नुनको बिस्कुन (फोटो कथा)
जर्मनीको वित्जेन्हाउजन सानो सहर कृषि अध्ययनका लागि प्रसिद्ध छ। त्यहाँको कृषिसम्बन्धी दित्स्ल नामक संस्थामा गएको वर्ष करिब एक वर्षका लागि काम गर्ने मौका पाएँ। कृषिसम्बन्धी संस्था भए पनि म फिल्ममेकर तथा फोटोग्राफरका लागि मिल्ने प्रोजेक्ट थियो। त्यो प्रोजेक्ट पूर्व अफ्रिकाको तान्जानिया राष्ट्रमा गई सम्पन्न गर्नुपर्थ्यो।
नेपालमै भएको भए मेरो लागि अफ्रिका जानु रुचिकर हुँदैनथ्यो होला। तर, चार वर्ष जर्मनीमा भिजुअल तथा मिडिया एन्थ्रोपोलोजी पढाइ भएका कारण पनि अफ्रिका जाने मुड बन्यो। तान्जानियाको राजधानी डोडोमादेखि दुई घन्टाको बस दूरीमा पर्छ, इडिफु गाउँ। त्यहाँ पुगेको दोस्रो दिन गाउँ घुम्ने क्रममा आमा–छोरी एजिलिडा म्वाल्एगा र मालियासँग भेट भयो। मालिया आँगनमा नुनको बिस्कुन हाल्दै थिइन् भने एजिलिडा गुइँठा बालेर कोदोको ढिँडो मस्काउँदै। बटुकामा बदाम, जंगली साग, खुर्सानी, नुन पिसेर तयार गरेको अचारजस्तो लेदो थियो। त्यो दृश्य देख्दा मलाई आफ्नै गाउँघर पुगेझैं लाग्यो।
५२ वर्षीया एजिलिडा श्रीमान् नहुँदा विवाहित छोरी मालियाको परिवारसँग बस्दी रहिछन्। मालियाको दुई छोरा र एउटी काखे बलिका छन्। उनका श्रीमान् दार एस सलाममा काम गर्छन्। मेरो आग्रहमा अनुवादकले उनीहरूसँग फोटोकथा तयार गर्ने कुरा गर्यो।
अर्धमरुभूमि इडिफुको जनजीवन कष्टकर छ। वर्षा कम हुनाले उब्जनी कम छ, यहाँ। एजिलिडाका पुर्खाहरूको पनि खेती किसानी खास पेसा होइन। उनी अहिले गाई, बाख्रा, कुखुरा पाल्छिन्। गाउँका अरू महिलासँगै बेलामौका बालुवाबाट नुन प्रशोधन गर्छिन्।
घरधन्दापछि बाल्टिन बोकेर एजिलिडा घरदेखि करिब एक घन्टा टाढा हिँडेर मरुभूमि पुग्छिन्। बाल्टिनमा पहिले एक तह गहँ, जौ आदिको छ्वाली राखिन्छ। त्यसपछि बाल्टिनको तीनचार भाग बालुवा र अन्तिममा नजिकै गहिरो खाडलबाट निकालेको पानी भरिन्छ। बालुवाले भरिएको बाल्टिनको पिँधमा मसिना प्वाल पारिएका हुन्छन्। सो बाल्टिन अर्को खाली बाल्टिनको माथि राखिन्छ। दुई बाल्टिनबीच पानी तैरिन सिन्काहरू राखिन्छ। मुनि रहेको खाली बाल्टिन करिब आधा घन्टापछि भरपूर नुनिलो पानीले भरिन्छ।
एजिलिडा नुनिलो पानी बोकेर घर फर्किन्छिन्। दुईचार दिन यही प्रक्रिया दोहोरिन्छ, जबसम्म घरमा रहेका सबै बाल्टिन नुनपानीले भरिँदैनन्। यसैबीच गुइँठा, क्यातुके, दाउरा बटुल्ने काम पनि जारी रहन्छ। नुनिलो पानी किटको ठूलो भाँडोमा राखेर उमालिन्छ। पानी बाफिएर उडेपछि भाँडामा सङ्लो नुन बस्छ। केही दिन चिसो नुन घाममा बिस्कुनझैं सुकाएपछि गाउँको हाटबजारमा बेच्न तयार हुन्छ। हाटबजारमा परम्परागत तरिकाले बनाइएको गाउँले नुनले सहरिया पाकेट नुनसँग प्रतिस्पर्धा गर्नुपर्छ।