अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन आजदेखि
काठमाडौं : अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा साउन १२ सम्म चल्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रतियोगिताको व्यवस्थापकीय तयारीसँगै प्राविधिक पक्षको तयारी पनि पूरा भएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए । ‘प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । टाइसिट प्रकाशित भइसकेको छ, रेफ्री र लाइन जज पनि तयारी अवस्थामा छन्’, अध्यक्ष श्रेष्ठले भने । उनले पछिल्लो समय अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन सबैको ‘ड्रिम टुर्नामेन्ट’ बनेको धारणा पनि व्यक्त गरे । अध्यक्ष श्रेष्ठले प्रतियोगिताको चौथो संस्करण अघिल्लो संस्करणभन्दा अझ बृहत् स्वरूपमा सञ्चालन हुने बताए ।
‘पहिलेभन्दा स्पर्धाहरू पनि बढेका छन् । खेलाडीको संख्या पनि बढोत्तरी भएको छ’, श्रेष्ठले भने । पहिलोपटक प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन हुँदा देशभरका खेलाडीमा उत्साह जगाएको पनि उनले बताए । ‘प्रदेशस्तरमा ब्याडमिन्टनको यो पहिलो प्रतियोगिता हो । यो प्रतियोगिताले देशभरका खेलाडीमा उत्साह जगाएको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘२ नम्बर प्रदेशमा लोप हुन लागेको ब्याडमिन्टनलाई जगाउने काम पनि यो प्रतियोगिताले गरेको छ ।’
प्रतियोगितामा कुल दुई सय ८५ खेल हुने जानकारी पनि श्रेष्ठले दिए । प्रतियोगितामा विदेशी र देशभरबाट छनोट भएका चार सय २२ जना खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुष सिंगल, महिला सिंगल, पुरुष डबल्स, महिला डबल्स, १९ वर्षमुनिको जुनियर पुरुष सिंगल र जुनियर महिला सिंगल, पुरुष एक्जुकेटिभ सिंगल र डबल्स तथा पुरुष कर्पोरेट सिंगल र डबल्स गरी १० स्पर्धामा प्रतिस्पर्धा समावेश गरिएको छ ।
प्रतियोगिताको कर्पोरेट डबल्सतर्फ विभिन्न कर्पोरेट हाउसका म्यानेजर तहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी एक्जुकेटिभ डबल्समा म्यानेजरभन्दा मुनिका खेलाडीको सहभागिता रहनेछ । चौथो संस्करणमा नेपालसहित विभिन्न देशका चर्चित खेलाडीको सहभागिता रहने अन्नपूर्ण मिडिया नेटवर्कका मानव संसाधन तथा प्रशासन विभाग प्रमुख सुदामकुमार सिजापतिले जानकारी दिए ।
सिजापतिले प्रतियोगिताले नेपालको ब्याडमिन्टन खेलको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे । ‘विभिन्न देशका खेलाडी नेपालमा आएर खेल्दा ब्याडमिन्टन खेलको विकासका साथै खेल पर्यटनमा पनि टेवा पुग्नेछ’, उनले भने, ‘विभिन्न प्रदेशबाट छनोट भएका खेलाडीले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न पाउनु आफैंमा महŒवपूर्ण उपलब्धि हो ।’
जुनियरतर्फ महिला र पुरुष एकलतर्फका विजेताबाहेक अन्य स्पर्धाका विजेतालाई दुई तोला, उपविजेतालाई एक तोला र तेस्रो हुने खेलाडीलाई आधा तोला सुन पुरस्कार प्रदान गरिने जानकारी सिजापतिले दिए । जुनियरतर्फ महिला तथा पुरुष सिंगल्सका विजेताले भने एक तोला, दोस्रो हुनेले आधा तोला र तेस्रो स्थान हासिल गर्नेले चार आना सुन पुरस्कार पाउनेछन् ।
पुरस्कार राशिमा मात्रै २० लाख रुपैयाँभन्दा बढी रकम खर्च हुने जानकारी पनि सिजापतिले दिए । पुरस्कारका हिसाबले यो प्रतियोगिता नेपालको ब्याडमिन्टन इतिहासकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता भएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगितामा सहभागी विदेशी खेलाडीलाई खानेबस्ने सुविधा र प्रदेशस्तरका खेलाडीलाई खाना र खाजाका साथै यातायात खर्च अन्नपूर्ण मिडिया नेटवर्कले उपलब्ध गराउनेछ । प्रतियोगितामा पूर्वी टिमोरबाट नेपाली मूलका खेलाडीको समेत सहभागिता रहनेछ । गत वर्ष पुरुष सिंगलमा नेपालका रत्नजित तामाङ र महिला सिंगलमा श्रीलंकाकी दिल्मी दियासले उपाधि जितेका थिए ।
प्रतियोगिताका लागि खेलाडी छनोट गर्न गत जेठ १३ देखि ६ प्रदेशमा छनोट खेल सञ्चालन गरिएको थियो । प्रदेश १ को छनोट जेठ १३ देखि १५ सम्म धरानमा, प्रदेश २ को छनोट खेल जेठ १८ देखि २० सम्म वीरगन्जमा, प्रदेश ४ को छनोट खल जेठ २३ देखि २५ सम्म पोखरामा, प्रदेश ५ को छनोट खेल जेठ २८ देखि ३० सम्म भैरहवामा, प्रदेश नम्बर ६ को छनोट खेल असार ३ देखि ५ सम्म सुर्खेतमा र प्रदेश ७ को छनोट खेल असार ८ देखि १० सम्म धनगढीमा सम्पन्न भएको थियो ।
छनोट खेलमा सहभागी खेलाडीले पुरुष सिंगल, पुरुष डबल, महिला सिंगल, मिक्स डबल, १९ वर्षमुनिको जुनियर पुरुष सिंगल र जुनियर महिला सिंगलमा प्रतिस्पर्धा गरेका थिए । प्रदेशस्तरमा सञ्चालित छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने खेलाडीले पनि काठमाडौंमा हुने अन्तिम चरणको प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।