अर्को ग्रहमा मानव सभ्यता
अहिले विज्ञान प्रविधिको युगमा आश्चर्यजनक विचार र प्रयोगहरू देखिन थालेका छन्। समाजलाई यसैले सूक्ष्म रूपमा अगाडि बढाइरहेको छ। सन् ९० को दशकबाट सुरु भएको सूचना क्रान्तिले अहिले सबैलाई प्रभावमा राखेको छ। माइक्रोसफ्टका बिल गेट्स, गुगलका लेटी पेज, एप्पलका स्वर्गीय स्टिभ जब्स र फेसबुकका मार्क जुगरबर्गहरू नयाँ मसिहा बने। नाम, दाम र आविष्कारका धनी यी व्यक्तिहरू साहसी नयाँ युगका नेताहरू हुन्।
अब मानव सभ्यता सूचना युगबाट कृत्रिम बुद्धिको युगमा प्रवेश गरेको छ। यसलाई वल्र्ड इकोनोमिक फोरमका अध्यक्ष कार्ल स्वाभले चौथो क्रान्ति भनेका छन्। पहिलो क्रान्ति कृषि थियो भने दोस्रो र तेस्रो क्रान्ति क्रमशः औद्योगिक र सूचना क्रान्ति थिए। अब कृत्रिम बुद्धिको क्रान्ति चौथो क्रान्ति भनी पुकारिन थालेको छ। यी क्रान्तिहरूले आआफ्नो समयमा असीमित परिवर्तन ल्याए। मानव समाज रुपान्तरित भयो। अहिले यस अनिश्चयको युगका भविष्यवेत्ता मिचियो काकुले ‘दी फ्युचर अफ ह्युमनिटी, ट्रन्सफमिर्ग मार्स, इन्टर स्टिलर ट्राभल, इमोर्टालिटी र डेस्टेनी बियोन्ड अर्थ’ पुस्तक लेखेका छन्। यसमा सुदूर भविष्यमा मानव सभ्यता पृथ्वीबाट अर्को ग्रहमा जाने भविष्यवाणी गरेका छन्।
हुन त भौतिकशास्त्री स्टिफन हकिन्सले केही समयपछि मानव सभ्यता पृथ्वीमा बाँच्न नसक्ने ठोकुवा नै गरेका थिए। साधनस्रोतको अभाव, जनसंख्या वृद्धि वातावरणीय क्षय र ब्रह्माण्डीय दुर्घटनाहरूले मानव सभ्यतालाई पृथ्वीमा बाँच्न गाह्रो हुने उनको अनुमान थियो। यिनै अनुमानहरूलाई सत्य मान्दै न्युयोर्क सिटी विश्वविद्यालयका सैद्धान्तिक भौतिकशास्त्रका प्राध्यापक काकु मानव सभ्यता बहुग्रह हुने र अन्तरिक्षमा पुग्ने भविष्यवाणी गर्छन्। सन् १९५७ मा तत्कालीन साम्यवादी सोभियत संघले चन्द्रमामा पहिलोपल्ट स्पुटनिक रकेट पठाएको थियो भने सन् १९६९ मा अमेरिकाले त्यस्तै रकेट पठायो। शीतयुद्धकालमा अन्तरिक्ष अनुसन्धानका लागि तीव्र प्रतिस्पर्धा गरेका अमेरिका र सोभियत संघले यस क्षेत्रमा आफैं पनि सहयोग र प्रतिस्पर्धा गर्छन्।
दी फ्युचर अफ ह्युमनिटी पुस्तकमा सुदूर भविष्यमा मानव सभ्यता पृथ्वीबाट अर्को ग्रहमा जाने भविष्यवाणी गरेका छन्, लेखकले।
उता चीनले २०२५ सम्म चन्द्रमामा मान्छे पठाउने तयारी गरिरहेको छ। के अब मानव सभ्यता अर्को ग्रहमा जान सक्छ ? सक्छ भनेर वैज्ञानिक भिचियो काकु दाबी गर्छन्। एचवी बेल्स र इसाक एसिभोमको विज्ञान आख्यानमा मात्र सम्भव भएको यो सपना पनि अब यथार्थमा परिणत हुनेछ, जसले पृथ्वी ग्रहलाई केन्द्रमा राखेर हजारौं वर्षदेखि बनेका मानवीय भावना र ज्ञान सबै परिवर्तन गरिदिनेछ। यसले विशेष गरी धार्मिक ज्ञानलाई असान्दर्भिक बनाइदिनेछ। तारा, ग्रह र अन्तरिक्षलाई कल्पनाको भरमा पृथ्वीमा बसेर अनुमान गरेको मानव मस्तिष्कले अन्तरिक्षको प्रत्यक्ष अनुभव गर्ने कुरा लेखक काकु बताउँछन्।
आज एमाजोनका मालिक जेफ बेजोज, टेस्ला कम्पनीका इलोन मस्क र भर्जिन एअरलाइन्सका रिचर्ड ब्रान्डसनले अन्तरिक्षमा अनुसन्धानका लागि अर्बौं खर्च गरिरहेका छन्। अब अन्तरिक्ष पर्यटन पनि सम्भव हुनेछ। मान्छेले पृथ्वीलाई उपनिवेश बनायो भने अब अन्तरिक्षलाई उपनिवेश बनाउनेछ। विशेषगरी कृत्रिम वृद्धिको क्षेत्रमा हासिल गर्दै गरेको प्रगतिबाट यो सम्भव हुने ठोकुवा लेखकको छ, जसका लागि चन्द्रमालाई स्थायी आधार क्षेत्र बनाउने छ भने मंगल ग्रहलाई उपनिवेश बनउनेछ। आफैंमा सचेत कम्प्युटर अनुवंशिक रूपमा परिवर्तित र अमरता हासिल गरेको मान्छेहरूद्वारा यो सम्भव हुनेछ। यसका संकेतहरू हामी आज हलिउडमा बनेका साइन्स फिक्सन चलचित्रहरूमा देख्न सक्छौं। विज्ञानका नयाँनयाँ फेनामेनाहरूको आविष्कारले अन्तरिक्ष यात्रा सम्भव हुनेछ। केही समयपछि मानिस आफ्नो आय बढाउन सफल हुनेछ। ‘इमोटालिटी’ भनिएको यस प्रविधिले मानिसको जीवन र मृत्यु सम्बन्ध अहिले सम्मको अवधारणा नै परिवर्तन गर्नेछ। अब मानव उत्तर मानव बनेको छ। विज्ञान र प्रविधिले गर्दा उसको शारीरिक, मानसिक क्षमताहरूलाई परिवर्तन गरिएको छ। बुद्धिमान रोवर्ट मान्छेभन्दा शक्तिशाली र कल्पनाशील हुनेछ, जसबाट यो अन्तरिक्ष सभ्यताको सुरुआत हुने लेखक काकु बताउँछन्।
अहिलेको युगको विरोधाभास के हो भने मानिसहरू मेसिनजस्तै बन्न लागेका छन् भने मेसिनहरू मानिसजस्तै। अर्को ग्रहमा मानव सभ्यताको प्रवेशका लागि सभ्यताका तीन चरण काकुले उल्लेख गरेका छन्। पहिलो चरणको सभ्यतामा मानिसले सूर्यको सबै प्रकाशको उपयोग गर्नेछ। दोस्रो चरणको सभ्यतामा सूर्यका सबै ऊर्जाको प्रयोग गर्नेछ। तेस्रो चरणको सभ्यतामा सम्पूर्ण ग्यालेक्सीको ऊर्जा प्रयोग गर्नेछ, जसबाट सम्भव हुनेछ अर्को ग्रहमा मान्छेको प्रस्थान। सभ्यताका यी तीन चरणमा मान्छेले कल्पनै गर्न नसकिने प्राविधिक र क्षमताको विकास गर्नेछ। अहिले उत्तर मानवमा रुपान्तरित भइरहेको मान्छे एउटा मस्तिष्क सिग्नलको भरमा अन्तरिक्षमा बाँच्ने छ। विज्ञानका विविध क्षेत्रमा कार्यरत वैज्ञानिक र नोबेल पुरस्कार विजेता वैज्ञानिकहरूसँगको वार्तापछि तयार पारिएको यो पुस्तक भविष्यवादी काकुको नयाँ पुस्तक हो। विज्ञानका अद्भुत कुरा बुझ्न यसले सघाउने छ।
पुस्तक : दी फ्युचर अफ ह्युमनिटी
लेखक : मिचियो काकु
प्रकाशक : एलेन लेन
मूल्य : २० डलर
पेज : ३३९