अर्को पेले : एमबाप्पे

अर्को पेले : एमबाप्पे

रुस विश्वकपमा स्टार खेलाडीहरू फ्लप हुँदा एउटा १९ वर्षीय युवाले तहल्का मच्चाए। अग्लो शरीर, बेजोडको रनिङ र कलात्मक शैलीले उनले निकै चर्चा बटुले।

सन् १९९८ मा क्यामरुनी बुवा र अल्जेरियाकी आमाबाट जन्मिएका ती युवा स्टार हुन्, काइलिन एमबाप्पे। यी किशोर पेरिस सेन्ट जर्मन (पीएसजी) बाट व्यावसायिक फुटबल खेलिरहेका छन्। फ्रान्स राष्ट्रिय टोलीबाट रुस विश्वकप फुटबल खेलेका एमबाप्पे फ्रान्सको मुख्य हतियार बन्न पुगे। सन् २०१७ देखि सिनियर टोलीबाट खेलिरहेका एमबाप्पेको ‘स्ट्राइकिङ पावर’ बेजोडको छ। मैदानमा बल छलाउन र पोस्टमा लैजाने क्षमताले उनलाई चर्चित बनाएको छ। उनले पीएसजीका लागि दुई सिजनमा २१ गोल गरिसकेका छन्। यसैगरी फ्रान्सका लागि खेलेको २२ खेलमा अहिलेसम्म आठ गोल गरिसकेका छन्। उनी फिफा विश्वकप इतिहासमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि हुन्। रुस विश्वकपको समूहगत चरणको दोस्रो खेलमा पेरुविरुद्ध गोल गर्दै एमबाप्पेले यो कीर्तिमान बनाएका हुन्। पेरुविरुद्ध गोल गर्दा उनी १९ वर्ष एक सय ८३ दिनका थिए। उनले विश्वकप फुटबलको सात खेलमा चार गोल गरे। विश्वकप छनोट चरणका ६ खेलमा खेलमा भने जम्मा एक गोल गरेका थिए।

एमबाप्पेको परिवार नै खेलकुदमा सक्रिय रहेकै कारण उनलाई खेलकुदमा लाग्न समस्या भएन। उनका बुवा फुटबल प्रशिक्षक थिए भने आमा ह्यान्डबल खेलाडी थिइन्। यसैगरी उनका दाइ पनि व्यावसायिक फुटबलर थिए। जिरेस केम्बो इकोको नामका उनका दाइलाई सानैदेखि बाबुआमाले पालेका थिए।

एमबाप्पेले एएस ब्यान्डीबाट फुटबल कला सिके। उनी पोर्चुगल तथा रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको खेलबाट निकै प्रभावित थिए। उनले रोनाल्डोलाई नै आइडल मानेर फुटबल सिके। आफ्नो कोठाभरि रोनाल्डोको तस्बिर झुन्ड्याए। युट्युबमा रोनाल्डो खेललाई पछ्याए। एएस ब्यान्डीबाट सन् २००४ देखि २०१३ सम्म जुनियर फुटबल खेले। एएस ब्यान्डीमा लामो समय बिताएका एमबाप्पे सन् २०१३ मा अर्को फ्रेन्च क्लब मोनाकोमा आबद्ध भए। त्यहाँ उनले दुई वर्ष बिताए। मोनाकोबाट जुनियर फुटबल खेल्दाखेल्दै उनी क्लबको सिनियर बी टोलीमा पर्न सफल भए। एक वर्ष बी टोलीबाट खेल्दाखेल्दै ए टोलीमा परेका उनले तीन वर्षमा खेलेका ४१ खेलमा १६ गोल गर्न सफल भए। मोनाकोबाट एमबाप्पे यही वर्ष ऋणमा पीएसजी पुगेका हुन्। एमबाप्पे मोनाकोबाट एक करोड ६२ लाख पाउन्डमा लोनमा पीएसजीमा आबद्ध भएका हुन्। उनले अघिल्लो सिजनमा २७ खेलमा १३ गोल गरेका थिए।

सानदार फिनिसिङ शैली र मैदानमा द्रुतगतिमा बल अघि बढाउन सक्ने क्षमताका कारण एमबाप्पे धेरैको नजरमा परेका छन्।

एमबाप्पेले विभिन्न क्लबबाट फुटबल खेल्दै गर्दा उनी फ्रान्सको यू–१७, यू–१९ हुँदै राष्ट्रिय टोलीमा आबद्ध हुन पुगे। राष्ट्रिय टोलीमा आवद्ध भएको छोटो समयमै उनी प्लेइङ ११ मा पर्न सफल भए।

सन् १९९८ मा फ्रान्सले घरमै भएको विश्वकप फुटबलको उपाधि जित्दा जन्मिएका एमबाप्पेले दुई पटकको उपाधि विजेता अर्जेन्टिनालाई रुस विश्वकपको प्रिक्वाटरफाइनलबाटै घर फर्काउने क्रममा दुई उत्कृष्ट गोल गरेका थिए। त्यही गोलपछि उनी हटकेक बन्न पुगे। अर्जेन्टिनाविरुद्ध गरेको दुई गोलसँगै उनले विश्व फुटबलको बादशाह पेलेको कीर्तिमानसँग पनि बराबरी गरेका छन्। ६० वर्षअघि पेलेले नकआउट चरणमा दुई गोल गर्दै कीर्तिमान बनाएका थिए। आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि तीन पटकको विश्वकप विजेता पेलेले एमबाप्पेलाई बधाइ दिएका छन्। सन् १९५८ मा पेलेले दुई गोल गरेयता विश्वकपको एकै खेलमा दुई गोल गर्ने एमबाप्पे कम उमेरका खेलाडी बन्दै पेलेको कीर्तिमानसँग बराबरी गरेका थिए। यी १९ वर्षीय एमबाप्पे क्रोएसियाविरुद्धको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाए। उक्त खेलमा उनले एक गोल गरे। विश्वकपमा आफ्नो छुट्टै छाप छाडेका एमबाप्पे उत्कृष्ट युवा खेलाडीसमेत चुनिए।

एमबाप्पे फुटबलका युवा प्रतिभाले मात्र चर्चित छैनन्। उनको मनकारी भावनाले समेत उनलाई चर्चाको शिखरमा पुर्‍याएको छ। उनले आफूले खेलेका अन्तर्राष्ट्रिय खेलबाट पाउने म्याच फि अपांगता भएका बच्चाहरूको खेलकुदका लागि प्रदान गर्दै आएका छन्। उनले राष्ट्रिय टोलीबाट फुटबल खेल्दा खेलाडीले म्याच फि लिनु उचित नभएको भन्दै आफूले पाउने रकम अपांगताका लागि प्रदान गर्ने गरेका हुन्। रुसमा जारी विश्वकपमा फ्रान्सले उपाधि जित्दा एमबाप्पेले म्याच फिबापत दुई लाख ६५ हजार पाउन्ड पाएका छन्।

एमबाप्पेप्रति अहिले संसारमा ठूला क्लबको नजर छ। इङ्लिस प्रिमियर लिगका पूर्वप्रशिक्षक आर्सेन वेंगरले एमबाप्पेलाई फुटबलका ‘ह्युज ट्यालेन्ट’ भन्दै फ्रान्सकै पूर्वखेलाडी थियरी अनरीसँग समानता रहेको बताएका थिए। यस्तै फ्रान्सकै पूर्वस्ट्राइकर निकोलस एनेल्काले एमबाप्पेको खेल हेर्दा सन् १९९६ को ओलम्पिकमा रोनाल्डोको खेलको याद दिलाएको बताएका थिए। यसैगरी आइभरी कोस्टका डिडिएर ड्रोग्वाले एमबाप्पे ‘कम्प्लिट स्ट्राइकर’ भएको बताएका थिए। उनको खेल्ने आफ्नै देशका अनरी र ब्राजिलका रोनाल्डोले जस्तै रहेको छ। सानदार फिनिसिङ शैली र मैदानमा द्रुत गतिमा बल अघि बढाउन सक्ने क्षमताका कारण एमबाप्पे धेरैको नजरमा परेका छन्।


- एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.