पहिलेको रेल, अहिलेको रेल

पहिलेको रेल, अहिलेको रेल

यही साउन १ गते प्रधानमन्त्री केपी शर्मा ओली सरकारको राम्रो कामको पार्टी तहबाट उचित प्रचारप्रसार नभएको गुनासो गर्दै थिए। यसमा रेल ल्याउने र पानीजहाज ल्याउने कुरा पनि व्यंग्यमै उडाइएकोमा उनको चित्त दुःखाइ थियो। के केरुङ–रसुवा–काठमाडौं रेलमार्गको निर्माण बोकेको सपनालाई केवल व्यंग्यको संज्ञा मात्र दिनु न्यायोचित छ त ? प्रधानमन्त्री ओलीले देखेको यस सपनालाई विपनामा परिणत गरी यसलाई कार्यान्वयनमा ल्याउन जरुरी छ, न कि व्यंग्य मात्र।

नेपालमा अहिले रेल विकासको सपनाको चर्चा छ। म चाहिँ यसलाई रेलवेको विकासको विस्तार मात्र भएको हो भन्छु। किनभने सपना त हुँदै नभएको वस्तुको लागि देखिने परिदृश्य हो। नेपालमा रेल त आजभन्दा ९१ वर्षअगाडि नै अमलेखगन्ज तथा रक्सौलसम्म र जनकपुरबाट जयनगरसम्म दौडेको होइन र ?

ऐतिहासिक पक्ष

हामी वर्तमानको कुरा गर्छौं तर इतिहास बिर्सिन्र्छाैं। नेपालको विकासको स्वर्णदार निर्माण फर्पिङ–कुलेखानीको प्रथम पाइलट ट्रयाक रोडको निर्माण कहिले र कसले बनायो ? टेकुदेखि हेटौंडासम्मको प्रथम रोपवेको निर्माणकर्र्ता को को थिए ? काठमाडौंलाई तराईमा जोड्ने दक्षिण एसियाकै मानव निर्मित पहिलो चुरियामाई सुरुङमार्ग निर्माणकर्र्ता को थिए ?  कसको सहयोगमा टोनी हेगनलाई नै चकित पार्ने यस सुरुङमार्ग १९३४ तथा २०१५ को महाभूकम्प पनि थेगेर आफ्नो चिनारी झल्काइरहेको छ ? देशकै प्रथम चन्द्रनहर निर्माणकर्ता को को थिए ? यसैगरी अत्यन्त विकट भौगोलिक परिवेशमा परी ९१ वर्षअघि नै रेल दौडाउन कसले योगदान पुर्‍याएका थिए ? भन्ने यथार्थता उजागार गर्न इतिहासलाई सम्मान गर्दै सत्यतथ्य प्रकाशमा आउनु जरुरी छ।

माथि चर्चा गरिएका विकासका स्तम्भहरूको निर्माणका सपनाहरू १९१७ देखि नै १९२७ सम्म चन्द्रशमसेर जबराको प्रधानमन्त्री कार्यकालमा नै चित्रण गरिएको थियो। चन्द्रशमसेरले बेलायतको विकासको अवलोकन गरी नेपालमा पनि विकासका लहरहरू सञ्चालन गर्ने सपना उजगार गरेका थिए। यी विकासका द्वारहरू निर्माण गर्ने सपना साकार पार्ने कार्यान्वयनमा खटिएका थिए हाम्रै नेपाली दक्ष चिफ इन्जिनियर, बृ.क. डिल्लीजंग थापा। उनी प्रोजेक्ट चिफ भई कार्यरत थिए। जो आज नितान्त ओझेलमा छन्। उनीबारे यहाँ चर्चा गर्न मनासिव ठान्छु।

मेरा जिज्युबुवा कर्णेल गजराजसिंह थापा तत्कालीन पूर्वी नेपालको गभर्नर जनरल थिए। उनका नाति बृ.कर्णेल हर्षजंग थापाका काहिँला छोरा बिग्रेडियर कर्णेल डिल्लीजंग थापा थिए। उनले थोमसन कलेज अफ सिभिल इन्जिनियरिङ रुडभीबाट १३ जुलाई इ.स. १९११ मा उत्कृष्ट नतिजा ल्याई सिंहदरबारमा घरकाज तथा सडककाजको अभिभारा बोकी माथि उल्लेख भएका विकासका संरचनाहरू कार्यकारी प्रमुख भई सम्पन्न गरेका थिए। १९२७ मा सम्पन्न यस प्रोजेक्टमा नेपालको तर्फबाट प्रोजेक्ट चिफ चि.इ.बृ.क. डिल्लीजंग थापा तथा श्री ३ हरूको तर्पmबाट बाटो काजहाकिम पद्मशमशेर जबरा थिए। त्यस्तै रेलवे तथा एनजीआर नेपालका प्रथम जनरल म्यानेजर लोकोमोटिभ इन्जिनियर सरदार टेकजंग थापाले योगदान पुर्‍याएका थिए। सरदार टेकजंग थापा बृ.क. हर्षजंग थापाका छोरा तथा बृ.क. डिल्लीजंग थापाका भाइ हुन्, जसले दक्षताका साथ प्रथम एनजीआरको जनरल म्यानेजरको अभिभारा पूरा गरे।

लालकोठीलगायत वीरगन्जको रेलवे कार्यालय तथा निवासका भवनहरू दुर्गन्धमय शौचालयमा परिणत भएको देख्दा मलाई अत्यन्त दुःख लाग्यो।

एनजीआर नेपाल गभर्मेन्टको रेलवेको जन्म १९२७ मा नै भएको हो, जसको सेवा १९६५ सम्म कायम थियो। यस रेलवेको लाइन अमलेखगन्जबाट वीरगन्ज हुँदै अन्तिम स्टेसनको रूपमा भारतको रक्सौलसम्म ४७ किलोमिटर लम्बाइमा निर्माण भएको थियो। यस एनजीआरमा सातवटा लोकोमोटिभ्स, १२ वटा कोचहरू त्था ८२ बटा ‘बायगनस’ थिए, जुन बेलायतबाट निर्यात भएका थिए।

यसैगरी १९९७ मा जनकपुरदेखि जयनगरसम्म विशेषगरी जयनगरमा काठ पैठारी गर्न कार्गाे रेलवेको २० माइल लामो रेलवेको निर्माण भएको थियो।

यसरी यी रेलवे निर्माण गर्दा हाकिम तथा प्रोजेक्ट चिफ तथा जनरल म्यानेजर तथा अन्य कर्मचारीहरूलाई बस्न स्थायी सुन्दर भवनहरू पनि चि.इ.बृ.क. डिल्लीजंग थापाले निर्माण गरेका थिए। यसरी रेलवे विकासको स्वर्ण इतिहास ९१ वर्षअघि नै बोकेका यी रेलवेका लाइनहरू, संरचनाहरू तथा भवनहरू आज संरक्षण हुन सकेनन्।

मैले आफ्नो जिज्युबुवा डिल्लीजंग थापा बारेको पुस्तक लेख्ने क्रममा माथि चर्चा गरिएका स्थानहरूको स्थलगत निरीक्षण गर्ने मौका पाएँ। अमलेखगन्जदेखि वीरगन्ज हुँदै रक्सौलको रेलवे स्टेसन तथा रक्सौलमा निर्मित गोदामहरू तथा लालकोठीको नामले प्रख्यात भवन तथा कार्यालय निरीक्षण गर्दा मलाई नयाँ विकासको बाटो खोजी गर्दा इतिहास उपेक्षित भएको महसुुस भयो। सम्पूर्ण रेलवेका मेसिन, डिब्बा, रेल राख्ने संरचनाहरू बिग्रिएका छन्। धेरै हराइसके। भएका जीर्ण अवस्थामा देख्न पाइयो।

लालकोठीलगायत वीरगन्जको रेलवे कार्यालय तथा निवासका भवनहरू दुर्गन्धमय शौचालयमा परिणत भएको देख्दा मलाई अत्यन्त दुःख लाग्यो। के हामी हाम्रो इतिहासलाई सम्मान तथा संरक्षण गर्न असक्षम छौं ? म यही लेखमार्फत सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूलाई रेलवे विकासका इतिहास बोकेका यी संरचनाहरूलाई संरक्षण गरी देशको प्रथम रेलवेको म्युजियम घोषणा गरिदिनु अनुरोध गर्छु।

अन्त्यमा प्रधानमन्त्री ओलीज्यूले केरुङ–रसुवा–काठमाडौंको रेलमार्ग, रक्सौल काठमाडौं रेलमार्ग तथा काँकडभित्ता–कञ्चनपुर रेलमार्गको निर्माणको थालनी गर्ने अवधारणा ल्याएकोमा सफलताको कामना गर्छु। मातृभूमिको लागि सपना नै नदेख्ने नेताहरूभन्दा सुन्दर सपनाहरू देखी कार्यान्वयनमा पाइला चाली देश विकासमा फड्को मार्ने सरकार प्रमुखहरूलाई केवल व्यंग्य मात्रै नगरौं।


(लेखक वातावरण तथा सम्पदा अभियन्ता हुन्।)     


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.