टोकियो ओलम्पिकको मस्कट सार्वजनिक
मस्को : सन् २०२० मा जापानमा आयोजना हुने गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको मस्कट आइतबार सार्वजनिक गरिएको छ । सोही अवसरमा आयोजना हुने पारा ओलम्पिकको मस्कट पनि एकैसाथ सार्वजनिक गरिएको छ । ३२औं ओलम्पिकको मस्कटको नाम ‘मिराइतोवा’ राखिएको छ । पारा ओलम्पिकको मस्कटको नाम भने ‘सोमेइती’ राखिएको छ ।
दुईवटा शब्दको संयुक्त रूप हो, ‘मिराइतोवा’ । जापानी भाषामा यसको अर्थ ‘भविष्य’ र ‘कहिल्यै अन्त्य नहुने’ भन्ने लाग्छ । यसैगरी ‘सोमेइती’ भने चेरी ब्लोसमको एक लोकप्रिय प्रकार ‘सोमेइयोसिनो’ हो । ओलम्पिकको मस्कटका लागि जापानले देशभरका स्कुले विद्यार्थीलाई सार्वजनिक आह्वान गरेको थियो । त्यसै मध्येबाट यी मस्कट चयन गरिएको बताइएको छ ।
‘यी दुवै मस्कट हाम्रो प्रिय साथी हुन्’, मस्कट सार्वजनिक गर्न आयोजित समारोहमा टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष योसिरो मोरीले भने, ‘यी मस्कटको चयन प्रक्रियामा जापानका ५० लाख बालबालिकाले सहयोग गरेका छन् ।’ आगामी ओलम्पिक सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म टोकियोमा आयोजना हुँदैछ ।
यस ओलम्पिकमा दुई सय ६ राष्ट्रका ११ हजारभन्दा बढी खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । ओलम्पिक सकिएलगत्तै अगस्त २५ देखि सेप्टेम्बर ६ सम्म टोकियोमै १६औं पारा ओलम्पिक आयोजना हुनेछ । यसअघिको ओलम्पिक र पारा ओलम्पिक खेलकुद भने सन् २०१६ मा दक्षिण अमेरिकी राष्ट्र ब्राजिलको रियो दी जेनेरियोमा आयोजना भएको थियो ।