त्रिविका सहृदयी परोपकारी सम्मानित
काठमाडौं : झापाको कन्काई नगरपालिकाका देवीप्रसाद उप्रेती बाल्यकालदेखि नै धार्मिक र परोपकारी स्वभावका थिए । समाजसेवी भावनाकै कारण उनले इलाम, झापा र तेह्रथुममा दर्जनौं मठ मन्दिर निर्माण गर्नुका साथै २९ वटा स्कुल स्थापनामा भूमिदान र आर्थिक सहायता गरे ।
उप्रेतीको समाजसेवा यतिमा मात्र सीमित रहेन । देशकै सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयलाई झापामा आंगिक क्याम्पस स्थापना गर्न उनले एक सय २० बिघा ३ कट्ठा ९१ हजार ५ सय ६० रोपनी० जग्गासमेत दान दिए । अहिले यो गुणस्तरीय शिक्षाका दृष्टिकोणले पूर्वाञ्चलमा त्रिविको स्तरीय क्याम्पसमा परिचित छ ।
देशको उच्च शिक्षामा महत्ववपूर्ण योगदान दिइरहेको विश्वविद्यालयलाई सबैभन्दा बढी जग्गादान गर्ने दाताका रूपमा शनिबार प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी ओलीले उप्रेतीको परिवारलाई सम्मान गरे । २०४९ सालमै उप्रेतीको निधन भइसकेकाले उनकी पत्नी नर्मदालाई शनिबार सम्मान प्रदान गरियो । २००७ सालको क्रान्तिपछि पूर्वाञ्चलमा गठित सामूहिक सरकारमा कानुनमन्त्री समेत बनेका उप्रेतीको भूमिका आफूले प्रत्यक्ष अवलोकन गरेको भन्दै प्रधानमन्त्री ओलीले प्रशंसा गरे । पत्नी नर्मदाले भनिन्, ‘उहाँको योगदानको कदर गरेकोमा औधी खुसी लागेको छ । सम्मानका लागि त्रिविलाई हार्दिक धन्यवाद ।’
राजविराज खड्कपुरका विन्देश्वरप्रसाद यादवले पनि त्रिविलाई ९८ बिघा १८ कट्ठा जग्गा दान दिए । उनले दिएको जग्गामा त्रिविले राजविराजमा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस सञ्चालन गरिरहेको छ । यस क्याम्पसबाट अहिलेसम्म हजारौं विद्यार्थीले उच्च शिक्षा अध्ययन गरिसकेका छन् । उनको पनि निधन भइसकेकाले उनकी नातिनी बुहारी पूर्वशिक्षामन्त्री तथा सांसद रेणु यादवलाई शनिबार सम्मान प्रदान गरियो ।
त्रिविलाई निःशुल्क जग्गादान गरेर अहिलेको अवस्थामा ल्याई पु¥याउन महत्ववपूर्ण भूमिका खेल्ने अर्का व्यक्ति हुन् पर्साका महावीर प्रसाद र रघुवीर राम । यी दाजुभाइले आफ्ना बुबाको स्मृतिमा २००९ सालमा १४ बिघा जग्गा दान गरेर वीरगन्जमा ठाकुरराम क्याम्पसको स्थापना गरेका थिए । यो क्याम्पस अहिले प्रदेश २ मा रहेका त्रिविका क्याम्पसमध्ये उत्कृष्ट क्याम्पसका रूपमा परिचित छ । स्वर्गीय महावीर प्रसादले १९९६ सालमै त्रिजुग हाई स्कुलसमेत स्थापना गरेका थिए । उनको योगदानको कदर गर्दै त्रिविले उनका छोरा गोपालजी प्रसादलाई सम्मान गरेको छ ।
५ बिघा १७ कट्ठा जग्गा र ३४ कोठे मुख्य शैक्षिक भवन र ३४ कोठे छात्रावास निर्माण गरेर सूर्यनारायण सत्यनारायण मरवैता यादव क्याम्पस स्थापना गरेका स्वर्गीय सूर्यनारायण र सत्यनारायण मरवैताको कदर गरियो । मरवैताद्वयको योगदानको कदर गर्दै उनका छोरा विश्वेश्वर मरवैतालाई सम्मानपत्र हस्तान्तरण गरिएको छ । धनुषाको रामस्वरूप सागर बहुमुखी क्याम्पस स्थापनाका लागि ५७ बिघा १४ कट्ठा जग्गादान गरेका स्वर्गीय रामस्वरूप साह र रामसागर साहको परिवारलाई पनि शनिबार सम्मान गरियो । सम्मानपत्र स्वर्गीय रामस्वरूपमा नाति इन्जिनियर सुभाषचन्द्र शाहलाई प्रदान गरियो ।
त्रिविको ५९ औं वार्षिक दिवसमा उनीहरूलाई सम्मान गर्दै विश्वविद्यालयका कुलपति प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको आधुनिक युगमा समेत शिक्षाको महत्व प्रचारप्रसार गर्न कठिन भइरहेको छ । त्रिवि स्थापनाका बेला आफूले शिक्षाको महत्व बुझेर अरूलाई शिक्षित बनाउने अभियान सफल पार्न करोडौं मूल्यका भूमिदान गर्नु अत्यन्त महत्ववपूर्ण कार्य हो ।’
देशको सबैभन्दा पुरानो विश्वविद्यालयत त्रिविको स्थापना २०१६ सालमा भएको थियो ।
७३ हजारको ग्रेसलिस्ट स्विकृत
त्रिविले विभिन्न संकायअन्तर्गत विभिन्न तहका परीक्षा उत्तीर्ण ७३ हजार ९ सय १ जना विद्यार्थीको ग्रेसलिस्ट ९२०७४ जेठ १८ देखि २०७५ जेठ ३१ गतेसम्म भएका परीक्षा उत्तीर्ण गरेका विद्यार्थीको० स्विकृत गरेको छ । कुलपति तथा प्रधानमन्त्री उपस्थित विश्वविद्यालय सभाको वार्षिक दिवसमा ग्रेसलिस्ट स्विकृत गरिएको हो ।
परीक्षा उत्तीर्ण विद्यार्थीमध्ये शिक्षा शास्त्र संकायका सबैभन्दा धेरै २४ हजार ७ सय ३ जना छन् । व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र र कानुन संकायका क्रमशः २२ हजार ६ सय ९ जना, १४ हजार २ सय १५ जना र १ हजार ३ सय ५० जना विद्यार्थी छन् ।
लिस्टमा विज्ञान तथा प्रविधि अध्ययन संस्थान, इन्जिनियरिङ र चिकित्शाशास्त्र अध्ययन संस्थानतर्फ क्रमशः ५ हजार ९ सय ५५ जना, २ हजार ७ सय १२ र १ हजार ८ सय २१ जना विद्यार्थी छन् । कृषि र पशुविज्ञान अध्ययन संस्थान तथा वन विज्ञान अध्ययन संस्थानअन्तर्गत ३ सय २६ र २ सय १० जना विद्यार्थीको लिस्ट स्विकृत भएको छ । सभालाई सम्बोधन गर्दै कुलपति ओलीले जनशक्ति धेरै चाहिने विषयमा विद्यार्थी थोरै हुनु र बजारमा पर्याप्त जनशक्ति भइसकेको विषयमा धेरै विद्यार्थी हुनु राम्रो नभएको बताए । ‘यसमा त्रिविले सच्याउनुपर्छ’, उनले भने, ‘दुई तिहाइ जनसंख्या कृषिमा आ िश्रत देशमा कृषि अध्ययन गरेका विद्यार्थीको संख्या अत्यन्त न्यून छ । यसबारे शिक्षा मन्त्रालय र त्रिविले समेत ध्यान दिनु पर्छ ।’
सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसको अनुगमन नहुनु, प्राविधिक धारका विद्यार्थी थोरै भर्ना हुनुलगायत समस्याले त्रिविको शैक्षिक स्तरमा सुधार हुन नसकेको बताए । उपकुलपति तीर्थराज खनियाले त्रिविलाई गुणात्मक शिक्षाको केन्द्र बनाउन अनेकौं प्रयास गरेको दाबी गरे ।