नयाँ पुस्ता हामीभन्दा धेरै अगाडि छ : नसिरुद्दिन शाहको अन्तर्वार्ता

नयाँ पुस्ता हामीभन्दा धेरै अगाडि छ : नसिरुद्दिन शाहको अन्तर्वार्ता

आम फिल्मकर्मीभन्दा भिन्न छन्– नसिरुद्दिन शाह। पछिल्लोपटक ‘होप और हम’ नामक फिल्ममा देखिएका शाहले यस अन्तर्वार्तामा कुनै बेलाका समानान्तर फिल्मबारे कुरा गरेका छन्। साथसाथै समकालीन सिनेमा र इस्मत चुग्ताईको कामप्रति आफ्नोे सदाबहार प्रेमबारे पनि कुरा गरेका छन्। उनीसँग प्राची पिङ्गले–प्लम्बरले ‘आउटलुक’ पत्रिकाका लागि गरेको कुराकानी :


कुनै स्क्रिप्ट वा कथामा खासगरी नयाँ निर्देशक र नयाँ समूहसँग काम गर्दा तपार्इंलाई तान्ने विषय के हुन् ?

यो भन्न गाह्रो छ। म फरक–फरक समयमा फरक–फरक चिजबाट आकर्षित हुन्छु। मलाई वास्तवमै तान्ने चाहिँ स्क्रिप्टको मुटुले हो। धेरैजसो स्क्रिप्ट लोकप्रिय हुने, हँसाउने र अभिनेतालाई फिट हुने हिसाबले तयार गरिन्छन्। यस्ता स्क्रिप्टले काम गर्छन् भन्ने मलाई लाग्दैन। मैले काम गरेका र मानिसको मनमा बसेका फिल्मका स्क्रिप्ट कथा भन्नैका लागि लेखिएका थिए। तपाईं ‘आक्रोश’ (१९८०), ‘मन्थन’ (१९७६) वा ‘मासुम’ (१९८३) जस्ता फिल्मलाई उदाहरणका रूपमा लिन सक्नुहुन्छ जसले यो आवश्यकता पूरा गरे। स्क्रिप्टमा लेखकले विचारलाई ध्यान पुर्‍याएको महसुस हुनासाथ म आकर्षित भइहाल्छु। यदि लेखक चलाख मात्रै बन्ने प्रयास गरेको छ भने त कुरा बुझिहालिन्छ।

के तपाईं अहिलेको वैकल्पिक सिनेमा आन्दोलन र सन् १९७०/८० को दशकमा चलेको समानान्तर सिनेमामा केही समानता देख्नुहुन्छ ? ती सिनेमा व्यावसायिक सिनेमाभन्दा के कति कारणले फरक थिए, छन् ?

मलाई यस्तो फरक छुट्टयाउनु नै गलत लाग्छ। फिल्म भनेको कि राम्रो हुन्छन्, कि नराम्रो। ‘चक्रा’ (१९८१) वा ‘आक्रोश’ जस्ता साढे तीन लाखमै बनाइएका सफल फिल्म पनि त छन् नि। र, अर्कोतिर तीन सय करोडमा बनाइएका कमजोर फिल्म पनि छन्। मेरो विचारमा सबै फिल्म व्यावसायिक नै हुन्छन्, किनभने ती फिल्म बनाउन पैसा लागेको हुन्छ। तपाईं केवल आत्मसन्तुष्टिका लागि फिल्म बनाउन सक्नुहुन्न। त्यसकारण मलाई मनि कौलहरूले बनाएका फिल्म मन पर्दैन। सबैभन्दा पहिला त उनी राम्रो फिल्मलाई खराब नाम दिन्छन्। जब कुनै पात्र करिडोरमा १० मिनेट हिँड्छ र दृश्यको अन्त्यमा केही पनि हुँदैन, मानिसले त्यसलाई दिक्कलाग्दो दृश्य र दिक्कलाग्दो सिनेमा भनिहाल्छ। ती फिल्ममा नाटक गरेर खुब गज्जबको बनाउन खोजिएको हुन्छ। मेरो विचारमा त्यो बकवास होे। सिनेमामा नाटक गर्न सकिँदैन। अल्फ्रेड हिचककले भनेजस्तै सिनेमा दिक्कलाग्दा भाग हटाइएको वास्तविक जीवन हो।

सिनेमामा आएको डिजिटल क्रान्ति (अनलाइन भिडियो, सर्ट फिल्म, वेब सिरिज) लाई तपाईं कसरी हेरिरहनुभएको छ ?

उमम्, यो गज्जब छ। अहिले फिल्म बनाउन चाहनेहरूलाई आफ्नो क्राफ्ट जाँच्ने अनेक अवसर प्राप्त भएका छन्। निर्माता, नाम कमाएका स्टारहरू र बजेट नै नभइकन पनि उनीहरू आफ्नो चाहनाअनुसारको फिल्म बनाउन सक्छन्। मैले दुई चारवटा त्यस्ता फिल्म खेलेको छु। मैले वास्तवमै मजा लिएँ। खासमा छोटा फिल्म बनाउन निकै गाह्रो छ। यो छोटो कथा लेखेजस्तै हो। उपन्यास लेख्नभन्दा पनि कठिन। तपाईं यताउता रुमल्लिनै पाउनुहुन्न, जे भन्नु छ भनिहाल्नुपर्छ। मैले नविन कस्तुरियासँग खेलेको छोटो फिल्म ‘क्याफेः इन्टेरियर नाइट’ एक रातमै खिचिएको थियो। निर्देशक आफूले के गर्दैछु भन्नेमा ढुक्क थिए।

तपाईं आफैंमा लेखक हुनुहुन्छ। तपाईंले केही फिल्म निर्देशन पनि गर्नुभएको छ। भिन्दाभिन्दै पात्रको भूमिका निर्वाह गर्दा त्यो लेखक र निर्देशक चरित्रसँगै प्रस्तुत हुनुहुन्छ ?

म जतिसक्दो गर्छु। आफूलाई पात्रमा ढाल्ने प्रयास गर्छु। मैले आफ्नो भूमिका निर्देशकको आँखाबाट हेर्ने प्रयास गर्छु। केही काम पछि मैले सिकेको छु, अभिनय गर्नु भनेको आफ्नो भागमा लेखिएको भूमिका पूरा गर्नु हो, आफ्नो दिमागले सोचेजस्तो गर्ने होइन। जस्तै, मेरा सुरुवाती फिल्ममध्ये एक छ ‘जुनुन’ (१९७८)। त्यो साँच्ची नै राम्रो फिल्म हो तर त्यसमा भएको मेरो प्रस्तुतिलाई म घृणा गर्छु। साँच्चै नै घृणा गर्छु। मेरो प्रस्तुति एकदमै भयानक थियो। खासमा त्यो आवश्यकताभन्दा पनि बढी थियो। मैले निर्देशकको इच्छाविपरीत अभिनय गरेको थिएँ किनभने म फिल्मभरीकै सबैभन्दा शक्तिशाली पात्र बन्न चाहन्थेँ। म त्यतिबेला २६, २७ वर्षको अपरिपक्व बच्चा थिएँ। त्यसैले मलाई चाहिएभन्दा बढी गर्नुपथ्र्यो, बढी देखाउनुपथ्र्यो। त्यो गलत बाटो हो। तर मलाई लाग्छ म त्यो बाटोबाट गुज्रिनै पथ्र्यो। र, हरेकलाई यो बाटोबाट गुज्रिनुपर्छ। तबमात्र यो बाटो कति व्यर्थ छ भन्ने महसुस हुन्छ। आफूलाई आफैंले मूर्ख बनाउन डराउनुहुन्न। आफैंलाई मूर्ख नबनाउने कलाकार गतिला कलाकार बन्नै सक्दैनन्।

तपाईंले ‘नेसनल इन्स्टिच्युट अफ् ड्रामा’ (एनएसडी)मा अभिनय सिकेँ र ‘फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ् इन्डिया’मा त्यो सिकाइबाट मुक्त भएँ भनेर लेख्नुभएको छ। एनएसडीमा त्यस्तो के थियो जसले तपाईंलाई प्रभाव पार्न सकेन ?

एनएसडीको मलाई सबैभन्दा मन नपरेको पक्ष हो, उनीहरू जे पनि हिन्दीमा मात्र गर्छन्। त्यहाँ मराठी, ओरिया, मणिपुरी, मलयालम, बंगाली, तामिल पृष्ठभूमिका विद्यार्थी पनि हुन्छन् तर सबैलाई हिन्दी वा उर्दुमा प्रस्तुति दिन भनिन्छ। तीनजना मराठी विद्यार्थी मिलेर किन मराठीमै नाटक खेल्न सक्दैनन् ? यो त ‘नेसनल स्कुल अफ ड्रामा’ हो, ‘हिन्दी स्कुल अफ् ड्रामा’ त होइन। तर, एनएसडीका निर्देशक इब्राहिम अल्काजीको फर्मानका कारण हामीले सेक्सपियर, मोलियर, पिन्टर र चेखवका नाटकको झुर अनुवाद गर्नुपर्‍यो। हो झुर अनुवाद ! मलाई अनुवाद खासमा मनै पर्दैन। अनुवादले मूल पाठलाई कहिल्यै न्याय गर्न सक्दैन। अनुवादको एउटै काम भनेको त्यो भाषा नजानेकालाई सम्बन्धित काम बताउनु हो।

मैले एनएसडी (नेसनल स्कुल अफ ड्रामा) मा मैले धेरैथोक पाएँ, केवल अभिनय सिकिनँ।

एनएसडीमा मैले अभिनयबारे केही सिकिनँ। त्यतिबेला म सबथोक जानेको छु भन्ने महसुस हुने उमेरमा थिएँ। एनएसडीमा भर्ना हुँदा २० वर्षको त थिएँ। मलाई लाग्थ्यो, मलाई सबै थाहा छ। मैले सिक्न बाँकी केही छैन, म संसारकै महान् अभिनेता हुँ। त्यसकारण पनि मैले धेरै सिक्न सकिनँ तर पछि मैले हामीलाई कसरी अभिनय सिकाइन्थ्यो भन्ने पनि ध्यान दिएँ। हामीलाई एकदमै सतही कुरा सिकाइन्थ्यो – कसरी उभिने, कसरी बत्ती समात्ने आदिआदि। एनएसडीले मलाई केही दिएन भन्ने होइन। यसले मलाई आत्मविश्वास दियो, स्टेजको अनुभव दिलायो, अरूसँग तुलनै गर्न नसकिने अनुभव। यसले मलाई सोच्न सिकायो। मैले थिएटर, शास्त्रीय संगीत, गम्भीर सिनेमा, मूर्तिकला र चित्रकलाबारे थाहा पाएँ। त्यसैले एनएसडीबाट मैले धेरैथोक पाएँ, केवल अभिनय सिकिनँ।

तपाईं प्रायः नियमित रिहर्सल (पूर्वाभ्यास) मा जोड दिनुहुन्छ। फिल्म र थिएटर दुवैका लागि रिहर्सल र अभिनयबीच के सम्बन्ध छ ?

यो त निकै साधारण कुरा हो। ल भन्नुस् त, सचिन तेन्डुलकरलाई त्यस्तो महान् खेलाडी केले बनायो ? बिना कुनै अनुशासन र प्रतिबद्धता के त्यत्तिकै उत्तम खेलाडी कोही हुनसक्छ ? यदि तपाईंले सचिनसँग किन हरेक दिन अभ्यास गर्नुहुन्छ भनेर सोध्नुभयो भने उनी हाँस्नेछन् र तपाईंलाईं भन्नेछन् – बिनाअभ्यास कसरी म सफल बन्न सक्छु ? अभिनयमा पनि कुरा त्यहीँ हो।

समस्या के हो भने, धेरैजसो अभिनेता, खासगरी अभिनेताहरूलाई आफूले के गर्ने भन्ने थाहा छैन। उनीहरूलाई सही दिशा देखाउने पनि कोही छैनन्। उत्साही गायक र नृत्यकारलाई दक्षता प्राप्त गर्न के गर्नुपर्छ भन्ने थाहा हुन्छ। उनीहरूलाई बाटो देखाउने शिक्षकहरू र उनीहरूले पालन गर्नुपर्ने नियमहरू उपलब्ध छन्। अभिनेतालाई भन्ने कोसँग सल्लाह माग्ने भन्ने नै छैन। मलाई धेरैजसो विद्यार्थी अभिनेताहरूले सोध्ने गर्छन् – हामीले के गर्नुपर्छ ? कसरी गर्नुपर्छ ?

तपाईं के भन्नुहुन्छ नि ?

म उनीहरूलाई कस्तो अभिनेता बन्ने हो त्यस आधारमा दुई महत्वपूर्ण चीज सुनिश्चित गर्न भन्छु। केही बच्चाहरू अमिताभ बच्चन बन्न चाहन्छन्, केही रणवीर सिंह, केही आमिर खान त केही नसिरुद्दिन शाह बन्न चाहन्छन्। कस्तो अभिनेता बन्ने हो भनेपछि दुईवटा चीजमा ध्यान दिनुपर्छ। यदि तपाईं रणवीर सिंह बन्न चाहनुहुन्छ भने तपाईंलाई आकर्षक शरीर र प्रशस्त ऊर्जाको खाँचो पर्छ। उनी त कुहिनोले पहरा ढालिदिन्छन्। यदि तपाईं अमिताभ बच्चन बन्न चाहनुहुन्छ भने आवाज र भावुकपन चाहिन्छ। यदि तपाईं कस्तो अभिनय गर्दै हुनुहुन्छ र यो तपाईंको हातमा छैन भने कस्तो पात्र हो भन्नेमा काम गर्नुपर्छ। तपाईंको आवाज र शरीर नै सबैभन्दा महत्वपूर्ण हुन्छ। त्यहीँबाट सुरु गर्नुपर्छ।

एकजना अभिनेताको लागि आफ्नो वरिपरि, समाज र विश्वमा केही भइरहेको छ भन्ने जान्न र जिम्मेवार हुन कत्तिको महत्वपूर्ण हुन्छ ?

(हाँस्दै) अभिनेताहरू बाँकी संसारप्रति खासै चासो राख्दैनन्। अभिनय संसारमै सबैभन्दा एक्लिएको पेसा हो। यो आफैंमा मग्न हुन्छ। कमाउनका लागि मात्र अभिनय गरिँदैन। यसमा निकै रमाइलो हुन्छ। त्यसैले त हामी अभिनय गर्छौं। मजाक त छँदैछ। तपाईंले भनेको जिम्मेवारीबोध भन्ने चाहिँ तपाईं कस्तो कलाकार बन्न चाहनुहुन्छ र तपाईंको सपना कहाँ पुगेर टुंगिन्छ भन्नेमा भर पर्छ। यदि तपाईं एकदुईवटा हिट फिल्म खेलेर वातानुकूलित फ्ल्याट र एउटा फ्यान्सी कार जोड्न चाहनुहुन्छ भने बेग्लै कुरा हो। तर, यदि तपाईंको सपना त्योभन्दा ठूलो छ भने....मैले भन्न खोजेको अन्तर्राष्ट्रिय स्टार हुन्छु भन्ने होइन। यदि तपाईंको सपना एउटा लामो यात्रासँग जोडिएको छ र यो अरूको निम्ति पनि मूल्यवान् हुन्छ भने त्यो अर्कै क्षेत्र हो। एउटा हिट फिल्म बनाउनु अरूका लागि मूल्यवान् हुँदैन। तपाईंको निम्ति होला। त्यसैले यदि तपाईंका आकांक्षाहरू उच्च छन् भने तपाईं के भइरहेको छ भन्नेबारे सचेत हुनैपर्छ। तर, यदि तपाईंको आकांक्षा ‘स्टारडस्ट’ (फिल्मी पत्रिका)को कभरमा छापिनेछ भने तपाईंका प्राथमिकता अरू नै हुनेछन्।

तपाईं त नयाँ पुस्ताका अभिनेता, निर्देशकहरूसँग निकै काम गर्नुभएको छ नि !

म यो नयाँ पुस्ताको साँच्चै नै प्रशंसा गर्छु। यो पुस्ता हामीभन्दा निकै अगाडि पुगिसकेको छ। उनीहरूले धेरै अवसर पाएका छन् र जानकार पनि छन्। उनीहरू संसारभरकै सबैखाले सिनेमा हेर्न पाउँछन्। हामीले भने निकै संघर्ष गर्नुपथ्र्यो। उनीहरूले हामीले भन्दा निकै सघन जीवन बिताइरहेका छन् र अभिनयबारे हाम्रो पुस्ताले भन्दा निकै बढी जानकारी राख्छन्। यो त छलाङ हो। हरेक आउँदो पुस्तामा यस्तो हुन्छ। सम्भवतः अर्को पुस्तामात्र हाम्रो सिनेमाको अभिनय हेरेर लज्जित महसुस गर्नु नपर्ने चरणमा पुग्नेछ।

इस्मत चुगताईको जीवन र निबन्ध ‘औरत ! औरत !! औरत !!!’ मा तपाईंले देखाउनुभएको पछिल्लो प्रस्तुतिले उनीप्रति तपाईंको सम्मोहन प्रदर्शन गर्छ। कुनै गद्यलाई अभिनयमा व्यक्त गर्ने विचार कसरी आयो ? अन्तिमको ‘सोने का अन्डा’ त निकै गह्रौँ पो छ त !

उमम्। उर्दु जान्ने मानिसलाई समेत यो निकै जटिल लाग्छ। सबैभन्दा पहिला त भाषा र दृश्य नै निकै जटिल छ। यो बोध गर्नका लागि कथा नै पढ्नुपर्छ। र, यसले के बारे कुरा गरिरहेका छ भन्ने पनि बुझ्नुपर्छ... यसले त घाउमा छुरा चलाउँछ। खासगरी पुरुषहरूले यो मन पराउँदैनन्। चुगताईले सन् १९४० को दशकमा यो कथा लेखेकी थिइन् र यो अहिले पनि सत्य छ। त्यही शृंखलाको अर्को कथा, ‘सौहर की खाती’ इस्मतको एक्लो रेलयात्राको अनुभव हो। त्यो यात्रामा हरेकले उनी विवाहित हुन् कि होइनन् भन्ने जान्न चाहन्छन्। अहिले पनि यदि कोही केटी एक्लै यात्रारत छे भने मानिसहरूले सबैभन्दा पहिला ऊ विवाहित हो कि होइन भन्नेमा ध्यान दिन्छन्।

कुनै कुनै कथा भने स्टेजमा पस्किन सकिँदैन। मन्टोको कथा ‘टोबा टेक सिंंह’ अहिलेसम्म लेखिएका महान् कथामध्ये एक हो तर यसलाई स्टेजमा पस्किन सकिन्न। त्यो कथाको नामविहीन पात्रको वर्णन नै यस्तो छ, कुनै पनि अभिनेताले टन्नै शृंगारबिना अभिनय गर्नै सक्दैन। र, त्यो शृंगार त शृंगार नै देखिन्छ।

इस्मतको यो शृंखलामा खेल्नुअघि मैले उनका अन्य केही कथामा प्रयास गरेको थिएँ। तर, तीन महिना पढेपछि मैले त्यो विचार त्यागिदिएँ किनभने मैले ती कथा स्टेजमा पस्किन सकिन्न भन्ने महसुस गरेँ। तीमध्ये एउटा कथा हो, ‘हिन्दुस्तान छोड दो’। यो कथा एक अंग्रेज अधिकृतबारे छ। उक्त अधिकृत एक वेश्यासँग प्रेममा पर्छ। उसले ‘भारत छोडो’ आन्दोलनपछि राजीनामा त दिन्छ तर देश छोड्दैन। ऊ केवल गल्ली–गल्ली चहारिहिँड्छ र गल्लीमै मर्छ। यो हृदयविदारक कथा हो। तर, तपाईंले यसलाई स्टेजमा पस्किन सक्नुहुन्न। तपाईं यस्तो कथा भन्न मात्र सक्नुहुन्छ। म प्रायः त्यस्ता पाठहरूमा अडिन्छु किनभने महान् लेखकले एक वाक्यमा भनेको घटना स्थापित गर्न फिल्ममा १० मिनेट खर्चिनुपर्छ।


अनुवाद : लक्ष्मण श्रेष्ठ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.