एकतिहाइ बजेट खर्च असारमै
धनगढी : कैलालीमा गत आर्थिक वर्षमा सञ्चालित विभिन्न विकासे आयोजनाको गत आर्थिक वर्षमा पुँजीगततर्फ कुल बजेट ५ अर्ब ९४ करोड ८३ लाख ९६ हजार (८८ दशमलव ५६ प्रतिशत) खर्च भएको छ । त्यसमध्ये असारमा मात्र ३७ प्रतिशत अर्थात् १ अर्ब ७० करोड खर्च भएको छ । मोहना अत्तरिया सडक, हुलाकी सडक, सिँचाइ, भू–संरक्षण कार्यालय, भूमिगत जलस्रोत र सहरी विकासलगायत कार्यालयको पुँजीगततर्फको ठूलो रकम असार र जेठमै खर्च भएको छ ।
जिल्लामा सबै गरी १२ प्रतिशत बढी विकास बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका कोषनियन्त्रक मदनराज पाण्डेयले जानकारी दिए । आर्थिक वर्ष ०७३/७४ भन्दा ०७४÷७५ मा बजेट खर्चको अवस्थामा सुधार आएको कार्यालयले जनाएको छ । ०७३/७४ मा ८२ प्रतिशत विकास बजेट खर्च भएकोमा ०७४/७५ मा ८८ प्रतिशत बढी विकास बजेट खर्च भएको हो । गत आर्थिक वर्षबाट कार्यान्वयनमा आएका स्थानीय तहले समानीकरण अनुदानमार्फत बजेट बाँडफाँट गरेकाले जिल्लामा बजेट खर्चको अवस्था तलमाथि पर्नसक्ने कोषनियन्त्रक पाण्डेयको भनाइ छ । उनका अनुसार बजेटको अख्तियारी, वैदेशिक स्रोतको रकमको फुकुवा ढिलो हुनु र निर्माण व्यवसायी तथा उपभोक्ता समितिमार्फत हुने काम पनि अन्तिम समयमै गर्ने प्रवृत्तिले बजेट फ्रिजसँगै असारमा बढी रकम भुक्तानी देखिने गरेको छ । स्थानीय तहलाई साउन १५ गतेभित्र खर्चको विवरण बुझाउन ताकेता गरिरहेको उनले बताए । विषयगत कार्यालयमा सबैभन्दा बढी १५ प्रतिशत अर्थात् झन्डै १ करोड विकास बजेट जिल्ला वन कार्यालयको फ्रिज भएको छ । जिल्लाका केही सरकारी कार्यालयले असारमै ९८ प्रतिशतसम्म पुँजीगत खर्च गर्न भ्याएका छन् ।
प्रदेश सरकारको बजेट ५४ प्रतिशत खर्च
जेठमा १ अर्ब २ करोडको अल्पकालीन बजेट ल्याएको प्रदेश सरकारले ६ करोडभन्दा बढी विकास बजेट खर्च गर्न सकेन । प्रदेश सरकारको कुल १ अर्ब २ करोड बजेटमध्ये चालु खर्च ५१ र पँुजीगतमा ५४ प्रतिशत मात्रै खर्च रहेको प्रदेश सरकारका तर्फबाट कोष तथा लेखा नियन्त्रणको जिम्मेवारी सम्हालेका कोषनियन्त्रक तीर्थराज ओझाले जानकारी दिए । प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालयले सबैभन्दा कम २० प्रतिशत मात्रै रकम खर्च गरेको छ । मुख्य न्यायाधिवक्ताको कार्यालयको ६६ प्रतिशत रकम खर्च हुन सकेन । अल्पकालीन बजेटबाट प्रदेश लेखानियन्त्रण कार्यालयले ९६ प्रतिशत रकम खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि ७४ प्रतिशत बजेट खर्च गरेको छ ।