कठै मेरो देश !
गमलामा धान फलाएर,
बारीमा घाँस पलाएर,
खेतमा हलो लगाउन छोडेर,
अरबको खाडीमा मन जलाएर,
बजार डुल्दै हिड्ने भएछ ।
कठै मेरो देश,
अस्ती सम्म चौतारीको डिलमा बसेर,
साथीभाईको रमाईलोमा हराउने,
आफ्नोपनको मादल र खैजँडी,
सारंगी र रोइला,
देउडा र मारूरी,
सेलो र घाटु
सल्लेरी वनका भाका हुन्थे,
कानका मुन्द्रा,
काटेको पाइन्ट,
लामो कपालमा मेरा तन्नेरी ठाट्टिँदा,
धोती चोलो र चौबन्दी त,
मेरी चेलीको कानसम्म परेको छैन ।
कठै मेरो देश,
कोट पाइन्टमाथि टोपी,
साडी कुर्था माथी कोटले
सगरमाथा झैं अटल बन्ने,
वीरताको गाथालाई,
सम्बन्धको भाकालाई,
समृद्धिको सभ्यतालाई,
गिज्ज्याउदा पनि,
म आधुनिक बन्ने नाउमा,
'हाम्रो'को मलामी बनेको छु ।
कठै मेरो देश,
नगरेरै समृद्वि खोज्दै,
सुतेर अधिकार रोज्दै,
नारामा लोकतन्त्र त कति आयो आयो,
समानता र विकास त कति बढायो,
तै पनि मेरा समृद्धिका सपना,
'मुढा' झै निष्प्राण भए पनि,
मेरो युग पनि गल्ली र खाडीमा,
नामका पालिकामा बुढा बा छोडेर,
तिम्रो प्राणमा प्याला भर्दैछ ।
कठै मेरो देश,
तुइनको फेरोमा कर्णालीमाथि,
पहाडी भीरको चट्टानमा,
कोशी कर्नालीको बहावसँगै,
अडेको मेरो प्राण
कुन दिन हो पत्तो छैन,
बाकसमा प्रिय आउने,
तै पनि कठै मेरो देश,
रंगीन दुनियाको रंगेलीमा
म बग्दै गर्दा,
समृद्धिका पाना पल्टिँदै गर्दा,
'हाम्रो' भविष्य कता भन्दै,
सानो आश बोकेर,
अझै कान्ला चिर्ने मन छ,
नदी बगाउने हिम्मत छ ।
कठै मेरो देश,
आफ्नो हराएरको आधुनिकता,
मन विराएको आधुनिकता र,
तन डराएको आधुनिकतामा,
खोज्दै छु मेरो देश,
कठै मेरो देश ।
Twiter: @JayaAcharyajee
Facebook: Jaya Acharya/jaya.acharya.10