धर्मले भित्र्याएको आतंक
केही सातायता महिला विषयक घटनाले विश्वका छापाहरू भरिभराउ भएका छन्। हालै साउदीका महिलामाथिको सवारी चलाउने प्रतिबन्ध हटे पनि महिला अधिकारकर्मीहरू लुजेन अल हथलौल, अजिजा अल योसेफ र इमान अल नाफजनहरूलाई बिनाठोस कारण नै थुनामा छन्। त्यस्तै उन्नाईसबर्से इरानी किशोरी माडे होजाब्रीले इन्स्टाग्राममा आफ्ना केही भिडियो राखेकै निहुँमा उनी समातिइन्। उनलाई आपूmले गलत कार्य गरेको भनी स्विकार्न लगाइयो। यी दुवै घटना महिलामाथि घोर दमनका उदाहरण हुन्। नेपालको चर्चा गर्दा न सवारी चलाउन प्रतिबन्ध छ न त फेसबुक र इन्स्टाग्राम चलाउन नै। तर हाम्रा आफ्नै खाले दायराहरू छन् महिलाका लागि। समाजले धर्म र संस्कारका नाममा खिचिदिएका केही रेखाहरू छन्।
साँघुरो समाज
सधैं राक्ताम्मे पहिरन, टीका, पोते र रातै लिपिस्टकमा देखिने कार्यालय सहयोगी दिदीको एक्कासिको विल्कुलै फरक पहिरन र रूप देख्दा म खङरङैै भएँ। एकमहिने सेसन बे्रकपछि कलेज पुग्दा त उनी अर्कै भइसकिछन्। कपडाको रङ रातोबाट एकदमै घुर्मैलो र सादामा फेरिएको थियो भने सधैं टल्किने रातो टीका, कानका गहना मात्र नभई नाकको फुलीसम्म गायब थिए। उनका श्रीमान्को निधन भएछ। सँगसँगै लगिदिएछन् श्रीमतीको रूपरङ, शृंगार सबै–सबै। चित्त बुझ्दै नबुझेर प्वाक्कै मुख फोरे– दिदी किन यस्तो रूप बनाउनु भ’को ? लगाइरहेको चीज लगाउँदा हुन्न ?
निराश र मलिनो स्वारमा उनले भनिन्, ‘लगाउनै दिन्नन्। अनि के गर्नु ? ’
पहिलेजस्तै रातै भएर हिँड्ने उनको चाहनामा लगाम कसिदिएको छ समाजले। लोग्ने बिते पनि उसकै सतमा बस्दा स्वर्ग पुगिन्छ, धर्म लाग्छ भन्ने केही भ्रामक मान्यता रोपिदिएको छ धार्मिक मठाधीशहरूले महिलामा। त्यसैको निरन्तरता हो एकल महिलाको जीवनबाट उडेर जाने रंगीन रहरहरू र फिक्का सादा बिताउन बाध्य रंगहीन जीवन। विडम्बना परिवर्तनका कथाहरूले इतिहासका पाना भरिरहँदा पनि समाजमा विभेदकारी मान्यता उस्तै छ।
देउताकै नाममा सधैं बल्झिरहने एक अर्गानिक पीडा छ हाम्रो देशको छाउपडी प्रथा। केही समय अघिमात्र छाउगोठमा सर्पले टोकेर मृत्यु भएकी युवतीको खबर सेलाइनसक्दै फेरि छाउ बसेकी युवती बलात्कारको सिकार भएको अर्को घटना दर्ज हुन आइसकेको छ समाचारमा। छाउ नबारे देउता रिसाएर परिवारलाई खती हुन्छ भन्ने (अन्ध) विश्वासका कारण सुदूरपश्चिमका महिला यस्ता अनेकन घटनामा परिरहेका छन्।
पाप र धर्मकै नाममा छाउ बार्ने बाध्यता र लोग्ने बितेसँगै सादा जीवन स्विकार्नुपर्ने महिलाको नियति दुवै धर्मको आडमा भइरहेको महिलामाथिको ज्यादती हो।
धर्म आतंक
माथि उल्लिखित प्रसंगहरू धर्म र संस्कृतिका नाममा महिलामाथि लादिएका क्रूर नियमका उदाहरण हुन्। धर्मका नाममा महिलाको लाउने, खाने स्वतन्त्रतादेखि अकालै गोठमा मर्नुपर्ने या अनेकन ज्यादतीको सिकार हुनु परिरहेको छ। त्यसैले त धर्मबारे गोरख पाण्डेय भन्छन्, ‘धर्मले सामान्यतया इन्द्रियज्ञान, बुद्धि र तर्कको पद्धतिको निषेध गर्दछ। यो सन्देहको होइन, विश्वासको माग गर्दछ।’
पाण्डेयका भनाइ माथिका दुवै घटनामा लागू भएका छन्। धर्मका नाममा बोकिआएका अनेकन रुढि र अन्धविश्वास आजसम्म पनि उही रूपमा बोकिरहेको छ समाज। मासिक स्राव एक नियमित प्राकृतिक प्रक्रिया हो भनी जान्दाजान्दै पनि त्यसलाई सामान्यरूपमा स्विकारिँदैन। छुई नबार्दा देउता रिसाउँछन् भनी आफ्ना छोरी–बुहारीलाई गोठतिर खेदिबस्छ परिवार। यो धार्मिक अन्धतालाई लामो समयदेखि मानिआएको विश्वासले मलजल गरिरहेको छ, जसलाई जानीजानी पनि तर्क र बुद्धिले रोक्न छेक्न सकिरहेको छैन।
लोग्ने मरेपछि उसकै नाम जपी आफ्ना शृंगार सबै फालेर बस्नुपर्ने संस्कार हिन्दु धार्मिक कट्टरताको एक उदाहरण हो। यस कुरा जनजातिमा (हिन्दु धर्मको प्रभावमा नपरेकाहरूमा) लागू हुँदैन। तामाङ महिला लोग्ने मरेपछि पनि आफूले लगाई आएका सबै कुरा लगाउँछन्। हिन्दु धर्मभित्र महिलामाथिको शासन त्यस्ता अनेकन (कु) संस्कारबाट प्रस्टिन्छ। लोग्नेसँगै सती जानुपर्ने समयबारे मनन गर्दा त लाग्छ, नेपाली समाज निकै अघि बढिसकेको छ। तर फेरि पनि महिलाका हकमा धर्म संस्कारका नाममा अनेकन अंकुशहरू बाँकी नै छन्। स्वास्नी मरेको वर्ष दिन पनि कुर्नुनपर्ने पुरुषहरू यही समाजमा छाती तन्काएर बसिरहेका छन्। तर मरेको लोग्नेको नाम जपेर जीवनभर सादा जीवनमा पतिव्रता भई बस्नुलाई सबैभन्दा उत्तम ठान्छ हाम्रो संस्कार। स्वर्ग, नर्क, धर्म–अधर्मलगायतका अनेकन ती जडता लामो समयदेखि नै महिलाभित्र भरिदिएका छन् कि उनीहरू आफैं पनि त्यसबाट निस्कन सकिरहेका छैनन्।
परिवर्तन भएकै छैन भन्ने पक्कै होइन। हाम्रो पुस्तासम्म आइपुग्दा अब थोरबहुत रङसँग खेल्ने त भएकै छन् एकल महिला पनि। हजुरआमाहरूले बाँचुन्जेल लगाएको सेतो पहिरनमा केही बुट्टा कोरिसकेका छन् नातिनी पुस्ताले। उमेर भएका कति एकल महिलाले वैवाहिक जीवन पनि अगाडि बढाएका छन्। कतिपय जाति समुदायभित्र त लाउनु खानुलगायतका कुरामा केही फरक पर्दैन लोग्ने हुँदा या नहुँदामा। तर आम नेपाली महिलाका कुरा गर्दा उनीहरूभित्र रोपिएको पाप, धर्म, संस्कार, मान्यतालगायताका बारहरूले अझै पनि उनीहरूको स्वतन्त्रतालाई छेकिबस्छ। एकखाले धक, अप्ठ्यारा त छँदैछन्, साथै बारम्बार समाजको तिखो नजरले पनि उसलाई लखेटिरहन्छ। सायद त्यसैका उदाहरण हुन् खासै प्रभावकारी हुन नसकेको रातो पहिरन अभियान र बारम्बार ठडिरहने भत्काइएका छाउगोठहरू। यी सबै धर्म र संस्कारका नाममा महिलामाथिको शोषणकै एक रूप हो, यो धर्म आतंक हो।