ब्राजिलियन गोलरक्षक एलिसन संसारकै महँगा गोलरक्षक
लन्डन : ब्राजिलियन गोलरक्षक एलिसन संसारकै सबैभन्दा महँगा गोलरक्षक बनेका छन्। उनी बिहीबार राति कीर्तिमानी रकमसहित इटालियन सिरिए क्लब रोमाबाट इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलमा आबद्ध भएका हुन्। २५ वर्षीय गोलरक्षक एलिसनका लागि लिभरपुलले आठ करोड ४५ लाख अमेरिकी डलर खर्चिएको समाचारमा जनाइएको छ।
कीर्तिमानी रकममा लिभरपुलमा आबद्ध भएपछि एलिसन पनि खुसी छन्। ‘मेरो खेल जीवनका लागि यो ठूलो उपलब्धि हो, लिभरपुलमा आबद्ध हुन पाउँदा म निकै खुसी छु’, एलिसनले भनेका छन्। भर्खरै विश्वकपमा सहभागी भएर फर्किएका एलिसनका लागि यसअघि लिभरपुलले ६ करोड २० लाख पाउन्डको प्रस्ताव अघि सारेको थियो। तर, त्यतिबेला रोमाले उक्त रकममा सहमति जनाएको थिएन।
एलिसनको टोली ब्राजिल हालै रुसमा सम्पन्न २१औं विश्वकपको क्वार्टरफाइनलबाटै घर फर्किएको थियो। सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिललाई क्वार्टरफाइनलमा बेल्जियमले २—१ गोलले हराएको थियो। ब्राजिलियन क्लबबाटै व्यावसायिक खेल जीवन सुरु गरेका एलिसन सन् २०१६ मा दुई वर्षका लागि रोमामा आबद्ध भएका थिए। उनले गत सिजन रोमाका लागि इटालियन सिरिएमा ३७ खेल खेलेका थिए।
यसअघि इटालियन क्लब युभेन्ट्सले जियानलुइगी बुफनका लागि सन् २००१ मा पाँच करोड ३० लाख युरो खर्चिएको थियो। पार्माबाट युभेन्ट्स पुगेका बुफन सन् २०१८ सम्म सोही क्लबमा रहे। उनी आगामी सिजनका लागि भने फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध भएका छन्। प्रिमियर लिग क्लबहरूले भने हालसम्म गोलरक्षकका लागि खर्चिएको सबैभन्दा ठूलो रकम चार करोड युरो हो। सन् २०१७ को जुनमा म्यानचेस्टर सिटीले बेनफिकाबाट गोलरक्षक एडर्सनलाई भित्र्याउन उक्त रकम खर्च गरेको थियो।
लिभरपुलले पछिल्लो समय ठूलो रकम खर्चिएर एकपछि अर्को खेलाडीलाई भित्र्याएको छ। यसअघि गत जनवरीमा लिभरपुलले नेदरल्यान्ड्सका डिफेन्डर भिर्गिल भान जिकलाई साउथह्याम्पटनबाट नौ करोड ९० लाख अमेरिकी डलरमा भित्र्याएको थियो। लिभरपुलले भान जिकका लागि खर्चिएको रकमसमेत कुनै पनि क्लबले डिफेन्डरका लागि खर्चिएको सबैभन्दा ठूलो रकम थियो। लिभरपुलले यसै सिजन मिडफिल्डरद्वय फाबिन्हो र नाबी केइटालाई पनि क्लबमा आबद्ध गरेको थियो। यी दुवैका लागि लिभरपुलले संयुक्त रूपमा १२ करोड अमेरिकी डलर खर्चिएको थियो।
यसैगरी सन् २०१८ मै लिरभपुलले स्विट्जरल्यान्डका स्ट्राइकर हेर्डन साक्विरीलाई पनि स्टोक सिटीबाट भित्राएको थियो। इजिप्टका प्रभावशाली खेलाडी मोहम्मद सलाहसँग लिभरपुलले पाँच वर्षको नयाँ सम्झौता गरिसकेको छ। सन् २०१७ मा रोमाबाट लिभरपुलमा आबद्ध भएयता सलाहले क्लबका लागि ५२ खेल खेल्दै ४४ गोल गरिसकेका छन्।
गोलरक्षक एलिसनले लिभरपुलमा लोरिस कारियसको स्थान लिनेछन्। गत मेमा खेलिएको च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडले लिभरपुललाई ३—१ गोलले हराउँदा लोरिसले दुईवटा ठूला गल्ती गरेका थिए। सोही गल्तीका कारण पछिल्लो समय गोलरक्षक लोरिसप्रति क्लब असन्तुष्ट देखिँदै आएको थियो। लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले पनि क्लबले सही व्यक्तिलाई गोलरक्षकका रूपमा भित्र्याएको धारणा व्यक्त गरेका छन्।