‘जनतालाई ऋण नबोकाइ रेल र पानी जहाज चलाऊ’
गुलरियाः प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले जनताको थाप्लोमा ऋणको भारी नबोकाई रेल र पानी जहाज चलाउन सुझाव दिएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति बर्दियाले ३६ औं बीपी स्मृति दिवसको अवसरमा गरिएको बीपीको विचारसम्वन्धी गोष्ठीमा बोल्दै प्रमुख अतिथि कोइरालाले सरकारलाई त्यस्तो सुझाव दिएका हुन् ।
देउवा सरकारका निर्णयहरु खारेज गरी सत्तापक्षले अधिनायकवादी चरित्र प्रस्तुत गरेको उनको भनाइ थियो । सरकारका मन्त्रीहरुले दिएका छाडा अभिब्यक्तिहरु आपत्तिजनक रहेकाले सरकारको मानसिकता उजागर गरेको उनले बताए ।
संघीयता र संसदीय व्यवस्था भएको देशमा संघीय तथा प्रदेश सभाका सदस्यहरुसँग पार्टीको कार्यकर्ताको शैलीमा प्रधानमन्त्री प्रस्तुत हुन नसुहाउने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बहुमतको दम्भमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि सरकारले अंकुश लगाउन खोजेको बताउँदै अधिनायकवादी सत्ता कसैलाई सह्य नहुने बताए ।