अजिब
वास्तवमै अजिब मान्छे हो ऊ। उसको बारेमा सुनिने एउटै कुरा हो ‘साह्रै बेकामे छ त्यो।’
जगत् छ अनि जगत्मा समाज छ। समाज भएपछि कुरा त हुने नै भयो। तर, उसलाई मतलव छैन केहीको। ऊ आफ्नै लयमा हिँड्छ। उसको आफ्नै सुरताल छ। तर उसको जीवन संगीतमय छैन। बिना संगीतको जीवन सुमधुर हुने कुरै भएन। तर सबैभन्दा ठूलो कुरा त यी सबै कुरा नहुँदा पनि उसलाई केही मतलव छैन।
फक्कड, मस्तराम। उसले पाएका उपनाम हुन् यी। यसरी नाम राखिदिनेप्रति पनि उसलाई कुनै गुनासो छैन।
‘मान्छेको आआफ्नो सोच हो, मैले किन टाउको दुखाइरहने ? ’
यस्तै सोच्छ ऊ र फक्कड नै हुन मन पराउँछ। मस्तराम भएरै हिँड्न मन लाग्छ, उसलाई।
बाह्रसम्म त पढेकै हो। त्यसपछि पढ्न मन लागेन, उसलाई। बरु आफ्नै देश घुम्न मन लाग्यो। खल्तीमा पाँच सयको नोट राखेर हिँड्यो ऊ। त्यो पाँच सय पनि उसले कसैसित हात पसारेर मागेको होइन। बाउआमाको गोजीबाट झिकेको पनि होइन। एउटा रिक्सावालासँग राम्रै चिनजान थियो उसको। रिक्सावालासित कुरो मिलाएर दुई दिन कस्सेर रिक्सा चलायो। हजार रुपैयाँ कमायो। आधा रिक्सावालालाई दियो, आधा आफूले राख्यो। त्यही पैसा गोजीमा बोकेर ऊ नेपाल घुम्यो। उसलाई पचहत्तरै जिल्ला घुम्न पैसा लागेन। ऊ जहाँ गयो, गाँस र बासको केही न केही जुगाड गरिहाल्थ्यो। तर, ऊ कसैको उपकारको बोझ लिएर बस्दैनथ्यो। जुन होटेलले खाना ख्वायो, दिनभरि त्यहाँको भाँडाकुँडा मस्काइदिन्थ्यो। जुन घरले भात ख्वायो, त्यो घरको कि आँगन सफा गरिदिन्थ्यो कि उसले सक्ने अरू काम गरिदिन्थ्यो। भात ख्वाउनेलाई पनि गुनासो नहुने।
कति ठाउँ पैदलै पुग्यो, कति ठाउँ बस चढेर पुग्यो। भाडा कहाँ तिथ्र्यो र ! ऊ बसभित्र पस्थ्यो र बेसुरमा गाउन थाल्थ्यो। जोक्सहरू सुनाउँथ्यो। अनेक उल्टोपाल्टो बोलेर हँसाउन थाल्थ्यो। खलासी, ड्राइभर र यात्रु सबै मक्ख पर्थे। बस यात्रा निःशुल्क भइहाल्थ्यो। केही यात्रुहरूले दंग परेर दस, बीस दिई पनि हाल्थे। उसलाई पुगिहाल्थ्यो।
उसो त पूरापूर तीन वर्ष लाग्यो, देश घुम्न उसलाई। खर्चले गर्दा उसको यात्रा रोकिएन। बरु फर्केर आउँदा उसको खल्तीमा सुरुको पाँच सय यथावत् थियो। त्यो पाँच सय पनि उसले आफूसित राखेन। धुइँपत्ताल लगाएर त्यही रिक्सावाल खोज्यो र त्यो पाँच सय उसैलाई दियो। पाउने पनि दंग। दिने पनि दंग।
ऊ घर फर्केर आउँदा बैनीको बिहे भइसकेको रहेछ। उसको भाइले पनि नाम चलेको कलेजमा पढाउन थालिसकेको रहेछ। भाइको सफलतामा मक्ख पर्यो र भाइसित खुसी भएर भन्यो, ‘लड्डु ख्वाउँदैनस् कान्छा ? ’
भाइले वास्ता गरेन। उसले पनि चित्त दुखाएन। बरु, घर ढलान गर्ने एउटा ठेकेदारको पछि लागेर हिँडी हाल्यो। दिनभरि ज्यामी काम गर्यो, ज्याला पाइहाल्यो। साँझ घर फर्किंदा लड्डु किनेर ल्यायो र भाइको मुखमा राखिदिँदै भन्यो, ‘तेरो यसैगरी उन्नति प्रगति भइरहोस् कान्छा।’
आमा भाइको उदाहरण दिएर ऊ बेरोजगार भएकोमा गाली गर्थिन्। ऊ हाँसेर सुनिरहन्थ्यो। बाऊ उसित बोल्दै बोल्दैनथे। भन्थे, ‘यस्तो पाजी कुलंगारसित के बोल्नु ? धुन्धुकारी मोरो।’
एकदिन आमाले भनिन्, ‘घर छोडेर जा। यहाँ नबस्। आफ्नो गुजारा आफैं चला। कतै डेरा लिएर बस्।’
‘हस् आमा। गुड बाई।’
उसले यति भन्यो र आमाको पाउमा ढोगेर तुरुन्तै निस्किन तयार भइहाल्यो। अंश देऊ भनेन। झैझगडा गरेन। बरु भाइकी श्रीमतीले भनिन्, ‘खाना पाकेको छ। खाएर जानू !’
बुहारीको कुरामा नाइँ भनेन। भात खायो तर त्यो दिन घरकै भात पनि सित्तैमा खाएन। बुहारीले लुगाहरू धुन ठिक्क पारेकी रहिछन्। ऊ धारानेर गयो र भन्यो, ‘म धोइदिन्छु।’
यसरी घरको अन्तिम भात पनि उसले सित्तैमा खाएन। लुगा धोइदिएर हिसाब मिलायो।
०००
घर बनाउने कुरा उसको दिमागमै थिएन। डेरा लिने कुरा पनि सोचेन। बजारदेखि अलिक पर एउटा मन्दिर थियो। पुजारीसित केहीबेर भलाकुसारी गरेपछि कुरा मिलायो। मन्दिरको एउटा कुनामा बास पाइहाल्यो। भाडा नगद तिर्नु परेन उसले। करताल, ढोल र मन्जिरा बजाउन सिपालु थियो ऊ। त्यहाँ बसेबापत हरेक साँझ भजन गाउन थाल्यो। भजन हुन थालेपछि मन्दिरमा भक्तजनहरूको चहलपहल बढ्यो। दक्षिणा दरो आउन थाल्यो। पुजारी ऊदेखि निकै खुसी भयो।
खाइलाग्दो थियो ऊ। कसिलो ज्यान, चौडा छाती अनि वलिष्ठ पाखुरा थिए, उसका। कुनै तगडा व्यायाम नगरिकनै उसको पेटमा सिक्स प्याक तयार थियो। एकदिन मन्दिर आएकी एकजना अधबैंसे महिलाले उसलाई हेरेको हेर्यै गरिन्। मन्दिर सुनसान भएपछि ऊनिर आइन् र भनिन्, ‘म निःसन्तान छु। ममाथि कृपा गर !’
निराश पारेन उसले महिलालाई। उनले भनेको ठाउँमा सुटुक्क आठ दसपल्ट गइदियो। शरीर सुम्पियो तिनलाई। नौ महिनापछि ती महिला उसलाई खोज्दै फेरि मन्दिरमा आइन्। पेट पुक्क उठेको थियो तिनको। महिला असाध्यै खुसी थिइन्। उसको हातमा ५० हजार राखिदिँदै भनिन्, ‘म माथि ठूलो उपकार गर्यौ। म दुई जिउकी भएँ। सन्तान नभएको भनेर घरमा सबैले हेलाँ गरेका थिए। बाँझी भन्न लागेका थिए आफ्नाहरूले। तर अब म केही दिनमा नै सुत्केरी हुन्छु। घरमा सबै खुसी छन्। धन्यवाद तिमीलाई। तर एउटा कुरा सुन। मेरो बच्चा जन्मेपछि कुनै दिन पनि मलाई र बच्चालाई खोज्दै नआउनू।’
‘हस्’, उसले यतिमात्र भन्यो र ५० हजार गन्न थाल्यो।
त्यो रकम खल्तीमा राखेपछि रातभरि निद्रा परेन उसलाई। छटपटी भइरह्यो।
‘धत्। पैसाले त भतभती पोल्दोरहेछ। यो जम्मा गरेर राख्ने कुरा होइन रहेछ।’ उसले पुजारीसँग भन्यो।
‘आमाको नामको सबै सम्पत्ति कान्छो भाइले लिएमा मेरो मञ्जुरी छ भनेर बनाएको कागज हो। तेरो ल्याप्चे चाहियो।’ ऊ उठ्यो। भित्तामा पिसाब फेर्यो। जीउ हल्का भयो। भाइनिर आएर कागजमा ल्याप्चे लगाइदियो।
कता लगानी गर्ने त त्यो पैसा ? पुजारीले भन्यो, ‘मन्दिरको देउताका लागि चाँदीको मुकुट बनाइदे।’
उसलाई मन लागेन, मुकुट बनाउन। ऊसँगै हरेक दिन भजन गाउन आउने एकजनाले सल्लाह दियो, ‘स्कुललाई चन्दा दे।’
‘कसैको कल्याण गर्ने ठेक्का लिएको छैन मैले। सरकारले गर्छ।’
उसले स्कुललाई पनि दिएन पैसा।
अर्को एकजनाले सल्लाह दियो, ‘अस्पतालले इमर्जेन्सी वार्ड बनाउँदैछ। नाम चलेको पण्डितबाट पुराण भन्न लगाएर ५० लाख संकलन भएको छ। तँ पनि यो पैसा त्यही अस्पताललाई दान दे।’
‘त्यो काम गर्न त ठूल्ठूला मान्छे छँदैछन् नि। म दिन्नँ।’
कसैबाट उचित सल्लाह पाएन। त्यसपछि उसले सल्लाह माग्न पनि छाडिदियो। अचानक उसको दिमागमा एउटा आइडिया फुर्यो। अर्को दिन बिहानै उसले रिक्सा र माइक भाडामा लियो। दिनभरि सहर घुमेर प्रचार गर्यो, ‘फ्रिमा रक्सी खान मन हुनेहरूले साँझ ६ बजे तारा मण्डपको पीपल चौतारोमा जम्मा हुनू।’
पाँचै बजेदेखि ग्यालेनका ग्यालेन तीनपाने लिएर बस्यो ऊ।
६ बजे को आएन त्यहाँ ? दिनभरि रिक्सा र ठेला चलाएर थाकेका गरिबहरू आए। दिनभरि ज्यालादारीमा काम गर्ने ज्यामीहरू आए। बोर्डरमा कहिले सुपारी र कहिले अदुवा तस्करी गरेर भारत पुर्याउने पटके भरियाहरू आए। क्यु सकिएपछि थोत्रा माइक्रोहरू थन्काएर ड्राइभर र खलासीहरू आए। निःशुल्क पञ्चामृत खान पाउने लोभमा पुराण सुन्न गएका केही भक्तजनहरू आए। अदालत परिसरमा बसेर झगडियाहरूका मुद्दामामिलाका कागजातहरू लेखिदिने लेखनदासहरू पनि आए। अरू त अरू मन्दिरको पुजारी पनि मुख छोपेर आयो।
एकैछिनमा दर्जनौं भेला भए त्यहाँ। उसले ग्यालेनबाट प्लास्टिकको ग्लासमा खन्याउँदै सबैलाई तीनपाने बाँड्यो। तीनपाने चढ्दै गएपछि सबैले मन खोलेर नाचगान गरे। मनमा लागेको कुरा बोले। नेताहरूलाई तथानाम गाली गरे। गरिबहरूलाई हेप्ने धनीहरूको नाम लिई लिई सत्तोसराप गरे। यसरी सबैले मनको भडास पोखे। सबै लर्खराउँदै हिँड्न लागे। चुनावका बेला बाटा छेउका पर्खाल र रूखमा विभिन्न राजनीतिक दलहरूले गरिबी उन्मूलनका अनेक वाचाबन्धन गरेर टाँसेका पोस्टरहरूमुनि पिसाब फेरे।
५० हजार यसरी सिध्यायो उसले। आफूले पनि टन्नै रक्सी खायो। पैसाको पोलाई अनुभव गर्न नपरेपछि सडक छेउको फुटपाथमै ऊ मस्त निदायो। कसैले झक्झक्याएपछि ब्युँझियो ऊ। भाइ रहेछ। झिसमिसेमै पनि भाइको अनुहार चिन्यो उसले। आँखा मिच्दै सोध्यो, ‘कान्छा, तँ त दुब्लाएछस्।’
भाइले दुब्लाउनुको कारण बताएन। बस्, एउटा जानकारी दियो, ‘आमा बितेको ६ महिना भो।’
‘आमा गैछन् है ? वैकुण्ठ बास होस् आमाको।’
उसले यति भन्यो र फेरि निदाउने प्रयास गर्यो। तर, भाइले निदाउन दिएन। आफूसँग केही लेखिएको कागज र छापदानी ल्याएको रहेछ। अगाडि सार्दै भाइले भन्यो ,
‘आमाको नामको सबै सम्पत्ति कान्छो भाइले लिएमा मेरो मञ्जुरी छ भनेर बनाएको कागज हो। तेरो ल्याप्चे चाहियो।’
ऊ उठ्यो। भित्तामा पिसाब फेर्यो। जिऊ हल्का भयो। अनि फेरि भाइनिर आएर कागजमा ल्याप्चे लगाइदियो। भाइ गयो। ऊ बाँकी निद्रा पुर्याउन फेरि फुटपाथमै सुत्यो। सपनामा आमाको धोतीको फेर समातेर बजार घुम्न गयो ऊ। आमाको औंला समातेर मेला बजारमा बरफ खाँदै गरेको सपना देख्यो उसले।
सपना र निद्रा दुवैबाट एकसाथ ब्युँझियो ऊ। आँखा मिच्दै उठ्यो। एकछिन चुपचाप त्यही बस्यो तर किन किन त्यो दिन उसलाई घाटतिर जान मन लाग्यो। घाटमा पुग्यो। घाटे बाहुनहरूसित निकै सोधपुछ गरेपछि उसले आमा जलाएको ठाउँ भेट्यो। एकछिन त्यहीँनिर टोलाएर बस्यो।
ऊ त्यहाँ बस्दाबस्दै एउटा लास आयो। महिलाको लास थियो त्यो। लाससँगै आफन्तहरू पनि आए। महिलालाई राख्ने चिता तयार भयो। उसले यसो महिलाको अनुहार हेर्ने प्रयास गर्यो। त्यो अनुहार चिनिहाल्यो उसले। जीवनमा कुनै दुःख र कुनै व्यथाले नआत्तिने ऊ त्यो महिलाको अनुहार देखेर आत्तियो। ती मृत महिलाको श्रीमान्लाई घेरेर नजिकै उसका साथीहरू बसेका थिए। मृत महिलाको श्रीमान् भन्दै थियो, ‘राति नै व्यथाले च्याप्यो उनलाई। तुरुन्तै अस्पताल लगेँ। छोरी जन्मिई। रगत थामिँदै थामिएन। डाक्टरहरूले प्रयास गर्दागर्दै अचेत भइन्। त्यसपछि त होसै फिरेन यिनको। कति देवीदेउता भाकेपछि अनि धेरै पूजा पाठ लगाएपछि जन्मेकी छोरी। तर, उनले आफ्नी छोरीको अनुहार देख्नै पाइनन्।’
मृत महिलाको श्रीमान्को फुर्सद थिएन। महिलाको किरिया बस्ने कोही भइदिएन। भाडामा मान्छे बसाउने कुरा भो। कति खोज्दा पनि पाइएनन्। उसलाई किन किन ती महिलाको किरिया बस्न मन लाग्यो। अन्त्यमा ऊ आफैं मृत महिलाको श्रीमान्नेर गयो र भन्यो, ‘म बस्छु किरिया।’
तेह्र दिन किरिया बसिदियो। दिनको एक हजारको दरले अन्तिम दिन उसको हातमा तेह्र हजार पारिश्रमिक राखिदिए।
उसले फेरि माइकिंग गरेर सहरभरिका जँड्याहाहरूलाई तारा मण्डपको पीपल चौतारोमा बोलायो। साँझ ६ बजे। निःशुल्क रक्सी खान।