गण्डकीका खेलाडी उपाधि जित्न आतुर
पोखरा : गण्डकी प्रदेशको राजधानी पोखराका विशाल खड्का अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत एक्जुकेटिभ समूहमा पहिलो संस्करण देखिकै स्वर्ण विजेता खेलाडी हुन् । प्रतियोगिताको पाँचांै संस्करणमा पनि एकल र युगल दुवैमा स्वर्ण पदक जित्नका लागि तीव्र तयारी गरिरहेको ३२ वर्षीय खड्काले बताए ।
खड्का एक्जुकेटिभ युगलतर्फ दुई पटकका स्वर्ण विजेता पनि हुन् । तेस्रो र चौथो संस्करणका स्वर्ण विजेता खड्काले चौथो संस्करणमा भने रजत पदकमा चित्त बुझाएका थिए । यसपटक भने युगलतर्फ पनि प्रथम भएर स्वर्ण पदक नै जित्ने गरी विशाल खड्काका साथ तयारी गरिरहेको खड्काले बताए । पोखरा रंगशालाको ब्याडमिन्टन हलमा टे«निङ गरिरहेका खड्का ब्याडमिन्टन संघले गर्नुपर्ने काम अन्नपूर्ण पोस्ट्ले गरेर खेलाडीलाई ठूलै गुण लगाएको बताउँछन् । खड्का कामना सेवा विकास बैंकमा कार्यरत छन् ।
अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएका १५ वर्षीय विधान अधिकारी यू–१९ को उपाधि जित्ने तयारीका साथ शनिबार काठमाडौं प्रस्थान गरेका छन् । यू–१९ मा कास्की जिल्लाका स्वर्ण विजेता अधिकारी अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पहिलोपटक सहभागी हुन लागेकाले उपाधि जितेर अन्तर्राष्ट्रिय प्रतियोगितामा खाता खोल्ने तयारी गरेको सुनाए । उनी पुरुष युगलमा विशाल बस्नेतसँग जोडी बनाउँदै छन् । यो विधामा पनि जित निकाल्ने लक्ष्यसहित तयारी थालेको उनले बताए ।
महिला एकलमा कास्कीकी च्याम्पियन आकृति केसी पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागितामै स्वर्ण पदक जितेर इतिहास रच्ने तयारीमा छिन् । केसी विद्यालयस्तरीय तथा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताकी स्वर्ण विजेता हुन् । प्रतियोगिताको मिक्स डबल्समा कास्कीकी यमकुमारी गुरुङ र विशाल खड्काको जोडीले प्रतियोगितामा प्रथम हुने गरी तयारी गरिरहेको बतायो।
राष्ट्रिय र जिल्लास्तरीय प्रतियोगितामा विभिन्न उपाधि जितेर अनुभव सँगालेको र तयारी पनि राम्रो भएकाले मिक्स डबल्समा उपाधि जित्ने यमकुमारीले बताइन् । पुरुष युगलमा विधान अधिकारीको जोडी बनेर प्रतियोगितामा सहभागी हुन काठमाडौं जाने तयारी गरेका विशाल बस्नेतले पनि आफ्नो जोडी प्रथम हुने बताए । कास्कीका च्याम्पियन भूगोल गुरुङ र विशाल खड्कालाई पराजित गर्दै विधान अधिकारी र विशाल बस्नेत कास्कीका नयाँ च्याम्पियन बन्र्दै प्रतियोगितामा छनोट भएका थिए ।
प्रदेशस्तरीय प्रतियोगितामा प्रथम र दोस्रो हुने खेलाडीले काठमाडौंमा हुने अन्तिम चरणको प्रतियोगितामा निःशुल्क सहभागी हुन पाउनेछन् । प्रतियोगितामा गण्डकी प्रदेशका ६९ जना खेलाडीबाट छनोट भएर विभिन्न विधाका १२ खेलाडी अन्तिम चरणको प्रतियोगिता खेल्न शनिबार काठमाडौं प्रस्थान गरेका छन् ।