अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन : सम्पूर्ण तयारी पूरा
काठमाडौं : पाँचौं संस्करणको अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। साउन ७ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडीको सहभागिता रहने अन्नपूर्ण मिडिया नेटवर्कका मानव संसाधन तथा प्रशासन विभाग प्रमुख सुदामकुमार सिजापतिले जानकारी दिए। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्कोे कभर्डहलमा हुने प्रतियोगितामा विदेशी र देशभरबाट छनोट भएका चार सय २२ खेलाडीको सहभागिता रहने छ।
यस प्रतियोगिताले नेपालको ब्याडमिन्टन खेललाई माथि उठाउन मद्दत पुर्याउने विश्वास पनि सिजापतिले व्यक्त गरे। ‘विभिन्न देशका खेलाडी नेपालमा आएर खेल्दा ब्याडमिन्टन खेलको विकासका साथै खेल पर्यटनमा पनि टेवा पुग्नेछ। साथै नेपालका विभिन्न क्षेत्रबाट छनोट भएका खेलाडीले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता खेल्न पाउनु आफैंमा महत्वपूर्ण उपलब्धि हुनेछ’, उनले भने।
काठमाडौंमा बृहत् प्रतियोगिता हुनुअघि जेठ १३ गतेबाट ६ वटा प्रदेश स्तरीय छनोट खेल सञ्चालन गरिएको थियो। प्रदेश १ को छनोट जेठ १३ देखि १५ गतेसम्म धरानमा, प्रदेश २ को छनोट खेल जेठ १८ देखि २० गतेसम्म वीरगन्जमा, प्रदेश ४ को छनोट खल जेठ २३ देखि २५ गतेसम्म पोखरामा, प्रदेश ५ को छनोट खेल जेठ २८ देखि ३० गतेसम्म भैरहवामा, प्रदेश नम्बर ६ को छनोट खेल असार ३ देखि ५ गतेसम्म सुर्खेतमा र प्रदेश ७ को छनोट खेल असार ८ देखि १० गतेसम्म धनगढीमा सम्पन्न भएको थियो।
छनोट खेलमा सहभागी खेलाडीले पुरुष सिंगल, पुरुष डबल, महिला सिंगल, मिक्स डबल, १९ वर्षमुनिको जुनियर पुरुष सिंगल र जुनियर महिला सिंगलमा प्रतिस्पर्धा गरेका थिए। प्रदेशस्तरमा सञ्चालित छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने खेलाडीले सोमबारदेखि काठमाडौंमा हुने अन्तिम चरणको प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा पुरुष सिंगल, महिला सिंगल, पुरुष डबल्स, महिला डबल्स, १९ वर्षमुनिको जुनियर पुरुष सिंगल र जुनियर महिला सिंगल, पुरुष एक्जुकेटिभ एकल र डबल्स तथा पुरुष कर्पोरेट सिंगल र डबल्स गरी १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सहभागी विदेशी खेलाडीलाई खानेबस्ने सुविधा र प्रदेशस्तरका खेलाडीलाई खाना र खाजाका साथै यातायात खर्च अन्नपूर्ण मिडिया नेटवर्कले उपलब्ध गराउने जानकारी पनि सिजापतिले दिए। प्रतियोगितामा पूर्वी टिमोरबाट नेपाली मूलमा खेलाडीको समेत सहभागिता रहनेछ।
कर्पोरेट डबल्सतर्फ विभिन्न कर्पोरेट हाउसका म्यानेजर तहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। एक्जुकेटिभ डबल्समा म्यानेजरभन्दा मुनिका खेलाडीको सहभागिता रहनेछ। प्रत्येक विधाका विजेतालाई दुई तोला, उपविजेतालाई एक तोला र तेस्रो हुने खेलाडीलाई आधा तोला सुनको पदक प्रदान गरिनेछ। यसैगरी जुनियरतर्फ महिला तथा पुरुष सिंगल्सका विजेताले एक तोला, दोस्रो हुनेले आधा तोला र तेस्रो स्थान हासिल गर्नेले चार आना सुनको पदक पाउनेछन्। पुरस्कार राशिमा मात्रै २० लाख रुपैयाँभन्दा बढी रकम खर्च हुने सिजापतिले बताए। कुल ३४ तोला सुन पुरस्कारमा लाग्ने उनले बताए। गत वर्ष पुरुष सिंगलमा नेपालका रत्नजित तामाङ र महिला सिंगलमा श्रीलंकाकी दिल्मी दियासले उपाधि जितेका थिए।