छ भन्ने मूलभाव अन्तर्निहित छ। ‘फेरिएको कथा’ कवितामा हत्या, हिंसा, दुर्घटना, चोरी, डकैतीले व्याप्त वर्तमानको चित्रण छ। ‘समयचक्र’मा युद्धविराम र शान्तिसुरक्षा एवम् निर्भयताको चाहनालाई कथ्यका रूपमा वरण गरिएको छ। ‘अभिनय’मा जीवनचक्रका बाल्यकाल, यौवनावस्था र वृद्धावस्था आफैंमा सांसारिक मञ्चका अभिनय हुन् भन्ने दर्शाइएको छ। ‘एक दिन’मा समयको गतिमा जीवन हिँड्छ र अन्ततः समयकै गतिमा जीवनको अवशान पनि हुन्छ भन्ने मूलभाव छ। ‘मृत्युको पर्खाइ’मा मृत्यु अवश्यम्भावी छ भन्ने जान्दाजान्दै पनि मान्छे कमाउने होडबाजीमा लागिरहन्छ, अन्ततः त्यसको कुनै अर्थ हुँदैन भन्ने भाव कथ्यका रूपमा रहेको छ।
‘कथा नायक’मा हामी सबै कथाका पात्र हौं, जो नायक बन्न पनि चाहन्छौं भन्ने भाव पाइन्छ। ‘जीवनदर्शन’मा कविले जीवन र आँसुको सम्बन्धलाई प्रतिविम्बित गरेका छन्। ‘रुखको हत्या’ शीर्षकको कवितामा मूलतः प्रकृति संरक्षणको सन्देश दिइएको छ। यस संग्रहको अन्तिम कविता ‘प्रश्न सुनील पुरीलाई’ले जीवनको क्षणनश्वरतालाई इंगित गरेको छ। काल अदृश्य रूपमा हामीसँग नै रहेको हुन्छ र कुनै पनि समयमा हाम्रो मृत्यु हुन सक्छ भन्ने भाव यसमा अन्तर्भूत छ।
सहरको समाचार कृतिअन्तर्गतका सबै कविता मुक्तलय ढाँचामा छन्। यी कविता थोरै शब्दका माध्यमबाट धेरै कुरा भन्न सक्षम छन्। संस्कृतमा एउटा उक्ति छ– ‘मितम् च सारम् च वचो हि वाग्मिता’ अर्थात् थोरैमा र सारमा भन्न सक्नु नै बुद्धिमानी हो। कवि सुनीलका कवितामा यस उक्तिको आशयले अक्षरशः सार्थकता पाएको देख्न सकिन्छ। यस संग्रहअन्तर्गतका अधिकांश कवितामा सामाजिक मूल्य र मान्यताको स्खलन तथा विकृति, विसंगति र विद्रूपताको बढ्दो अवस्थाप्रति चिन्ता व्यक्त गरिएको छ। मानवीय गलत प्रवृत्तिप्रति तीव्र व्यंग्य प्रहार गरिएको पनि पाइन्छ यी कवितामा। धेरैजसो कवितामा युगीन चेतनाले कविको मनलाई प्रभावित गरेको छ। कविताको महिमा र कविहरूको जटिल किसिमको जीवनको स्वाभाविक चित्रण पनि भएको पाइन्छ केही कवितामा। वास्तवमा कवि समयसँग निकै रुष्ट देखिन्छन्।
कविका युद्धप्रति वितृष्णा, शान्तिप्रति अगाध आस्था, देशप्रेम, स्वकीय धर्मसंस्कृतिप्रति मोहजस्ता प्रवृत्तिहरू यी कवितामा प्रचुर मात्रामा भेटिन्छन्। कतिपय कवितामा पूर्वीय अध्यात्म दर्शनको प्रत्यक्ष प्रभावका प्रतिविम्बहरू देखिन्छन्। यी कवितामा आशावादी स्वरको अभाव देखिन्छ, बढीभन्दा बढी चिन्ता, निराशा, अप्राप्ति र असन्तुष्टिका भावहरू मुखरित भएका छन्। प्रस्तुतीकरणमा कविको नितान्त मौलिक शैली छ। कविले सरल प्रतीक र सुन्दर विम्बहरूको प्रयोग गरेका छन् यी कवितामा।
कवि सुनीलका यी कविताको समापन प्रायः अत्यन्त प्रभावोत्पादक ढंगले भएको पाइन्छ। प्रश्नात्मक शैली अवलम्बन गरेर कवितालाई टुंग्याउने वा कविताभित्र नै विभिन्न ढंगले प्रश्न उठाउने यिनको आफ्नै खालको विशेषता छ। समग्रमा सहरको यस संग्रहको कविताले कविलाई एउटा सशक्त कविको रूपमा उभ्याएको छ।