अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टनको 'ग्रान्ड फाइनल'को उद्घाटन
काठमाडौं : अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण सुरू भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबार बिहान खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्यापटेन रामेश्वर थापाले खेलेर प्रतियोगिताको उदघाटन गरेका हुन्।
प्रतियोगितामा कुल दुई सय ८५ खेल हुने बताइएको छ। प्रतियोगितामा विदेशी र देशभरबाट छनोट भएका चार सय २२ जना खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा पुरुष सिंगल, महिला सिंगल, पुरुष डबल्स, महिला डबल्स, १९ वर्षमुनिको जुनियर पुरुष सिंगल र जुनियर महिला सिंगल, पुरुष एक्जुकेटिभ सिंगल र डबल्स तथा पुरुष कर्पोरेट सिंगल र डबल्स गरी १० स्पर्धामा प्रतिस्पर्धा समावेश गरिएको छ।
प्रतियोगिताका लागि खेलाडी छनोट गर्न गत जेठ १३ देखि ६ प्रदेशमा छनोट खेल सञ्चालन गरिएको थियो। प्रदेश १ को छनोट जेठ १३ देखि १५ सम्म धरानमा, प्रदेश २ को छनोट खेल जेठ १८ देखि २० सम्म वीरगन्जमा, प्रदेश ४ को छनोट खल जेठ २३ देखि २५ सम्म पोखरामा, प्रदेश ५ को छनोट खेल जेठ २८ देखि ३० सम्म भैरहवामा, प्रदेश नम्बर ६ को छनोट खेल असार ३ देखि ५ सम्म सुर्खेतमा र प्रदेश ७ को छनोट खेल असार ८ देखि १० सम्म धनगढीमा सम्पन्न भएको थियो।
छनोट खेलमा सहभागी खेलाडीले पुरुष सिंगल, पुरुष डबल, महिला सिंगल, मिक्स डबल, १९ वर्षमुनिको जुनियर पुरुष सिंगल र जुनियर महिला सिंगलमा प्रतिस्पर्धा गरेका थिए। प्रदेशस्तरमा सञ्चालित छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने खेलाडीले पनि काठमाडौंमा हुने अन्तिम चरणको प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगिता साउन १२ गते सम्म चल्नेछ।