महिला लिग फुटबल आजदेखि
काठमाडौं : महिला राष्ट्रिय लिग फुटबल सोमबारदेखि काठमाडौंमा सञ्चालन हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला लिगलाई उपराष्ट्रपति कपको रूपमा सञ्चालन गर्न लागेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने लिगमा पाँच टोलीको सहभागिता रहनेछ ।
साउन १५ सम्म सञ्चालन हुने लिगमा विभागीय टोलीको त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, रौतहट र काठमाडौं जिल्लाबीच प्रतिस्पर्धा हुनेछ । लिगको उद्घाटन खेलमा पुलिस र आर्मीबीच प्रतिस्पर्धा गर्नेछन् । अर्को खेलमा रौतहट र काठमाडौं भिड्नेछन् ।
एन्फाले आगामी महिला साफ च्याम्पियनसिपको तयारी र खेलाडी छनोटका लागि लिग सञ्चालन गर्न लागेको हो । लिगको विजेता टोलीले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिने एन्फाले जनाएको छ ।
कुल ५० लाख रुपैयाँ लगानीमा सञ्चालन हुने लिगको सर्वोत्कृष्ट खेलाडीले २५ हजार तथा उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ । सहभागी टोलीको तयारीका लागि ५०÷५० हजार रुपैयाँ प्रदान गरिने पनि एन्फाले जनाएको छ ।