चिनी आयात बन्द गर्न उद्योगीको माग

चिनी आयात बन्द गर्न उद्योगीको माग

काठमाडौं : चिनी उद्योगीले विदेशबाट चिनी आयात बन्द गर्न माग गरेका छन्। आयातित चिनीले स्वदेशी उद्योग धरासायी बन्ने भन्दै उद्योगीले चिनीको आयात नरोके उखु कृषक समस्यामा पर्ने चेतावनी दिएका छन्। खासगरी चिनी आयात हुँदा स्वदेशमा उत्पादन हुने चिनी नबिकेको भन्दै किसानलाई भुक्तानी दिन नसकिने उनीहरूको भनाइ छ। गत आर्थिक वर्षमा देशभर १३ वटा चिनी उद्योगबाट एक लाख ७८ हजार चिनी उत्पादन भएको संघले जानकारी दिएको छ।

सरकारले आयातित चिनीमा प्रतिबन्ध नलगाए त्यसको प्रतिकार स्वरुप देशमा द्वन्द्व निम्त्याउन सक्ने भन्दै उद्योगीले आक्रोश व्यक्त गरेका छन्। उत्पादनको ७० प्रतिशत चिनी नबिकेर कृषकलाई भुक्तानी दिन नसकेको भन्दै उद्योगीले चिनीको आयात रोक्न चेतावनी दिएका हुन्। नेपाल चिनी उद्योग संघका उपाध्यक्ष राजकुमार अग्रवालले भने, ‘अन्तर्राष्ट्रिय बजारमा चिनीको भाउ सस्तिँदा आयातित चिनीसँग स्वदेशी उद्योगले प्रतिश्पर्धा गर्न सकेको छैन। हाल एक लाख २४ हजार मेट्रिक टन चिनी बिक्री गर्न सकिएको छैन। सरकारले चिनीको आयात नरोके भविष्यमा द्वन्द्व निम्त्याउँछ।’

गत आर्थिक वर्ष चिनी उद्योगीले भन्सार बढाउन माग गरेपछि सरकारले चिनीको आयात शुल्क बढाएर ३० प्रतिशत पुर्‍याएको थियो। सिमावर्ती क्षेत्रबाट अनौपचारिक रूपमा चिनी आयात भएको बताइएपनि हालसम्म दुई लाख १० हजार मेट्रिक टन चिनी आयात भएको संघले जानकारी दिएको छ। कालोबजारीका कारण बजारमा चिनीको अभाव भएपछि सरकारले साल्ट ट्रेडिङलाई चिनी आयात गरेर सस्तोमा बेच्न अनुमति दिएको थियो। अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य पनि १८० अमेरिकी डलरले घटेको उद्योगीले जानकारी दिएका छन्।

चिनीको प्रमुख कच्चा पदार्थका रूपमा रहेको उखुको मूल्य बढी भएको भन्दै उद्योगीले सरकारको आलोचना गरेका छन्। उखुको भाउ बढ्नाले स्वदेशी उत्पादनको चिनीको भाउ महँगो भएको उनीहरूको दाबी छ। सरकारले प्रतिक्विन्टल ४ सय ४८ रुपैयाँ रहेको उखुको भाउ बढाएर ५ सय ३१ रुपैयाँ कायम गरेको थियो। विदेशबाट आयात गरिने चिनीको मूल्य सस्तो छ। यसमा भन्सार शुल्क बढाउँदा स्वाभाविक रूपमा चिनीको मूल्य बढ्न गई आयात प्रतिस्थापन हुनसक्ने उनीहरूको भनाइ छ।

माग पूरा नभएमा देशभरका उखु कृषकको भुक्तानी पनि समयमा तिर्न असमर्थ रहेको उद्योगीको निष्कर्ष छ। साथै बैंकको सावाँब्याज तिर्न पनि उद्योग असमर्थ हुने उनीहरूको भनाइ छ। चिनी उद्योग वर्षमा चार महिना (जाडोमा) मात्रै सञ्चालनमा आउँछ। 

‘खाद्यान्नबाट रक्सी उत्पादन बन्द गर्नुपर्छ’

उखुबाट उत्पादन हुने मोलासिसको बिक्री हुन नसकेको भन्दै उद्योगीले रक्सीमा खाद्यान्नको प्रयोग बन्द गर्नुपर्ने बताएका छन्। रक्सी बनाउँदा मोलासिसको साटो खाद्यान्नको प्रयोग बढेकाले मोलासिसको बिक्री हुन नसकेको संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए।

आन्तरिक राजस्व विभागको अनुमतिमा मात्रै कारोबार गर्न मिल्ने भएकाले मोलासिसको प्रयोग कम भएको उनले बताए। उनले भने, ‘रक्सी बनाउन खाद्यान्नलाई बिना रोकावट प्रयोग गर्न सकिन्छ। तर, मोलासिसको कारोबारका लागि सरकारसँग अनुमति लिनुपर्ने बाध्यता छ। त्यसैले रक्सीमा खाद्यान्नको प्रयोग निरुत्साहित गर्नसके मोलासिसको बिक्री प्रवद्र्धन बढ्थ्यो।’ विगतमा भारतमा मोलासिस निर्यात गर्दै आएका चिनी उद्योगीले अहिले मोलासिसको व्यवस्थापनामा चुनौती भोग्नुपरेको अग्रवालले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.